गण्डकीमा थप ४ संक्रमितको मृत्यु, होम आइसोलेसनमै गयो ज्यान

-



     सफल आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित



पोखरा, २४ वैशाख । गण्डकीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा होम आइसोलेसनमा बसेका समेत छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतको जलजला गाउँपालिका ३ का ६३ वर्षीय पुरुषको बिहीबार होम आइसोलेसनमा बसेकै अवस्थामा मृत्यु भएको हो ।

यस्तै पर्वतको कुष्मा नगरपालिका ९ का ५३ वर्षीय पुरुषको बिहीबार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको छ । उनलाई वैशाख १३ मा कोरोना पुष्टि भएपछि उपचारार्थ भर्ना गरिएको थियो ।

तनहुँको व्यास नगरपालिका १ की ६० वर्षीया महिलाको बिहीबार साँझ मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ । उनलाई सोही दिन कोरोना देखिएको जनाइएको छ ।

यस्तै पोखरा २५ का ६८ वर्षीय पुरुषको बिहीबार राति साढे १ बजे मणिपालमै मृत्यु भएको छ । उनलाई वैशाख २२ मा कोरोना पुष्टि भएको हो ।

योसहित गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ४५ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या २१ हजार ५ सय ९५ छ ।