आगलागीबाट जलेकी लक्ष्मीकाे काठमाडाैंमा उपचार हुँदै

- घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

-



     सफल आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ जेठ । डाेटीमा आगलागीबाट जलेकी लक्ष्मीकाे काठमाडाैंमा उपचार भइरहेकाे छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगोलागीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको उपचारका लागि रु २५ हजार सहयोग प्रदान गरेका थिए ।

डोटीबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी भाटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुग्नु भइ मन्त्री आलेले उपचारका लागि रकम प्रादन गरेकाे उनका प्रशासन सहायक भक्त आलेले जानकारी दिए ।

अज्ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउदा उनी जलेर गम्भीर घाइते भएकी थिइन । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि लक्ष्मीलाई मन्त्री आलेको पहलमा नेपाली सेनाकाे हेलिकप्टर मार्फत काठमाडौं ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार भइरहेकाे छ ।

मन्त्री आलेकाे पहल तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा घाइते भाटको थप उपचारका लागि काठमाडौ ल्याइएको हो । अहिले लक्ष्मी खतरामुक्त भएको उपचारमा संलग्न वर्न अस्पतलाका चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिइन ।ङटनालगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट फरार रहेकाले श्रीमानले नै घटना गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने जनाएको हो ।

डोटी जिल्ला आदर्श गाउँपालिका ४ रोडी बस्ने सन्तोष भाटले श्रीमती लक्ष्मी र छोरी अञ्जुलाई सुतिरहेको अबस्थामा ज्यान मार्ने मनसायले आगो लगाएका थिए । उक्त घटनामा आमा–छोरी नै घाइते भएका छन् । सन्तोषले सुतेको कोठा बाहिरबाट प्रज्वलनशिल तरलपदार्थ कोठाभित्र खन्याई आगो लगाएका मन्त्रालयले जनाएको छ । सो घटना यही जेठ १२ गते भएको जनाइएको छ । घाइते दुबैलाई तत्काल जिल्लास्थित सुजङ अस्पताल पुर्याई उपचार गरिएकोमा उनीहरुलाई थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँस्थित कीर्तिपुरस्थित अस्पतालमा ल्याइएको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्धारा जारी विज्ञप्तिमा यस्ता घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कडा कारवाही हुने जनाइएको छ । मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यस्ता घटना दोहोरिन नदिन मन्त्रालय कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।