गण्डकी प्रदेशमा थप १० संक्रमितको मृत्यु

-



     सफल आवाज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित



पोखरा, २७ वैशाख । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितमध्ये थप १० जनाको मृत्यु भएको छ । तीमध्ये कास्की, म्याग्दी, पर्वत, स्याङ्जा २/२ जना तथा रुपन्देही र तनहुँका १/१ जना छन् । ज्यान गुमाउनेमा पुरुष ९ र महिला १ जनामात्र हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा ७ का ६७ वर्षीय पुरुषको आइतबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो । उनलाई वैशाख २० मा कोरोना देखिएको थियो ।

पोखरा १३ का ८७ वर्षीय पुरुषको सोमबार बिहान होम आइसोलेसनमै ज्यान गएको छ । उनलाई वैशाख २४ मा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, स्याङ्जाको फेदीखोला ९ की ६२ वर्षीया महिलाको गएराति गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । उनलाई वैशाख २३ कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

स्याङ्जाकै गल्याङ ३ का ८४ वर्षीय पुरुषको गएराति चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनलाई वैशाख २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दीको धौलागिरी गाउँपालिका २ का ३७ वर्षीय पुरुषको सोमबार बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई वैशाख २३ मा कोरोना देखिएको थियो ।

रुपन्देही जिल्लाको बुटवल १ का ३४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान फिस्टेल अस्पताल पोखरामा मृत्यु भयो । उनलाई अघिल्लो दिनमात्र कोरोना पुष्टि भएको हो ।

पर्वतको कुष्मा नगरपालिका १ का ४७ वर्षीय पुरुषको आइतबार दिउँसो धौलागिरि अस्पतालमै उपचारक्रममा मृत्यु भयो । उनलाई वैशाख २१ मा कोरोना पुष्टि भएपछि उपचारार्थ भर्ना गरिएको हो।

तनहुँको भानु नगरपालिका १ का ६५ वर्षीय पुरुषको आइतबार दमौली अस्पतालमा मृत्यु भएको छ । उनलाई सोही दिन कोरोना भाइरस देखिएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुषको कोरोना पुष्टि भएकै दिन आइतबार दिउँसो बेनी अस्पतालमा मृत्यु भयो ।

पर्वतको कुष्मा ४ का ६७ वर्षीय पुरुषको सोमबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारक्रममा मृत्यु भयो । ५ दिनअघि कोभिड–१९ पुष्टि भएका उनलाई निमोनियासमेत थियो ।

यो सहित प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७३ पुगेको छ ।