कुरा “कोरोना” को

-


     सफल आवाज    
     जेठ ६ गते २०७८ मा प्रकाशित


अहिलेको सन्दर्भमा “कोरोना” तोतेबोली बोल्ने दाँत नै आइनसकेका बालकदेखि सबै दाँत झरिसकेका जेष्ठ नागरिकसम्मले पनि थाहा पाएको चर्चित शब्द भएको छ । २ बर्षअघिसम्म नामै नसुनेको यो बिनासकारी रोगबाट अहिले विश्वका लाखौं व्यक्तिले दुखद मृत्युबरण गरिसकेका छन । कत्तिले आफ्ना परिबार, साथीभाई गुमाए भने धैरै नागरिक यो रोगको शिकार भइरहेका छन्। कैयौं उपचारको क्रममा छन् । बाँकी जनता डराएर घरभित्र बस्न बाध्य छन् ।

कोरोनाले न धन हेर्छ, न उमेर । जात, लिङ्ग, देश, शक्ति,प्रतिष्ठा केही पनि हेर्दैन । जसले यसलाई सामान्य सोचेर लापरबाही गर्छ, त्यो व्यक्तिको शरीरमा यसले सजिलै प्रवेश गर्छ । अनि शुरु हुन्छ उसकाे अत्यन्त पिडादायी अवस्था ।

कुन्नि कताबाट हो मलाई पनि यो महामारीले मन परायो । मैले यसलाई घृणा गर्दागर्दै पनि यसले मलाई एकोहोरो प्रेम गरिरहेको रहेछ । अन्तत छोड्नै मानेन । मेरो शरिरमा यसको प्रबेश भएको मलाई पतै पाइँन । जब म कोरोनाको शिकार भए तब धेरै दिनसम्म उसको र मेरो निरन्तर युद्ध चलिरह्यो । त्यो युद्धमा घरी मैले जित्न खोज्थें, घरी उसले जित्न खोज्थ्यो । कोरोनाले मेरा कमजोर अंगहरू खोज्दै थियो । तर म भने आफ्ना अंगहरूलाई भरसक बलियो बनाउन खोज्दै थिएँ ।

मेरो आत्मबलका अगाडी उसले हार खाइरहेको थियो । घरी घाँटीमा, घरी फोक्सोमा, घरी छातीमा, घरी श्वासप्रश्वासमा उसले आफ्नो वासस्थान बनाउने असफल प्रयास गरिरहयो । मैंले प्रतिबाद गरिरहें । मुख्य कुरा त उसले मेरो आत्मबल कमजोर बनाउन धेरैपटक असफल प्रयास गरिरह्यो । तर म पनि त्यति कमजोर कहाँ थिएँ र ? त्यति सजिलै उसलाई मेरो शरीरमा डेरा जमाउन कहाँ दिन्थें र ?

बेसार, अदुवा, लिचीको पात, अम्बाको पात, आँपको पात, ज्वानु, मेथी, मरिच, टिमुर अनेक जडीबुटी घोलिएको पानी, फलफुल खाएर, दिनको ३ पटक श्वासप्रश्वास सम्बन्धी योगा गरेर कोरोनासंगको लडाई लडिरहें । होम आइसोलेसनमा बसेर मनलाई दरो बनाउदै, बेला-बेला अक्सिजन लिदैं चिकित्सकले स्वीकृती दिएको जिंक चक्की,–भिटामिनहरु खाएर बसें । घरीघरी घोप्टो परेर सुत्ने र आराम गरेर बसें । पोषिलो खानेकुरा खाएर होस् , या आत्मबल दरिलो बनाएर होस्, कसरी हुन्छ त्यो पापी कोरोनालाई डेरा जमाउन दिदैं दिइनँ ।

अन्तत: निरन्तर १० दिनसम्मको कोरोना र मेरो बिचको युद्धले पूर्णविराम पायो । उसले आफ्नो हार स्वीकार गर्याे । मसंग आत्मसमर्पण गर्याे। मैले जितेको महसुस मात्र गरिन मानौं मैले ठूलै युद्ध जितेंको जस्तो अनुभुति भयो । कोरोनालाई त मैले जितें तर यसले म र मेरो शरीरलाई पुर्याएको असर लामै समयसम्म रहने पक्का छ । म अहिलेपनि उतिकै सजग भएर बसेको छु । कोरोनाबाट मैले धेरै कुरा सिक्ने मौका पनि पाएँ ।

घरमै बसेर सुरक्षित रहने पक्का हो । तर त्यो कुरा मसँग मेल खाएन । हामीले जान्नैपर्ने कुरा भनेको स–साना कुरालाई पनि राम्रो व्यवस्थापन गर्न सकियो भने यसले हाम्रो शरीरमा प्रवेश गर्नै पाउदैन । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर आफूलाई परिवर्तन मात्र गर्न सकियो भने यसलाई हाम्रो शरीरमा प्रवेश गर्नबाट रोक्न सक्छौं । जे होस्, अहिले म कोरोनाबाट मुक्त भएको छु । रिर्पोट नेगेटिभ आएपछी त मन हलुका भएको छ ।

कोरोनाबाट बच्ने प्रमुख उपाए भनेकै सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई अनिबार्य लागु गर्ने हो । लागिहाले पनि आत्मबल बलियो पार्ने, सम्भब भएसम्म चिकित्सकको सम्पर्क वा निगरानीमा रहने, प्रशस्त मनतातो पानी र तरल पदार्थ सेबन गर्नुपर्छ ।

कोरोनासँग लडिरहदा मलाई साथीभाई र आफन्तहरूले धेरै नै सहयोग गर्नुभयो । सबै सहयोगी साथीभाई, छरछिमेकी, शुभचिन्तक, मेरो परिवारप्रति आभारी छु । वास्तवमा यो समयमा साथीहरूले गर्नुभएको सहयोग, शुभेक्षा र हौसलाले पनि ठूलो काम गर्दोरहेछ । कोरोनासँग लडिरहनु भएका सम्पुर्ण जनहरुको स्वास्थ्यलाभको कामना गर्दछु । सबै सचेत बनौं, आत्मबल बलियो बनाउँ ।

( लेखक, मगन अफसेट प्रेसका संचालक र लायन्स क्लब अफ पाेखरा पिस चाैतारीका पुर्व अध्यक्ष हुन। )