खोपका लागि अनुरोध गर्दै बाइडेनलाई राष्ट्रपति भण्डारीको पत्र

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित


राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पठाएको पत्र अमेरिकी स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई हस्तान्तरण गर्दै अमेरिका लागि नेपाली राजदूत युवराज खतिवडा ।


अमेरिका, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै पत्र पठाएकी छन्।

राष्ट्रपति भण्डारीको पत्र अमेरिका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई हस्तान्तरण गरेका छन्।

पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालमा कोरोना महामारीको वर्तमान अवस्थाबारे मासिंगालाई जानकारी गराए । उनले नेपालमा कोरोनाविरुद्धको खोप अभियानको योजनाबारे मासिंगालाई जानकारी पनि दिएका नेपाली दूतावासले बताएको छ।

मासिंगाले नेपालको वर्तमान अवस्थाप्रति दु ख व्यक्त गर्दै छिटो भन्दा छिटो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन पहल गर्ने बताएका दूतावासले जनाएको छ।

यस अघि राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएकी थिइन् भने चिनियाँ समकक्षी सी चिनफिङसँग लामो टेलिफोन वार्ता गरेकी थिइन्।
चिनियाँ राष्ट्रपतिले नेपाललाई १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका छन् ।