राष्ट्र बैंकले १ वर्षे मुद्धती निक्षेपमा १ अर्ब ७८ करोड लगानी गर्दै

-


     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित


काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकले एक वर्षे अविधकाे लागि १ अर्ब ७८ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने बताएको छ ।

बैंकले आईतबार एक लगानी सम्बन्धी सूचना प्रकाशित गरी कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको रकम ३६६ दिन (एक वर्ष) का लागि लगानी गर्नु परेकोले तोकिएको सिमामा रहेर प्रस्ताव पेश गर्न सकिने जनाएको छ । लगानीको अवधि २०७८ असार १ देखि २०७९ साल असार १ गतेसम्म रहेको छ ।

राष्ट्र बैंकले ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ८ करोड ९० लाख लगानी गर्ने भएको छ । यस्तै ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा २६ करोड ७० लाख तथा ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ४२ करोड ४० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

तीनवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरुले जेठ २६ गते दिउँसो ३ बजेसम्म लिन चाहेको रकम र त्यसका लागि प्रस्ताव गरिएको ब्याजदर खुलाएर राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नुपर्ने छ ।

राष्ट्र बैंकबाट निक्षेप रकम लिन चाहने बैंक तथा वित्तीय संस्था संचालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्ने छ । बैंकले तोकेको न्यूनतम पूँजीको कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने छ ।

खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा, स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने छ ।

यस्तै अघिल्लो वर्षमा संस्था संचालनमा मुनाफा भएको, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तर समस्याग्रस्त भएर सो को फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने लगायतका शर्तहरु राखिएको छ ।