
प्रतिनिधि तस्बिर
काठमाडौं, ५ जेठ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९)को नयाँ प्रजाति (भेरियन्ट) पत्ता लागेको जानकारी दिएको छ। नयाँ प्रजाति पत्ता लागेको जानकारी दिएसँगै मन्त्रालयले मंगलबार स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न अपील गरेको छ।
स्वास्थ्य मन्त्रालयले यसअघिको भन्दा संक्रामक नयाँ प्रजाति पत्ता लागेको बताएपछि यसमा आम चासो बढेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अहिले भेटिएको नयाँ प्रजाति पहिलेका दुई वटा भन्दा संक्रामक र जोखमपूर्ण छ।
‘गत हप्ता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको समन्वयनमा परीक्षणको लागि भारत पठाइएका ३५ मध्ये ३४ नमुनामा नयाँ प्रजाति (नेपालमा अहिलेसम्म नदेखिएको नयाँ भाइरसको परिवर्तित रुप) पत्ता लागेको हो’, डा. अधिकारीले भने, ‘यो भाइरस जुनसुकै उमेर समूहमा पनि निकै छिटो सर्ने र लक्षण देखिने अनि जटिल अवस्थामा पुर्याउने देखिएको छ।’
यो प्रजाति सबै उमेर समूहमा तीव्र गतिमा फैलने विभिन्न अध्ययनले देखाएका छन्। मन्त्रालयका अनुसार नेपालमा मंगलबार पत्ता लागेको नयाँ प्रजातिलाई डब्लुएचओले २०२१ मे १० मै विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ अर्थात् ‘विश्वकै चासोको विषय’ भनेर घोषणा गरिसकेको छ।

डब्लुएचओले मे १० अर्थात् २०७८ वैशाख २७ मा नै विश्वव्यापी रुपमै चासोको विषय भएको र यो संवेदनशील भएको भन्दै एकदमै सजग हुनुपर्छ भनेको भाइरस नेपालमा पनि देखिएको हो।
‘एक ठाउँबाट मात्र नभई देशका विभिन्न ठाउँबाट ३५ वटा नमुना परीक्षणका लागि डब्लुएचओको समन्वयमा भारत पठाएका थियौं। जसमध्ये ३४ नमुनामा नयाँ प्रजाति भेटिएको छ’, डा. अधिकारीले भने, ‘यसले कुनै एक ठाउँमा मात्र नभइ नयाँ प्रजाति देशभर नै फैलिएको अनुमान गर्न सकिन्छ। त्यसैले यसबाट बच्न हामी अझ बढी सचेत हुनुपर्छ।’
भाइरसमा भिन्नता के छ त ?
पहिलो र दोस्रो प्रजातिका भाइरस भन्दा तेस्रो प्रजातिको भाइरस संक्रामक देखिएको छ। यो प्रजाति जुनसुकै उमेर समूहमा फैलिनसक्ने अनुसन्धानबाट खुलेको छ। ‘पहिले परिवारमा एक सदस्यमा संक्रमण हुँदा अरुलाई नसरेको पनि पाइएको थियो’, डा. पुन भन्छन्, ‘तर अहिले एक जनामा संक्रमण भए परिवारका सबै सदस्य संक्रमित भएका छन्।’
संक्रमित व्यक्तिले हिँडडुल गरेमा कति जनामा सर्छ भनेर अनुमान नै गर्न नसकिने भएकाले घरमै बस्न डाक्टरहरुले सुझाव दिएका छन्। ‘संक्रमण भएको व्यक्ति घुमिरहँदा उसले कति जनालाई सार्नसक्छ भन्ने कुरा हामी अनुमान पनि गर्न सक्दैनौं’, पुनले थपे, ‘त्यही भएर सचेत बनौं, घरभित्रै बसौं।’
आम मानिसलाई मास्क लगाउने, हात धुने, हातले अनुहार नछुने कुरा पढ्दा र सुन्दासुन्दै दिक्क लागेको देखिन्छ। तर, संक्रामक भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वभर अपनाइएका महत्वपूर्ण उपाय यिनै हुन्। हामी दैनिक बिहान उठेर जसरी बाथरुम जाने, हातमुख धुने र शौच गर्ने कुरालाई नित्यकर्म ठान्छौँ त्यसैगरी भाइरसबाट जोगिने यी सामान्य उपायलाई मूलमन्त्र मान्नुपर्ने देखिन्छ।
‘अनिवार्य मास्क लगाउने, भीडभाडमा नजाने, समूह बनाएर नबस्ने, भौतिक दूरी कायम राख्ने, साबुन–पानीले बारम्बार हात धोइरहने, हातले अनुहारमा बारम्बार छुने काम पूर्ण रुपमा बन्द गर्नुपर्छ’, स्वाथ्य मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारी फेरि भन्छन्, ‘यसो गर्न सके हामी सुरक्षित रहन सक्छौँ र अहिलेको परिवर्तित भाइरसको संक्रमण चक्र आफैं नियन्त्रण हुन्छ।’
बच्ने मन्त्र के हो ?
नेपालमा अहिलेसम्म देखिएका तीनै प्रजातिका कोरोना भाइरसको औषधि उपचार छैन। यसको पहिलो र अन्तिम उपचार नै रोकथाम हो। हुलमुलमा नजाने र मानिससँग भेटघाट नगरे मात्र भाइरसलाई पराजित गर्न सकिन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिले धेरै मानिसलाई संक्रमण भइसकेकाले संक्रमण नभएका व्यक्ति नै आइसोलशनमा बस्नुपर्नेमा जोड दिन्छन्। स्वयम् आइसोलेट हुनुलाई उनले भाइरस नियन्त्रणको मुख्य अस्त्र वा मन्त्र मानेका छन्। भाइरस जतिसुकै शक्तिशाली भए पनि हुलमुलमा जाँदै नगए त्यसले भेट्न नसक्ने उनको भनाइ छ। उनी संक्रमणको समयमा एक्लै बस्नु अनिवार्य र जरुरी रहेको बताउँछन्।

‘पहिला–पहिला हामी १० जना बस्दा दुई-तीन जनामा मात्र भाइरसको संक्रमण हुन्थ्यो, अरुमा सर्दैन थियो। तर, अहिलेको भाइरस १० जनामध्ये झण्डै ८/९ जनामै सर्छ। त्यसैले यो भाइरसको संक्रमणबाट जोगिन आफू स्वयम् ‘आइसोलेट’ हुनु नै मुख्य अस्त्र हो’, डा. पुन भन्छन्, ‘यदि हामी भेट नै भएनौं, हुलमुलमा गएनौं भने भाइरस जतिसुकै शक्तिशाली भए पनि हामीलाई भेट्न सक्दैन। एक्लै बस्नुलाई हामीले मन्त्र वा बुटीको रुपमा लिनुपर्छ। त्यसले यतिबेला एक्लै बस्नु एकदमै जरुरी छ।’
कोरोना के हो र ? मैले त भ्याक्सिन लगाएकै छु नि ! मेरो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर समूहमा बस्न र गफ गर्न थाल्यौं भने छिटो फैलिने चेतावनी डा. पुनले दिएका छन्। नेपालमा नयाँ भाइरस घुमिरहेकाले संक्रमण तीव्र रुपमा फैलिएको आफूले बल्ल थाहा पाएको भन्दै उनले सबैलाई सचेत हुन अनुरोध गरेका हुन्।
‘भाइरसलाई सामान्य ठानेर समूहमा बस्ने र गफ गर्ने गर्न थाल्यौं भने यो निक्कै छिटो फैलिन्छ’, पुनले थपे, ‘पछिल्लो समय नेपालमा संक्रमित बढ्नुको कारण हामी बल्ल थाहा पाउँदैछौँ। तीव्र गतिको संक्रामक भाइरस नेपालमा घुमिरहेको रहेछ। फेरि पनि भन्छु यसबाट जोगिने भनेको एक्लिनु नै हो। मैले अरुसँग भेटघाट गरिन, सँगै बसिन भने जोगिन्छु। तपाईं जोगिने सूत्र पनि यही हो।’
कसरी फैलियो कोरोना ?
सन् २०१९ को डिसेम्बरमा पहिलोपटक चीनमा देखिएको कोरोना भाइरस संक्रमण अहिलेसम्म विश्वभर १६ करोड ४८ लाखमा पुष्टि भएको छ। जसमध्ये १४ करोड ३८ लाख निको हुँदा ३४ लाख बढीको मृत्यु भएको छ। अझै पनि विश्वभर १ करोड ७६ लाख सक्रिय संक्रमित रहँदा १ करोड ७५ लाखको अवस्था सामान्य रहेको र एक लाखको अवस्था जटिल रहेको कोरोना भाइरसको तथ्यांक अपडेट गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ।
चीनमा पहिलोपटक पुष्टि भएको भाइरस नै नेपालमा भेटिएको थियो। यो भाइरसले वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बढी आक्रमण गरेको थियो।
त्यसपछि बेलायतमा पहिलोपटक भेटिएको प्रजातिको भाइरस नेपालमा पनि देखिएको थियो। यो प्रजाति पहिलोभन्दा तीव्र गतिमा फैलने बताइएको थियो। अहिले पत्ता लागेको नयाँ प्रजाति भने पहिलो र दोस्रो भन्दा पनि तीव्र गतिमा फैलिने संक्रामक भएको अनुसन्धानकर्ताले बताएका छन्।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




