काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

-



     सफल आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ जेठ । काठमाडौँ महानगरपालिकाले कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ।

गत मंगलबारदेखि सुरु खोप कार्यक्रम स्थगित भएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाको शहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप खोप उपलब्ध गराउन नसक्ने बताएपछि कार्यक्रम स्थगित गर्नुपरेको बताए।

महानगरपालिकाले तीन दिनमा २८ हजारलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाएको उनले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले महानगरलाई ६५ हजार डोज खोप उपलब्ध गराउने भनेपनि २८ हजारमात्र उपलब्ध गराउँदा समस्या भएको उनको भनाइ छ।

महानगरपालिकाले पाँच दिन खोप लगाउने भन्दै ३२ केन्द्र ताकेको थियो।

चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएपछि गत मंगलबारदेखि देशभरी नै खोप कार्यक्रम सुरु भएको छ।

जसमा ६० देखि ६५ वर्ष उमेर समुहका व्यक्तिलाई खोप लगाउने सरकारले जनाएको छ।