अन्यत्र भेन्टिलेटर नहुँदा सङ्क्रमितकाे राेजाइ बिएण्डसी अस्पताल

- काठमाडौंका बिरामी पनि झापातिर

-



     सफल आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ वैशाख । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा शुक्रबार एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्‍याइएको छ ।

भेन्टिलेटर सहित आइसियूको चरम अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । काठमाडौँको एक नीजि अस्पतालमा उपचाररत सङ्क्रमितलाई पनि बिएण्डसी लैजाने तयारी भइरहेको बताइएको छ ।

उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तरराष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएकाले सो अस्पताल अब्बल दाबी गरिएको छ । अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटर सहित आइसियू शैया अलग्गै छन । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियू शैया रहेका छन । तीमध्ये २५ भेन्टिलेटर सहित आइसियू शैया कोभिडका बिरामीलाई छुट्याएको र बिरामीको आवश्यकता अनुसार थप गर्दै जाने बताइएको छ ।

बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियू शैया छन।

अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत ९ दिनदेखि उपचाररत् ४५ वर्षीय पेमा योगी र वीरगञ्जस्थित अली अस्पतालमा उपचाररत् २९ वर्षीय हरि पौड्यालाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । ती बिरामीका आफन्तले ती अस्पतालमा भेन्टिलेटरको अभाव भएपछि ‘हवाई बेड लिफ्ट’ गरेका बताइएको छ ।

सोही अस्पतालमा यही वैशाख १५ र २० गते काठमाडौँस्थित ह्याम्स र मनमोहन अस्पतालमा उपचारार्थ दुई सङ्क्रमितलाई थप उपचारार्थ ‘हवाई बेड सिफ्ट’ गरिएको थियो । ती बिरामीका आफन्तले भेन्टिलेटर सहितको आइसियू शैया नपाएपछि बिएण्डसी लगेका थिए । अहिले ती बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको चिकित्सकले जनाएका छन् ।

श्रोत र साधन राज्यलाई प्रदान गर्न तयार छु: कार्यकारी निर्देशक प्रसाइँ

प्रस्तावित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले कोरोना सङ्क्रमितकाे उपचारमा बिएण्डसी अस्पतालले उच्च प्राथमिताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिए। उनले राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई अस्पतालमा भएका सबै शैया र भेन्टिलेटर सहितका आइसियू शैया उपचार सेवामा लगाउन आफू तयार रहेको बताए। उनले भने ,“विपद्का समयमा राज्यले के दियो र के गर्यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ भन्ने मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका श्रोत र साधन प्रदान गर्न तयार छु ।”

पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा कूल ९ सय शैया छन । अस्पतालमा दैनिक १ हजार ३ सय भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०/७० सङ्ख्यामा सिटीस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्दछ ।