
पोहोर साल यतिखेर युरोपभर कोभिड महामारीको अत्यास थियो। विशेष गरी इटाली, स्पेन र आसपासमा रुवाबासी र त्राहिमाम अवस्था थियो। नेपाल सुरक्षित थियो र विदेशी पर्यटकहरु नेपाल छोडेर आफ्नोे देश फर्कनै चाहँदैनथे। नेपाल त्यति सुरक्षित भएकोमा हामी युरोपमा बस्ने नेपालीलाई युरोपेलीहरू सोध्थे- तिमिहरुको देशमा मानिसहरू के खाएर यस्तो रोग प्रतिरोधी हुन सकेका ?
हामी पनि के कम ! अदुवा, बेसार र गुर्जोको फुइँ लाउँथ्यौँ। अझ भएन, हाम्रो ‘नमस्कार’ बिधिलाई विश्वब्यापी बनाएका थियौं। एकअर्कालाई अँगालो नमार्ने र माया दर्शाउन हत्तपत्त गाला जोड्ने तथा ‘किस’ खान जाने प्रचलन नहुनु हाम्रो बलियो पक्ष हो भन्थ्यौँ। भन्थ्यौँ होइन, खासमा यी कोरोनाबाट सतर्क रहन अचुक बिधिहरु नै सावित भएका थिए। हामीलाई गमक्क पर्न यही काम लागेको थियो र यिनै बिधिहरु पश्चिमा सभ्यतामा पनि भित्रिएको देखेर हामी दङ्ग थियौँ।
यसपाली हाम्रो देशमा बढिरहेको महामारीको अवस्थाले अब हामीलाई गिज्याउन मात्र होइन, अत्याउन थालेको छ। हाम्रा बिधिमा कमजोरी भएका हुन् कि या सतर्कता नपुगेको हो भनेर सोच्नुपर्ने बनाएको छ। यतिखेर युरोप र पश्चिमा मुलुकहरु बिस्तारै तङ्ग्रिने दिशातर्फ छन्। अब भाइरसले हाम्रा चाहिँ टाउका रिङ्गाउन थालेको छ।
कोभिडको खोप युरोपमा भन्दा पहिला नेपालमा पुग्यो। युरोपका कतिपय देशमा प्रयोगमा ल्याइएका केही भ्याक्सिनले प्रयोगकर्तालाई खराब असर परेपछि खोप कार्यक्रम रद्द गरिए। पुन: सुरक्षित खोपको ग्यारेन्टी नभएसम्म खोप लगाउन शुरु नगर्ने गरी बन्द गरियो। तुलनात्मक रूपमा नेपालमा धेरैले खोप लगाइसकेकाले अब कोरोनाको त्रासबाट उम्किइयो भन्न थालिसकेका थियौँ। एकाएक बढेको संक्रमणको दरले अब समिक्षा गर्नुपर्ने भएको प्रष्टिएको छ।
विश्व सतर्कता अपनाइरहेको छ। नेपालमा सबैथोक सामान्य तरिकाले चलिरहेका छन्, तर कोरोनाको डर त्यतिसारो छैन भन्दै हाम्रो देश पुण्यभूमि नै रहेछ भन्ने ठान्न थालिसकेका हामी महामारीको भुमरीतिर कसरी होमियौँ होला, फर्केर हेर्ने बेला आएको छ।
कोभिड महामारी फैलन थाले यता विश्वभर मानव व्यवहारमा निकै ठूलो परिवर्तन आयो। युरोपमा पनि मानिस मानिसबीच अनावश्यक भेटघाटमा नियन्त्रण भयो। सार्वजनिक स्थल, सहर बजार, सार्वजनिक यातायात, किनमेल स्थल लगायत भिडभाड हुने ठाउँहरूमा दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र भिडभाड घटाउने नयाँ नियमहरू अनुशासित तरिकाले पालना गरिए, गराइए। सरकार र स्वास्थ्य निकायले तोकिदिएको मापदण्ड हत्तपत्त कसैले मिच्न खोजेनन्।
एकाध लकडाउनका विरोधीहरू केहीलाई सम्बन्धित निकायले ठाउँमा ल्याए, केही परिस्थिति बुझेर आफैँ निस्तेज भए। सुरक्षा र सतर्कताका नियम मिच्न खोज्नेहरु तोकिएको दण्ड सजायबाट कोही पनि उम्कन पाएनन्। प्रभावकारी नियम र अनुशासनको पूर्ण पालनाले नै महामारीबाट जोगिन ठूलो भूमिका खेल्यो। यो महामारीको औषधि कुनै रसायन होइन मानवीय व्यवहार नै हो भन्ने सन्देश प्रवाह भयो।
हाम्रो देशमा चाहिँ हामीले केही असावधानीका ढोकाहरू खुला राख्यौँ। छिमेकतिर महामारी नियन्त्रण नभइसक्दै हामीले आफूलाई छाडा गरायौँ। विश्वभर मानव मानव बिचको दुरी कायम भइरहेको बेला, बजारहरू नियमसंगत खुल्ने र बन्द गर्ने प्रक्रिया चलिरहेको बेला, खोपको प्रभावकारिता पुष्टि हुनै बाँकी रहेको बेला हामी अलि बढी नै बेपर्वाह भयौँ।
आकाशमा भाइरस घुमिरहेको बेला त्यसको मुनिपट्टी हामी भेला, उत्सवमा रमायौँ। नारा, जुलुसमा होमियौँ। निर्वाध घुमफिर गर्यौँ। छिमेकी मुलुकसँगको खुला सिमानाको वास्ता गरेनौँ। भित्रभित्रै फैलिन थालेको महामारी जब सतहमा देखिन थाल्यो अनि पो देखियो वास्तविक चित्र। अझै पनि सचेत नहुने हो र आफैँ स्वास्थ्य मापदण्ड भित्र नबाँधिने हो भने अवस्था अनुमान गरे भन्दा भयावह पनि हुन बेर लाग्दैन।
अघिल्लो एकडाउनकै बेला कोभिडको आक्रमणमा परेकाहरूको अनुभवले यो हेल्चेक्राइँ गर्ने विषय हुँदै होइन भनेर जनाइसकेका छन्। बरिष्ठ हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, क्याप्टेन विजय लामा लगायतका व्यक्तित्वहरुको कोभिड अनुभव सुन्नुभएको छैन भने युट्युवमा पाइन्छ, खोजेर सुन्नुहोस्, जसले तपाइँलाई कोरोना ख्यालख्यालको विषय होइन भन्ने महसुस गराउँछ। रोग प्रतिरोधमा उच्च मनोबल जति आवश्यक छ, त्यति नै विवेक पनि आवश्यक छ।
अहिले फैलिएको कोरोना भाइरस (कोभिड) को बारेमा स्वास्थ्य विशेषज्ञहरूको मनन गर्नै पर्ने कुरा के हो भने यसको औषधि पत्ता लागेकै छैन। त्यसैले अस्पताल पुगेर पनि कतिपयले रोगलाई जित्न पाएका छैनन्। अस्पतालले पनि संक्रामक रोगसँग लड्नसक्ने शारिरिक क्षमता बढाउने मात्र हो कोरोना मार्ने औषधि चलाउने होइन। तसर्थ अस्पताल गएर ज्यान बाँच्छ भन्ने समेत ग्यारेन्टी नभएको यस्तो कठोर जिवाणुको आक्रमण रोकथाममै ध्यान पुर्याउनु आवश्यक छ।
कसैले कोरोना ठिक पार्ने आयुर्वेदिक चुर्ण आइसकेको भनेर प्रचार गरिरहेका छन्। केही लुटेरा प्राइभेट स्वास्थ ब्यापारीहरुले दिनकै हजारौं रुपैयाँ असुलेर कोरोना निको हुने इन्जेक्सन लगाइदिने तथा नाकबाट पाइप लगाएर भयङ्कर प्रभावकारी उपचार गरेको भान पारी पारी मौकाको फाईदा उठाउदै रोगसँग संघर्षरत निहत्थाहरुलाई लुटिरहेका अनुभव भुक्तभोगीहरुले सुनाइरहेका छन्।
वास्तविक सेवाप्रदायक स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सेवा सबैका लागि उपलब्ध हुन सम्भव नै छैन। संक्रमित नागरिकको सेवामा समर्पित सच्चा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी आफैँ पनि संक्रमणको चपेटामा पर्ने क्रम बढ्दो छ। यसले आउँदा दिनहरु अझै काला हुन सक्छन् भन्ने त्रास मात्र बढाएको छैन, जीवनको पाइला पाइलामा खतराको घण्टी बजिरहेको छ।
कसैले तर्साइरहेको छ, स्वार्थ पूर्तिका लागि वा भ्याक्सिन उत्पादन गरी बेचेर धनी हुन सन्त्रास फैलाइरहेको छ भन्नेजस्ता कुराहरु पनि समाजमा एकाथरिले सुनाउँदैछन् र केहीले त्यो पत्याउँदै पनि होलान् ! तर आर्यघाटको क्षमताले हार मानिसकेको र बागमतीका किनारहरू चिताका धुवाँले पत्यौल भएका दृश्य झुठा पनि त होइनन्! त्यो त काठमाडौंको दृश्य भयो, देशभरका सबै अन्त्यष्टि स्थलहरू व्यापक ब्यस्त भइसकेका छन्। अस्पतालका मुर्दाघरहरू खचाखच हुन थालिसकेका छन्। नआत्तिनुस्, आत्मबल उच्च राख्नुस् त म पनि भन्छु, तर घटिसकेका घटना त सत्य हुन् नि !
नीति नियमलाई सोर्सफोर्स सँग साट्ने, घुर्की-धम्कीले जित्ने, शक्ति-सामर्थ्यको तुजुकले निमोठ्ने अटेरी ब्यहोराहरु महामारीको बेला काम लाग्दैन। कोरोना महामारीको रोकथामका लागि जारी निर्देशन र निर्देशिकाको निशर्त पालना नै बुद्धिमानी हुनेछ।
पहिलो प्राथमिकता आफ्नो ज्यानलाई दिनुहोस्, स्वास्थ्यलाई दिनुहोस्। ज्यान बँचे र स्वस्थ रहेमा अबरुद्ध कामहरु पछि गर्न पनि पाइन्छ। धन पछि कमाउन पनि सकिन्छ। ‘जिउ रहे त घिउ खालास्, जीउ नै नरहे के खालास् ?’ भन्थे नि बाउ बाजेले ! हो, यतिबेला जिउ रहने उपाय अपनाउनुहोस्।
टाउका माथि मृत्यु मडारिएका बेला कामको निहुँमा वा धन दौलत जोड्ने लोभमा अटेर गरी गरी बाहिरफेर लखर-लखर नहिड्नुहोस्। निस्कनै पर्ने बाध्यात्मक अवस्थामा पनि स्वास्थ्य मापदण्ड अपनाउन नभुल्नुहोस्। स्वास्थ्य विशेषज्ञहरूले, सरकारले, सुरक्षाकर्मीले हाम्रै स्वास्थ्य र जीउज्यानको रक्षाका लागि कडाइ गरेका हुन् भनेर बुझिदिनुहोस्।
विकशित देशहरुले पनि यिनै उपाय अपनाएर संकटको सामना गरेका हुन् भन्ने कुरा ख्याल राख्नुहोस्। भ्रममा होइन यथार्थमा चल्नुहोस्। आफ्नै वरिपरि समेत घुमिरहेको खतरालाई सामना गर्दै आफ्नो देशमा बढ्दै गरेको व्याधिको यो समयमा समस्त नेपालीहरुमा सु-स्वास्थ्यको लागि हामी जहाँ छौँ त्यहाँबाट प्रार्थना गरिरहेका छौँ, गरिरहने छौँ।








काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र…
पोखरा, ५ मंसिर । पोखरामा विद्यार्थी छात्र–छात्रा तथा खुला महिला–पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न… 




