चिनियाँ राष्ट्रपतिले गरे सन्तान नीति परिवर्तन : दम्पत्तीले तीन बच्चा जन्माउन पाउने

-



     सफल आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित



चीनले सन्तान नीति परिवर्तन गरेको छ। दुई सन्तान मात्र जन्माउन पाउने कठोर नीतिलाई त्यहाँका राष्ट्रपति सी जिनफिङले परिवर्तन गरेका हुन्।

जनसंख्या वृद्धिलाई रोक्न सुरुमा एक सन्तान, पछिल्लो केही वर्षदेखि दुई सन्तान नीति अपनाएको चीनले अहिले आएर तीन सन्तान जन्माउन पाउने नीति स्वीकृत गरेको हो।

सन् १९८० देखि सन् २०१५ सम्म चीनमा दम्पत्तिले एउटा मात्र सन्तान जन्माउन पाउने नीति थियो। सन् २०१६ को सुरुदेखि दुई बच्चासम्म जन्माउन पाउने नीति अबलम्बन गरेको थियो। सोमबार बसेको चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो बैठकमा राष्ट्रपति सीले उक्त नीतिलाई परिवर्तन गरेका हुन्।

राष्ट्रपति सीले दुई सन्तान मात्र जन्माउन पाउने कडा नीतिलाई खारेज गर्दै तीन सन्तान जन्माउन सक्ने नीति स्वीकृत गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

हालै भएको जनगणनामा चीनको जनसंख्या वृद्धिदर घटेको भन्दै यस्तो निर्णय भएको समाचारमा उल्लेख छ। जनसंख्य वृद्धिदर घटेको भन्दै चिनियाँ सरकारले तीन सन्तान जन्माउन दम्पत्तिहरुलाई छुट दिएको हो। यसका लागि दम्पत्तिलाई प्रोत्साहनसमेत गर्ने निर्णय भएको छ।

पछिल्लो जनगणनामा सन् १९६० को दशकयताकै कम बच्चा जन्मिएको विवरण प्राप्त भएपछि चिनियाँ सरकारले सन्तान सम्बन्धी नीति नै परिवर्तनको निर्णय गरेको हो।

यो निर्णयसँगै परिवार नीतिमा कठोर देखिएको चीनले विस्तारै सन्तान सम्बन्धि अधिकार दम्पत्तिमाथि हस्तान्तरण गर्न थालेको देखिएको छ।

पछिल्लो समय सार्वजनिक गरिएको चीनको जनगणनामा एक वर्षमा एक करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो।