गण्डकीको बजेटमा स्वास्थ्यलाई जोड, कोरोनाबाट ज्यान गुमाएका परिवारलाई ५० हजार

-



     सफल आवाज    
     असार १ गते २०७८ मा प्रकाशित



पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकोमा स्वास्थ्यलाई जोड दिएको छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार गण्डकी प्रदेशसभामा सार्वजनिक गरेको बजेटले कोराना नियन्त्रण, उपचार र खोपसहित स्वास्थ्य क्षेत्रलाई प्राथमकिता दिइएको छ।

जसमा कोरोना रोकथाम, उपचार र खोपलाई प्राथमकिता दिएको बजेटले प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्न खोप खरिदको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । संक्राम तथा सरुवा रोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधासम्पन्न भवन बनाइ सेवासुविधा बिस्तार गर्न स्रोतको व्यवस्था, स्तन, क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारबाट बेहोर्ने, दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी अस्पतालसम्म पु¥याउन एयर लिफ्टिङ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

गण्डकी विश्वविद्यालयमा ३ सय ५० शैयाको जनरल, ५० शैयाको मुटुरोग, ५० शैयाको अर्बुद रोग, ५० शैयाको मिर्गौृला रोग सहित ५ सय शैयाको शिक्षण अस्पताल स्थापनाको लागि बिस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण सुरु गर्ने, ६५ वर्षमाथिका नागरिकलाई निशुल्क स्वास्थ्य उपचार, स्वास्थ्यस्वयंसेविकालाई जिल्ला स्वास्थ्य कार्यालयमार्फत वार्षिक ६ हजार प्रोत्साहन भत्ता दिइनेछ ।

शिशु, बालबालिका, किशोरी, अपांगता भएका व्यक्ति र गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण सुधार कार्यक्रमलाई निरन्तरता दिँदै डेढ करोड बजेट छुट्टाइएको छ । सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैया र धौलागिरि अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तरोन्नति गरिने, सबै जिल्ला अस्पतालमा २ देखि ५ शैयाको आईसियु निर्माण गर्ने, ५० शैया भएका अस्पतालमा आँखा उपचार सेवा, मिर्गौलापीडित बिरामीको लागि डायलाइसिस सेवा र ज्येष्ठ नागरिक वार्ड संचालनलाई निरन्तरता दिइएको छ ।

मुख्यराजमार्ग पर्ने नवलपुरको मध्यबिन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरी अस्पताल र स्याङ्जाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गरिनेछ ।

यसैगरी, सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा सामाजिक सुरक्षा कोष स्थापनाको लागि ५ करोड बजेट विनियोजन गरिएको छ । विपन्न बस्तीमा मुख्यमन्त्ती कार्यक्रम ल्याइएको छ । कोरोना महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई सामाजिक सुरक्षावापत ५ हजार तथा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारका लागि ५० हजार आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।