निःशुल्क एन्टीजेन परीक्षणमा लक्ष्यभन्दा कम सहभागी

-



     सफल आवाज    
     असार ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ असार । आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टीजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका छन् ।

नगरपालिकाभित्र १० हजार व्यक्तिको एन्टीजेन तथा पिसिआर परीक्षण गर्ने, परीक्षणमा सङ्क्रमण देखिएकालाई बोडेस्थित नगरपालिकाको आइसोलेशन कक्षमा निःशुल्क राख्ने र उपचारको आवश्यकता परेकालाई नगरपालिकाको आफ्नै अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरे पनि परीक्षणमा भने लक्ष्यभन्दा ९० प्रतिशत जनसहभागिता घटेको छ ।

अस्पतालको व्यवस्थापन तथा नगरपालिकाको खर्चमा गरिएको परीक्षणमा १० हजारको परीक्षण गर्ने लक्ष्य राखे पनि एक हजार ३०८ जनाको मात्रै परीक्षण भएको छ । नगरवासीलाई परीक्षणका लागि सार्वजनिक रुपमा आह्वान गरेको, सञ्चारमाध्यम र माइकिङ गरेर जानकारी गराइएको भए पनि परीक्षणमा जनसहभागिता निकै कम भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । परीक्षण गरिएकामध्ये ४८ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै उनले कूल परीक्षणको ३.६६ प्रतिशत पोजेटिभ रिपोर्ट आएको बताउनुभयो ।

“हामीले नगरपालिकामा कोभिडको अवस्थाबारे एउटा रिसर्च पनि होस् र नगरपालिकाको अवस्था कस्तो छ, कति जोखिम छ भनेर जानकारी लिन सकियोस् भनेर नेपालमै पहिलोपटक समुदायस्तरमा यति ठूलो परीक्षणको कार्यक्रम राख्यौँ”, नगरप्रमुख श्रेष्ठले भने, “तर जनसहभागिता निकै कम भयो, त्यसैले फेरि एक पटक यस्तो परीक्षण गर्नेबारेमा जनप्रतिनिधिबीच छलफल भएको छ, अहिले भने परीक्षणमा पोजेटिभ आएका सबैको उपचार नेपाल कोरिया अस्पतालमा निःशुल्क गर्नेछौँ ।”

नगरपालिकाले वडागत रूपमा नौ थरी रङको कार्ड वितरण गरिएको जानकारी दिँदै यो कार्ड लिएर आउनेलाई अस्पतालमा अन्य सेवामा पनि १० प्रतिशत थप छुट दिने व्यवस्था गरेको उनले बताए ।

नगरपालिकाले आफ्ना नागरिकका लागि कोरोना सङ्क्रमितको निःशुल्क उपचारदेखि परीक्षणमा सहभागी हुने सबैलाई कुनै पनि उपचार वा स्वास्थ्य सेवामा नगर अस्पतालले १० प्रतिशत छुट दिने व्यवस्था गर्दा पनि किन जनसहभागिता कम भयो यसबारे जानकारी लिएर अर्को परीक्षणको कार्यक्रम सार्वजनिक गरिने नगरपालिकाका प्रवक्ता केशव सिलवालले जानकारी दिए।