निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माणकाे निरन्तरता

- स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाकाे दाबी

-



     सफल आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



काठमाडौं,३० वैशाख : निषेधाज्ञाका कारण देश नै प्राय: ठप्प भएकाे अवस्थामा पनि नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य भने नियमित भइरहेको छ । विश्वव्यापी महामारीको याे समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएकाले विगतकाे समयमा जस्तै अहिले पनि यहाँ ६५० भन्दा बढी कामदार कार्यरत रहेका छन् । अहिले निर्माणस्थलमा बाहिरबाट कोही पनि नआउने र आउनै पर्ने व्यक्ति पनि स्वास्थ्य जाँच गरेर मात्रै आउन दिइएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।

बाहिरबाट जानैपर्ने व्यक्तिलाई ज्वरो जाँच गरेर मात्रै छिर्न दिइने गरिएको छ । आयोजनामा सम्बन्धित व्यक्तिबाहेक बाहिरबाट आगन्तुक जान रोक लगाइएको छ । उनले भने, “अहिलेको अवस्थालाई विचार गरेर हामी पनि आवश्यक हुँदा मात्रै जाने गरेका छौँ ।” स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिएको र त्यति गर्दागर्दै कसैलाई सङ्क्रमण भएको शङ्का लागेमा छुट्टै बस्नका लागि व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ । निर्माणस्थलमा नै २५ जना क्षमताको १० कोठाको आइसोलेशन बनाइएको छ । तीन ठाउँमा २५-२५ जना बस्न सक्ने गरी छुट्टाछुट्टै क्याम्पको व्यवस्था मिलाइएको छ । कोही व्यक्ति सङ्क्रमित भइहालेमा उसलाई तत्काल छुट्याएर राखिने प्रमुख शाक्यले बताएकाे राससले लेखेकाे छ ।

निर्माणस्थलमा कार्यरत व्यक्तिलाई समस्या आउँदा तत्काल समाधान गर्न अक्सिजन सिलिण्डर र मेडिकल टोली पनि व्यवस्था गरिएको प्रमुख शाक्यले जानकारी दिए । मेडिकल टोलीमा अहिलेसम्म चिकित्सक नभएकाेमा त्यसको पनि आवश्यक रहेकाले ल्याउने योजना रहेको र आवश्यक पर्दा एम्बुलेन्स पनि तयारी रहेको बताइएको छ ।

निर्माणस्थलमा अहिलेसम्म जनशक्ति र निर्माण सामग्रीको अभाव छैन । निषेधाज्ञामा व्यवस्था गरिएअनुसार निर्माण सामग्री रातको समयमा ल्याउने गरिएको छ । निर्माण सामग्री उत्पादन गर्ने ठाउँमा कोभिडले अवरोध गरेर रोकिए पनि अहिलेसम्म निर्माणस्थलमा कुनै किसिमको अवरोध छैन । शाक्यले भने- “अहिले जोखिमलाई विचार गरेर साइटबाट अन्यत्र सङ्क्रमण नसरोस् भनेर ध्यान पु¥याइएको छ ।” गत महिनासम्म काम गरिरहेका कामदारमध्ये कोही पनि अहिलेसम्म निर्माणस्थल छाडेर गएका छैनन् । कामदार निर्माणस्थलभित्र नै क्याम्पमा बसेर काम गरिरहेकाे आयोजनाले जनाएको छ ।

बाहिरबाट आवतजावत कम गर्दा सङ्क्रमण फैलन सम्भावना कम हुने भएकाले सकेसम्म अरुलाई पनि भित्र बस्ने व्यवस्था मिलाइएको छ । प्रयोगशाला प्राविधिक (ल्याब टेक्निसियन) सामान्य अवस्थामा बाहिरबाट आउजाउ गरेकामा अहिले भित्र बस्न व्यवस्था मिलाइएको छ । नेपाली र जापानीलाई थोरै सङ्ख्यामा मात्रै पास दिने गरिएकाे छ । “पाँच गाडीलाई पास दिएर कम आवतजावत गरिएको छ ।” सुरुङ निर्माणको काम अहिलेसम्म तोकिएको तालिकाभन्दा एक महिना पछाडि मात्र रहेको छ । गत आवमा कोभिडका कारण लामो समयसम्म निर्माणमा अवरोध भए पनि तालिकाभन्दा कम मात्रै पछाडि रहेको जनाइएकाे छ । निर्माणस्थलमा काठमाडौँ र धादिङ गरी दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

धादिङतर्फ माटो फिलिङ गरेपछि दुवैतर्फबाट खन्ने योजना बनाइएको थियो । तर सुरुङभित्र माटो लैजान भित्र जाम हुने भएकाले अहिले कहिले काठमाडौँतर्फ त कहिले धादिङतर्फ खन्ने काम भइरहेको छ । सुरुङ खन्नका लागि पाँच थान उपकरण भए पनि तीन थान प्रयोग भइरहेका छन् । अहिले धादिङमा निर्माणाधीन ‘अण्डरपास’ सकिएपछि चार ठाउँबाट काम गर्न सकिने शाक्यले बताए । धादिङतर्फ ‘अण्डर पास’ बनिरहेकामा एक महिनामा सकाउने योजना रहेको छ । काठमाडौँमा सुरुङको मुखमा ‘ओभरपास’ निर्माणाधीन रहेकामा सकिने अवस्थामा पुगिसकेको छ । बलम्बुमा एउटा ‘फ्लाइओभर’ निर्माण गर्नुपर्नेछ । त्रिभुवन राजमार्गबाट मोडिएर सुरुङमार्ग जाने बाटोमा ‘फ्लाइओभर’को योजना रहेको छ ।

सो निर्माणका लागि जग्गाको मुआब्जाको काम सङ्क्रमण बढेकाले रोकिएको छ । “सङक्रमण बढेर निषेधाज्ञा हुँदा हामीले पनि जिल्ला प्रशासन कार्यालयलाई काम अघि बढाउनु भन्न सकेका छैनौं ।” निर्माणस्थलमा अहिलेसम्म निर्माण सामग्रीको समस्या छैन । जापानबाट आउनुपर्ने अधिकांश ठूला उपकरण आइसकेका छन् । अन्तिम काम (फिनिसिङ)को केही सामग्री मात्रै ल्याउन बाँकी रहेको आयोजनाले जनाएको छ । जापान सरकारको ‘सफ्ट लोन’मा ४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पाेरेशनबीच सम्झौता भएको थियो ।

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङ्गा र माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङकलन केन्द्रलगायतका स्टल हुने बताइएको छ ।