नेप्सेमा दोहोरो अंकको गिरावट, काराेबारमा नेपाल पुनर्बीमा कम्पनी अब्बल

-



     आरजू विष्ट सल्यानी    
     असार ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ असार । साताको पाँचौ दिन बिहिबार शेयर बजारमा निकै उतारचढाव देखियो । छिनछिनमै सूचकांकहरुमा फेरबदल भईरहने अवस्था देखिएको थियो । कुनैबेला दोहोरो अंकको गिरावट र कुनैबेला भने दोहोरै अंकको बढोत्तरी र कुनैबेला एकोहोरो रुपमा घट्ने र बढ्ने क्रम चलिरह्यो ।

शेयर कारोबार हुने अन्तिम दिन बिहिबारको प्रि ओपन सेसनमा शेयर बजार सकारात्मक लयमा गएको देखियो । नेप्से परिसूचक १३.२५ अंकले बढेर २९८२.९७ विन्दुमा पुग्यो । यस्तै सेन्सेटिभ इण्डेक्स ३.९७ अंकले बढेर ५४५.९७ विन्दुमा उक्लियो ।

बुधबार नेप्सेमा ५२.४१ अंकले गिरावट आई २९६९.६९ विन्दुमा पुगेको थियो । मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको शेयरमा चलखेल गरेर मूल्य बृद्धि भएको सूचना सार्वजनिक भएपछि शेयर बजारमा नकारात्मक प्रभाव परेको थियो ।

आजको प्रि ओपन सेसन सकारात्मक देखिए पनि मध्यान्ह १२ वजेसम्म आउँदा भने शेयर बजार ओरालो लागेको देखियो । सवा १२ बजेकाे समयसम्म नेप्सेमा दोहोरो अंकको गिरावट भएको थियो । नेप्से परिसूचक १७.०७ अंकले घटेर २९५२.६४ विन्दुमा पुगेको थियो । नेप्से ०.५७ प्रतिशतले घट्दा सेन्सेटिम इण्डेक्स ३.५७ अंकले घटेर ५३८.१२ विन्दुमा पुगेको थियो ।

यस्तै दिउँसो २ बजेसम्म आउँदा शेयर बजारले फेरि सकारात्मक लय लियो र केहि समय दोहोरो अंकले उकालो लाग्यो । अन्ततः यो स्थिति धेरै धेरै बेरसम्म टिक्न सकेन ।

बजार बन्द हुँदाको समयसम्म आउँदा भने नेप्सेमा पुनः दोहाेरो अंकको गिरावट देखियो । बिहिबार नेप्से परिसूचक १.२९ अंकले घटेर २९६८.४३ विन्दुमा पुगेर रोकियो । नेप्से ०.०४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५८ अंकले घटेर ५४१.१२ विन्दुमा पुगेको छ ।

कुल २२३ वटा कम्पनीको कारोबार भएको छ । २ करोड ३६ लाख ५ हजार ६९९ कित्ता शेयरको खरिदबिक्रीबाट १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ७ उपसमूहमा रातो लागेकाे छ । उनीहरु सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, हाइड्रोपावर, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको हो ।

यस्तै होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, नीर्जिवन बीमा, अन्य र जीवन बीमा उपसमूहमा हरियो लाागेको छ । उनीहरु सबैको शेयर बढेको छ ।

कारोबारको आधारमा नेपाल पुर्नर्बीमा कम्पनी अब्बल मानिएको छ । कम्पनीको ७६ करोड ७४ लाख ७५ हजार ७१६ रुपैयाँ बराबरको कारोबार भएको छ ।