नेप्सेमा छायो हरियाली, कारोबारमा अब्बल देखियो नेपाल पुनर्बीमा कम्पनी

- विकास बैंक, हाइड्रोपावर, फाइनान्स र लगानी उपसमूहमा बढी आकर्षण

-



     सफल आवाज    
     असार ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ असार । नेपाल धितोपत्र बोर्डको बिज्ञप्ति प्रकाशित भएपछि लगातार पहिरो गएको शेयर बजार साताको तेश्रो दिन मंगलबार सम्हालिएको छ । नेप्से एक हप्ता लगातार नकारात्मक दिशामा गएपछि लगानीकर्ताहरु निरास बनेका थिए ।

नयाँ नयाँ रेकर्ड कायम गर्दै आएको नेप्से करिब २० अर्ब नजिक पुगेकाे अवस्थामा पुनः १०, ११ अर्बको कारोबारको सेरोफेरोमा रहन थालेपछि र राताम्मै हुने सूचकांकको कारण घटेको मनोवलमा आज सर्वत्र छाएको हरियालीले उत्कसुता जगाईदिएको छ ।

शेयर बजारका जानकारहरु तथा स्वतन्त्र विज्ञहरुले दुईचार दिनको घटबढले लामो समय नलिने भएकोले संयमता अपनाई लगानीमा अग्रसर भईरहे पहिलेकै अवस्थामा फर्किन गाह्रो नहुने बताउँदै आएका थिए । आजको नतिजाले त्यस्तैं हौसला प्रदान गरेको छ ।

नेप्से परिसूचक ७८.७० अंकले बृद्धि भएर २९१३.१० विन्दुमा पुगेको छ । नेप्से २.७८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १५.९८ अंकले बढेर ५३६.१२ अंकमा पुगेको छ ।

कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयरको खरिदबिक्रीबाट १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । बैकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरु सबैको शेयर बढेको छ ।

लगानीकर्ताहरु विकास बैंक, हाइड्रोपावर, फाइनान्स लगानी उपसमूहमा बढी आकर्षित भएका छन् । विकास बैंकक उपसमूहको सूचक ५.४५ प्रतिशतले बढेको छ । हाइड्रोपावर उपसमूहको ५.३९ प्रतिशत, फाइनान्स उपसमूह ५.४७ प्रतिशतले बढेको छ । यस्तै लगानी उपसमूहकाे ३.९८ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । कम्पनीको १ अर्ब ४९ करोड २४ लाख ३५ हजार ५६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।