जागिरेबाट उद्योगी बनेका उमेशलाल

-


     रेविका आचार्य    
     जेठ २३ गते २०७८ मा प्रकाशित


काठमाडौं । उमेशलाल श्रेष्ठ, निजी क्षेत्रको चर्चित नाम । उद्योग व्यवसायमा रमाइरहेका उनको पारिवारिक पृष्ठभूमी भने राजनीति हो । कम्युनिष्ट आन्दोलन भन्ने वित्तिकै पुष्पलाल र सहानाको नाम जोडिहाल्छ । हो, उनै पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा भने अहिले उद्योग व्यवसाय संचालनमा ब्यस्त छन् । नेपालका चर्चित उद्योगी, व्यवसायी मध्येका एक उमेशलाल अहिले क्वेष्ट फर्मास्युटकल्स नामक औषधी उत्पादन गर्ने उद्योग लगायतका व्यवसायहरू सञ्चालन गरिरहेका छन् ।

बिभिन्न देशका राजनितिज्ञहरुको इतिहास हेर्दा प्राय नेताका छोरा नेता बन्न र राजनीतिमै होमिन खोज्छन । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुसको छोरा जर्ज डब्लू बुस पनि अमेरिकाको राष्ट्रपति नै बनेकाे उदाहरण पनि छन ।

नेपालकै सन्दर्भमा कुरा गर्दा बावु राजनीतिकर्मी छ भने छोरा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा राजनीतिसँग जोडिएकै हुन्छ । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा सक्रिय विद्यार्थी राजनीति गरिरहेका छन् । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा स्व. प्रकाश पनि बुवाको राजनीतिलाई सघाउने गर्दथे । प्रकाशको निधनपछि दाहालकी बुहारी प्रकाश पत्नी बिना मगर मन्त्री नै बनिन् ।

कोइराला परिवारबाट धेरैजना प्रधानमन्त्री बने । विपी कोइरालाका छोरा सशांक कोइराला अहिले कांग्रेको महामन्त्री छन् । यि त केवल प्रतिनिधि उदाहरणमात्रै हुन् । यस्ता कैयौ उदाहरण छन् जो बावुआमाको पेशालाई प्रत्यक्ष होस वा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका हुन्छन् । यसको अर्थ सबै नेताका छोराछोरीले राजनीति नै गर्छन भन्ने चाहिँ होइन । यदि कुनै नेताका छोराछोरीहरु राजनीतिमा छैनन भने ति पक्कै कुनै विकसित मुलुकमा अध्ययनका लागि पुगेका हुन्छन् । यो नेपालका लागि खासै नयाँ कुरा भएन । तर यहाँ हामी यस्ता पात्रको बारेमा कुरा गर्न खोज्दैछौं जो देशका चर्चित राजनीतिकर्मी बावुका छोरा र धेरैपटक मन्त्री भएकी आमाका छोरा हुन ।

स्वर्गीय पुष्पलाल श्रेष्ठ नेपालीहरुका लागी नयाँ नाम होइन । नेपालको कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट राजनीतिको सन्दर्भमा कुरा गर्ने वित्तिकै जोकोहीले पनि स्वर्गीय पुष्पलालको नाम सम्मानले लिन्छन । कम्युनिष्ट नेतृ साहना प्रधान पनि नेपालीहरुका लागि चर्चित नाम हो । प्रधान धेरैपटक मन्त्री भइसकेकी व्यक्ति पनि हुन् । यिनै चर्चित र नेपाली राजनीतिका कहिल्यै नअस्ताउने दिंगवत नेताहरुका एकमात्रै छोरा हुन् उमेशलाल श्रेष्ठ । जो ठूलो राजनीति नेताको परिवारमा जन्मिएर पनि राजनीतिमा कहिल्यै लागेनन् । बरु आफ्नो छुट्टै व्यवसाय सञ्चालन गरेर सैयौंलाई प्रत्यक्ष रोजगारी दिनतिर लागे ।

आमाको जागिरका कारण पोखरामा वालापन
काठमाडौंमै जन्मिएका उमेशलालको बालापन भने पोखरामा वित्यो । श्रेष्ठ सानो छदा आमा साहना प्रधान पोखरामा अध्यापन गराउथिन् । त्यसैले उनी सानोमा पोखरा बसे । पोखरामै उनले प्राथमिक तहको शिक्षा अध्ययन गरेका थिए । आमा पोखरामा जागिरे भएका कारण उनले प्राथमिक शिक्षा पोखरामै अध्ययन गरे । कक्षा ३ सम्म पोखरामै पढे । आमाको सरुवा हुँदा प्राथमिक तहकै अध्ययन उनले ३-४ ठाउँमा गर्नु परेको थियो ।

माध्यमिक तथा उच्च माध्यमिक तहको अध्ययन भने उनले काठमाडौंमै गरे । वाल्यअवस्था सामान्य रुपले वितेको उनी वताउछन् । मध्यमवर्गीय भन्दा पनि निम्न वर्गीय परिवारमा जन्मिएर हुर्किएको बताउन रुचाउने उनी बाल्यकाल साह्रै रमाइलो भए पनि स्मरणयोग्य केहि नभएको बताउछन् ।उनले माध्यमिक तहको अध्ययन काठमाडौंको क्षेत्रपाटीमा रहेको जुद्धोदय हाइस्कूलमा गरे ।

श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा स्नात्तकोत्तरसम्मको अध्ययन गरेका छन् । उनले आफ्नो उच्चशिक्षा नेपालमै हासिल गरे जसका कारण उनी ठूला मान्छेका छोराहरु उच्च शिक्षा अध्ययनका लागि विदेश जादैनन् भन्ने गतिलो उदाहरण समेत बने । यद्यपि, उनले विद्यावारिधी (पीएचडी) अध्ययनका लागि एकपटक विदेश जाने सोच बनाए पनि सफल नभएको बताउछन् । विद्यावारिधी गर्नका लागि विदेशमा जाने सोच भए पनि त्यसबेलाको विभिन्न समस्याका कारण इच्छा पुरा नभएको उनी बताउछन् ।

७ वर्ष निजी कम्पनीमा जागिर
त्यो समयमा श्रेष्ठको परिवारमा आम्दानी गर्ने आमा मात्र थिईन् । आमाको जागिरबाट परिवार चलेको थियो । तर विडम्बना तत्कालिन शाही सरकारले २०३३ सालमा उनको आमाको जागिर खोसिदियो । राजनीतिमा सक्रिय भएको आरोपमा आमाको जागिर सरकारले खोसिदिएको थियो ।
उमेरले १९ वर्षमात्रै पुगेका श्रेष्ठलाई आमाको जागिर सरकारले खोसिदिए पछि थप जिम्बेवारी बोध भयो । अनि उनले हेक्सल फर्मास्युटिकल्स नामक कम्पनीमा जागिर खाए । उनले विज्ञान विषयमा स्नातक तहको अध्ययन सकाएसँगै उक्त फर्मास्युटिकल्स कम्पनीमा जागिरे भएका थिए । घरमा उनको एकमात्र दिदी थिईन । छोराको नाममा उनीमात्रै थिए । घरको एक्लो छोरा भएका कारण पनि बावुआमा पछिको जिम्मेवारी श्रेष्ठको काधमा थियो ।


उमेशलाल जागिर खान चाहदैथे तर पारिबारिक जिम्मेवारीले जागिरतिर लागे । बावुआमाले पनि त्यतिबेला छोराले जागिर खाओस भन्ने चाहेका थिएनन । तर उनलाई व्यवहारिकताले जागिर खानै पर्ने बाध्यता आईपर्यो । वास्तवमा जागिर प्राय रहर नभई बाध्यताले नै खाने हो । करिब ७ वर्ष उनले त्यो औषधी उत्पादन गर्ने कम्पनीमै विताए ।

जागिरपछि शुरु भएको व्यवसायिक यात्रा
श्रेष्ठले जब ७ वर्ष नीजि कम्पनीमा जागिरे भए । त्याे अवधिमा उनले धेरै कुराहरु सिक्ने मौका पाए । जागिरका क्रममा सिकेका उपलब्धीहरुबाट उनले आफै केहि गर्ने सोच बनाए । अन्नतः उनले औषधी उद्योगमा लगानी गर्ने सोच बनाए । जागिरबाट बचाएको पैसासमेत जम्मा गरेर उनले क्वेष्ट फर्मास्युटकल्स नामक औषधी उद्योगको स्थापना गरे ।


क्वेष्ट फर्मास्युटकल्स भन्दा अघि उनले अर्कै उद्योगमा लगानी गरेका थिए । सन् १९८८ मा उनले औषधी उद्योग स्थापना गरे । त्यो उद्योग अझै पनि सञ्चालनमा छ । तर उनी त्यो उद्योगमा अहिले आवद्धता भने नरहेको बताउछन् । केहि वर्ष चलाएपछि उनले त्यो उद्योग अरुलाई नै हस्तान्तरण गरेका थिए । त्यसपछि उनले व्यवसायिक कृषिमा हात हाले । तर श्रमिक कामदारको समस्याका कारण त्यसलाई निरन्तरता दिन भने सकेनन् ।


त्यसपछि पनि उनले अन्य कम्पनीहरुमा पनि लगानी गरे । त्यसैक्रममा उनले एक आर्युवेदिक कम्पनीमा समेत लगानी गरे । त्यो कम्पनीले पनि राम्रै मूनाफा हासिल गर्यो । उक्त कम्पनी अहिले पनि सञ्चालनमा रहेको छ भने आफ्नो लगानी अझै पनि कायम नै रहेको श्रेष्ठ बताउछन् ।
सन् १९९९ मा क्वेष्ट फर्मास्युटकल्स नामक अर्को औषधी उद्योग स्थापना गरे । जुन अहिले नेपालको उत्कृष्ट उद्योग मध्येमा पर्छ । जागिर खादा खादैं व्यवसायमा हात हालेका उनको लक्ष्य नै व्यवसायी बन्ने थियो । व्यवसाय नै उनको अभिरुची थियो । उद्योग गरेमात्रै आफू र देशको भलो हुने आफ्नो मनमा लागेको उनी बताउछन् ।

व्यवसायमा यसरी भए सफल
श्रेष्ठले जब क्वेष्ट फर्मास्युटिकल्सको स्थापना गरे शुरुवाती दिनहरुमा उनले धेरै सास्ती बेहोर्नु पर्यो । नयाँ उद्योग भएका कारण ३ वर्षसम्म विभिन्न समस्या झेल्नु परेको उनी बताउछन् । उनको उधोगले उत्पादन गरेको औषधी लेख्न डाक्टरहरु शुरुमा डराए । डाक्टरहरुले उनको उद्योगको औषधी नलेखिदा धेरै समस्या पर्यो । ‘मैले यो औषधी त लेखिदिन्छु औषधीले काम गर्ला कि नगर्ला । फेरी यो औषधी लेख्दा विरामीलाई केही भयो भने के गर्ने ?’ भन्ने प्रश्नहरु त्यसबेलाका डाक्टरहरुले गर्दथे । अकबरी सुनलाई कसी लगाउनु पर्दैन भने झै उनको उद्योगको औषधी विस्तारै अत्यधिक माग हुँदै गयो । ४ वर्षपछि माग अनुसारको उत्पादन गर्नसमेत उनलाई धौ–धौ पर्यो ।

२५ जना कर्मचारीबाट शुरु भएको श्रेष्ठको क्वेष्ट फर्मास्युटकल्स उद्योगमा यतिबेला करिब ६ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा सैंयौले रोजगारी पाएका छन् । उनको उद्योगले सबै किसिमका औषधी भन्दा पनि विशेष प्रकारका औषधीहरु उतपादन गर्ने गरेको छ । धेरैजसो डायविटिज, ब्लड प्रेसर लगायतका र भर्खरै मनाेवैज्ञानिक रोगहरुको औषधी उत्पादन गर्न श्रेष्ठको उद्योगले शुरु गरेको छ ।
उनी भन्छन्, ‘हाम्रो उद्योगले धेरै प्रकारका भन्दा पनि विशेष प्रकारका औषधी उत्पादनमा फोकस गर्ने गरेको छ । सामान्य रुघाखोकी भन्दा पनि ठूला किसिमका रोगका औषधीहरु उत्पादन गरिहेको छ । हामी केहि वर्षमा किड्नी, लिभर, आँखा लगायतका रोगहरुको औषधी उत्पादन गर्नेछौं । ब्रेनको त यतिबेला हामीले उत्पादन गरिरहेका छौं ।

अबको ५ वर्षभित्रमा क्यानसरको औषधीसमेत उत्पादन गर्ने हाम्रो योजना रहेको छ । हाम्रो प्रगति आशातित भइरहेको छ ’ उनले खुसी हुदै बताए । पहुँच विस्तारमा थप सक्रिय भइरहेको पनि बताए । हाल भइरहेको उद्योगमा थप अर्को फ्याक्ट्री केहि वर्षभित्रै ल्याइने उनी बताउछन् । २६ नोभेम्बरदेखि उनको उद्योगले ४० लाख ट्याबलेट औषधी उत्पादन गरिरहेको छ । दिनको १० लाख ट्याबलेट थप उत्पादन गर्ने लक्ष्य उनको उद्योगको छ । संख्या भन्दा पनि गुणस्तरमा विशेष ध्यान दिने गरेको उनी बताउछन् ।

नेपाल उद्योग वाणिज्य महासंघकाे यात्रा

चर्चित औषधी उद्योगी श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघमा अनौठो तरिकाले आफ्नो प्रवेश भएको श्रेष्ठ बताउछन् । न त प्रत्यक्ष राजनीति नत व्यवसायीक राजनीति कुनै पनि राजनीति त्यति नरुचाउने उनले साथीहरुको सझुावलाई अनुसरण गर्ने क्रममा महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका रहेछन ।

महासंघमा आउनु अघि उनी औषधी उत्पादकहरूको संगठन नेपाल औषधी उत्पादक संघको अध्यक्ष थिए । उनले ३ कार्यकाल सोही संघको अध्यक्ष भएर बिताए । संघमा उनको वर्चश्व एकदम राम्रो थियो । त्यसबेला एक जना साथीले महासंघको सदस्यता लिन आग्रह गरे । ति नै साथीहरुको आग्रहलाई मानेर उनले महासंघको सदस्यता लिएको उनी बताउछन् । पछि महासंघको निर्वाचन हुने भयो । निर्वाचनमा उठ्नै पर्छ भनेर श्रेष्ठका तिनै साथीले पुनः सम्झाए । ‘सदस्यता लिनु थियो लिईहाले, अब बेक्कारमा किन चुनाव लड्नु पर्यो’ श्रेष्ठ सम्झन्छन्, ‘उमेरले जेठा ति मेरा मित्रलाई त्यसो भनें तर उनले लड्नै पर्छ भनेपछि केन्द्रीय सदस्यमा चुनाव लडें ।’


पहिलो पटक निर्वाचनमा उठेका श्रेष्ठको महासंघ यात्रा सुनौलो भयो । उनले महासंघको सदस्यमा दोस्रो धेरै मत ल्याएर विजयी भए । त्यसपछि उनका समर्थकहरुमा खुसीको बहार आयो । पहिलो कार्यकाल सकिए पछि श्रेष्ठले दोस्रो कार्यकालमा अर्को प्यानलबाट पुनः सदस्यमा उम्मेद्वारी दिए । तर यसपटक भने उनी असफल भए । चुनाव हारेर चुपचाप बसेका अर्को महाधिवेशनमा उनी तेस्रो पटक पुनः चुनाव लडे । त्यसबेला भने उनले निर्वाचन जिते ।

बाघले कुनै शिकार गर्यो भने त्यसलाई खाँदा जब रगत आउँछ नि तब बाघ झनझन छिटो गरेर आक्रोशित हुँदै त्यो शिकार खान थाल्छ । हो बाघले रगत चाटे जस्तै आफूलाई महसुस भएको र बारबार निर्वाचनमा होमिएको उनी बताउछन् । फेरी अर्को साथीकै सुझावका कारण उपाध्यक्षमा उम्मेद्वारी दिएको र सफल समेत भएको उनी बताउछन् ।

‘३ पटक सदस्यमा उम्मेद्वारी दिइसकेको थिएँ र दुई पटक त निर्वाचित नै भइसकेको थिएँ । एक जना साथीले अब कति सदस्यमा लड्छौं उपाध्यक्षमा लड भन्यो’ श्रेष्ठ भन्छन्, । ‘मलाई जित्छु भन्ने नै लागेको थिएन, यो असम्भव छ भन्ने सोचेको थिए ।’ अन्नतः उनले साथीको सुझाव माने र उपाध्यक्षमा उम्मेद्वारी दिए । नभन्दै उनी राम्रै मत ल्याएर निर्वाचित समेत भए । यद्यपि, पछिल्लोपटक उपाध्यक्षमा नै दोहोरिन चाहेका उनले चुनावमा पराजय भोग्नु पर्यो ।

व्यवसायप्रति छैन पछुतो, राजनीतिमा आउँदिन
चर्चित कम्युनिष्ट नेताका छोरा । त्यसमा पनि उनको आमाले ४-४ पटक मन्त्रालयको बागडोर सम्हाली सकेकी । त्यसबेलादेखि नै उनले सक्रीय राजनीतिमा होएिको भए अहिले ठूलो राज्यको जिम्बेवारी सम्हाले ठाउँमा पक्कै पनि पुग्ने थिए श्रेष्ठ । पारिवारिक उच्च राजनीतिक भए पनि उनले राजनीतिमा प्रवेश गर्ने सोच कहिल्यै राखेनन् ।

मन्त्री भएपछि जनताका धेरै अपेक्षा हुने र त्यो अपेक्षा पुरा गर्न नसक्दा सर्वसाधारणले गाली मात्रै गर्ने भएका कारण पनि उनलाई राजनीतिप्रति चासो लागेन । बरु उद्योगकै श्रेत्रबाट उनले राज्य र नेपाली जनतालाई सहयोग गर्ने याेजना बनाए र त्यसै गरिरहेका छन अहिले । उनी भन्छन्, ‘मन्त्री भए पछि गाली मात्रै खाइन्छ । मन्त्री बन्न लागि पर्ने हो भने अहिले पनि सकिएला । मेरा आमा ४ पटक मन्त्री हुनु भयो तर त्यसले के भयो र । झण्डा फहराएर के होला र ? जस्तो लाग्छ ।’

बुवाआमाले राम्रो मान्छे बन्नु भन्नु भएको र यो नै गर भनेर कहिल्यै नभन्नुभएको स्मरण गर्दै आफूले गरेका काममा सफल हुने सोच रहेको उनी बताउछन् । ‘जे गर्छौ राम्रो काम गर, नराम्रो काम नगर मेरो बावुआमाले भन्नु भएको थियो म वहाँहरुले भने अनुसार नै गर्छु राजनीतिमा आउँदिन’ उनी भन्छन् । अर्कोतर्फ राजनीति गरेरमात्रै नभई व्यवसायबाट समेत मुलुकको आर्थिक अवस्था सुधार गर्न सक्ने उनको विस्वास छ । देशको उत्थान गर्नुछ भने आर्थिक क्रान्ति नै सबैभन्दा ठूला कुरा हो भन्ने उनको मान्यता छ । आर्थिक क्रान्ति बिना मुलुकको समृद्धि सम्भव नरहेको उनी बताउछन् ।