वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने

-


     सफल आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित


काठमाडौं, २० जेठ । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने भएको छ।

बैंकले ६ वर्ष अवधिको वार्षिक साढे ८ प्रतिशत ब्याज रहने ऋणपत्र ल्याउन लागेको हो। २ अर्ब ५० करोड मूल्य बराबरको ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गर्नुपर्नेछ।

प्रतिकित्ता हजार रुपैयाँका दरले २५ लाख कित्ता बिक्री गरिने वाणिज्य बैंकले जनाएको छ।

बैंकका अनुसार ऋणपत्रको ६० प्रतिशत अर्थात १५ लाख कित्ताले हुन आउने १ अर्ब ५० करोड व्यक्तिगत गरिकाले र ४० प्रतिशत अर्थात १० लाख कित्ताले हुन आउने १ अर्ब सर्वसाधारण नेपालीकालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ।

आउँदो मंगलबार (जेठ २५) मा निष्काशन गर्ने ऋणपत्र छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने छ।

यो ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ।