आर्थिक वृद्धिदर २‍‍.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

-


     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


काठमाडौं, २७ जेठ। नेपालकाे चालु वर्षको आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशतमा खुम्चने विश्व बैंकले प्रक्षेपण गरेको छ।

सरकारले आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारी हुने भनिरहेकाे बेला विश्व बैंकले चालु वर्षको आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो।

आर्थिक सर्वेक्षण जारी गर्दै गत शनिबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा ४ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुनसक्ने बताएका थिए।

कोरोना महामारीको दोस्रो लहरका कारण देशभर निषेधाज्ञा बढ्दै गएको र यसैका कारण बजार चलायमान हुन नसकेकाले अर्थतन्त्रको विस्तार तीव्र नहुने विश्व बैंकको अनुमान छ।

विश्व बैकले आफनो वैश्विक प्रतिवेदन ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स जारी गर्दै आगामी आर्थिक वर्ष पनि नेपालको आर्थिक वृद्धिदर ३ दशमदव ९ प्रतिशतमै सीमित हुने अनुमान गरेको छ।

तर सरकारले जेठ १५ गते अध्यादेश बजेट प्रस्तुत गर्दै ६ दशमलव ५ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ।

ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्सका अनुसार विश्व अर्थतन्त्र ५ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान रहेको छ।

प्रतिवेदनका अनुसार दक्षिण एसियामा भारतको अर्थतन्त्र ७ दशमलव २ प्रतिशतले ऋणात्मक, भुटानको १ दशमलव २ प्रतिशतले ऋणात्मक, बंगलादेशको ३ दशमलव ६ प्रतिशत तथा पाकिस्तानको १ दशमलव प्रतिशत, श्रीलंकाको ३ दशमलव ४ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान छ।

आगामी आर्थिक वर्ष भने सबै दक्षिण एसियाली राष्ट्रको आर्थिक वृद्धिदरमा सुधार आउने विश्व बैंकले अनुमान गरेको छ।