आजदेखि ट्यांकरका चालक सहचालकलाई खोप लगाइदैं

-



     सफल आवाज    
     असार २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ असार । पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच भएको छलफलपछि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउने सहमति भएको हो ।

निगमको प्रादेशिक कार्यालय थानकोटबाट संचालित ट्याङ्कर चालक र सहचालकलाई खोप लगाउने सहमति भएको निगमले जनाएको छ । चालक र सहचालकलाई खोप लगाउने सहमति भएसँगै निगमको अमलेखगन्ज र थानकोटस्थित डिपोबाट डिपो अपरेशनको कार्य शुरु भएको छ ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले थानकोट र अमलेखगन्जमा खोपका कारण पेट्रोलियम पदार्थको लोड अनलोड तथा बिक्री वितरणमा गर्दै आएको बन्दको कार्यक्रम फिर्ता भएको छ ।

सरकारले सञ्चालन गरेको खोप कार्यक्रमअन्तर्गत निगमको १ नं प्रादेशिक कार्यालय विराटनगर, लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी, भैरहवा, नेपालगन्ज, चारआलीमा ट्रक तथा ट्याङ्कर चालक, सहचालकलाई खोप लगाउने काम सम्पन्न भइसकेको छ ।

निगमको जनकपुर, पोखरा तथा अमलेखगन्ज डिपोमा अहिले खोप लगाउने कार्यक्रम भइरहेको छ । एलपी ग्यास उद्योगी, ग्यास बिक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदूरलाई क्रमिक रुपमा खोप लगाइँदै जाने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।