स्याङजामा २० लाखमा बन्यो मिनि अक्सिजन प्लान्ट

-



     सफल आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



स्याङजा, २५ जेठ। स्याङजामा झण्डै २० लाख लागतमा मिनि अक्सिजन प्लान्ट निर्माण गरिएको छ।

महावीर पुन नेतृत्वको राष्टिय आविष्कार केन्द्रले २० लाख लागतमा नेपालमै पहिलोपटक मिनि अक्सिजन प्लान्ट निर्माण गरि अक्सिजन उत्पादन थालेको छ।

भिरकोट नगरपालिका र आविष्कार केन्द्रले संयुक्त लगानीमा प्लान्ट निर्माण गरेको केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले बताए।

निर्माण गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएपछि भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरिएको छ।

केन्द्रले वैकल्पिक प्रविधिबाट मिनि अक्सिजन प्लान्ट निर्माण गरेको जनाएको छ। अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्यु हुन थालेपछि अक्सिजन प्लान्ट निर्माण गरिएको हो।

प्लान्टबाट उत्पादन भएको अक्सिजन अस्पतालका सबै बेडमा एकैपल्ट पुग्ने गरी निर्माण गरिएको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार सातवटा अक्सिजन कन्सन्ट्रेटरलाई एसेम्वल गरि बनाइएको प्लान्टबाट प्रति मिनेट ६५ लिटर अक्सिजन उत्पादन हुन्छ। यसरी उत्पादन भएका अक्सिजन अस्पतालका १२ वटा शैयामा पठाइनेछ।