पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने

-



     सफल आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित



पोखरा, १८ जेठ । सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ।

जेठ २३ गतेदेखि लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने भएकाे हाे।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालको सेवा बन्द भएपछि न्यून आय भएका सेवाग्राही मर्र्कामा परेका थिए । यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन्।

अस्पतालका सूचना अधिकारी नारायणप्रसाद आचार्यले अस्पतालमा सञ्चालित बीमालगायतका सबै ओेपिडी सेवा पूर्ववत् अवस्थामा सञ्चालन गरिने जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले जेठ ११ गतेदेखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको थियो ।

अस्पतालमा वर्षमा तीन लाख तथा दैनिक एक हजार हाराहारीमा सेवाग्राहीले बहिरङ्ग सेवा लिने गरेको अस्पतालले जनाएको छ । यसैगरी दैनिक २ सय जनाले आकस्मिक स्वास्थ्य उपचार सेवा लिने गरेको बताइन्छ ।