राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध

-



     सफल आवाज    
     जेठ ६ गते २०७८ मा प्रकाशित



गाजा सिटी, ६ जेठ । इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला शुरु गरेको छ । आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन् ।

गाजाका विद्रोही हमास समूह विरुद्धको प्रत्याक्रमण रोक्न अमेरिकी दबाबलाई बेवास्ता गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सैनिक कारबाहीलाई निरन्तरता दिएका छन् । पछिल्लो युद्ध शुरु भएयता गाजामा सरकार चलाइरहेको हमासका लडाकूले इजरायलमाथि हजारौं क्षेप्यास्त्र प्रहार गरिसकेको छ । बिहीबार सबेरै गाजा शहरलाई बिस्फोटनका आवाजले हल्लाइदिएको थियो भने आकाशमा आगोका लप्का माथिसम्म देखिएका थिए ।

इजरायली आक्रमणहरु मध्य शहर डायर अल–बलाह र दक्षिणतर्फको खान युनिस शहरमा पनि भएका थिए । बिहान हेर्दा खान युनिस शहरका पाँच स्थानीयवासीका घर बम आक्रमणबाट ध्वस्त भएका पाइएका थिए । गाजा शहरको व्यापारिक केन्द्रका रुपमा रहेको अल–सफ्तावी स्ट्रिटमा पनि भिषण आक्रमण भएको थियो ।

इजरायली सेनाले हमासका कमान्डरका कम्तीमा चार वटा घर ध्वस्त पारिएको जनाएको छ । खान युनिसमा खवाल्डी परिवारको दुई तले भवन क्षतिग्रस्त भएको छ । डरका कारण आफ्नो घर छाडेर ११ सदस्यीय खवाल्डी परिवार नजिकैको अर्को घरमा बस्न थालेको थियो । तर आक्रमणबाट उनीहरु पनि घाइते भएका र अस्पताल भर्ना गरिएको छिमेकी शाकेर अल–खोजोनदारले बताए ।

हालको सैनिक कारबाहीबाट सयौं व्यक्तिको ज्यान गइसकेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कारबाही रोक्न इजरायली प्रधानमन्त्री नेतन्याहूलाई दुई पटक आग्रह गरेपनि त्यसलाई बेवास्ता गर्नु भएको छ । गत साता लडाईं शुरु भएयता दुई मुलुकबीचको तिक्तता पहिलोपटक सतहमा देखा परेको छ । सैनिक मुख्यालयको भ्रमणपछि प्रधानमन्त्री नेतन्याहूले बुधबार अमेरिकी राष्ट्रपतिको समर्थनको प्रशंसा गरेका थिए । नेतन्याहूले आफ्ना नागरिकको सुरक्षाको प्रत्याभूति हुने अवस्था सिर्जना नहुँदासम्म सैनिक कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

अमेरिकी राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नेतन्याहूलाई फोन गरी युद्धबिराम गर्ने गरी आफ्ना आक्रामक कारबाही स्थगन गर्न आग्रह गरेका थिए । तर पहिलो पटक फोन गर्दा बाइडेनले इजरायलमाथि दबाब दिएनन्नुर । तर मानवीय र भौतिक क्षति बढ्दै गएपछि बाइडेन प्रशासनमाथि दबाब बढ्न थालेको छ । इजिप्टका मध्यस्थकर्ताले पनि युद्ध रोक्नेतर्फ कार्य गरिरहेका छन् । उनीहरुले इजरायलको जवाफको प्रतिक्षा गरिरहेको बताएका छन् ।