२० करोड विनियोजन भएकाे त्रिदेशीय महाबु सडककाे काम शुरु

-



     सफल आवाज    
     असार ९ गते २०७८ मा प्रकाशित



दैलेख, ९ साउन । सरकारले गत वर्षदेखि पहिलो प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डको काम सदरमुकामबाट शुरु हुने भएको छ । महाबु सडकखण्डमा यस वर्ष रु २० करोड विनियोजन भएको छ ।

गत वर्षदेखि नेपालगञ्ज, सुर्खेत, दैलेख सदरमुकाम, महावु कालिकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने त्रिदेशीय सडकअन्तर्गत रकम विनियोजन भई काम शुरु गरिएको हो । गत वर्ष विनियोजन गरिएको रु ८० करोड मुगु र डोल्पा सडकखण्डमा खर्च गरिएको थियो ।

यस वर्ष विनियोजन गरिएको रु ६० करोडमध्ये मुख्य समस्या मानिएको दैलेख सदरमुकामको काँडाचौरबाट महावु सडकखण्डका लागि रु २० करोड विनियोजन गरिएको छ । गत वर्षदेखि निरन्तर यस अभियानमा लागेको र यस वर्षबाट सडक स्तरोन्नतिसँगै, सडक चौडा, नाली, ग्याबिन र कालोपत्रका लागि क्रमागत योजनाअन्तर्गत दैलेख खण्डमा रु २० करोड विनियोजन भएको प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले जानकारी दिए ।

सडक डिभिजन कार्यालय सुर्खेतअन्तर्गत उक्त रकम खर्च गरिने भएको छ । कूल रु ६० करोडमध्ये रु २० करोड महावु सडकखण्डकै लागि भनेर विनियोजन भएर रेडबुकमा आइसकेको छ । सोहीअनुसार ठेक्का खोल्ने र काम अगाडि बढाउने तयारी भएको सुर्खेत सडक डिभिजनका इञ्जीनियर तुलाराम शर्माले जानकारी दिए । तीन सडक खुल्दै कर्णालीका पाँच जिल्ला जोड्नका लागि दैलेख सदरमुकामको तीन स्थानबाट सडक सञ्चालन हुने भएको छ ।

अहिले सञ्चालनमा आएको कर्णाली राजमार्गको स्तरोन्नति गर्नुपर्ने देखिएको छ । सुर्खेत माथिल्लो डुगेश्वर, दुल्लु भैरवी हुँदै कालिकोट र जुम्ला जोड्ने सडकमा पनि प्रदेश र केन्द्र सरकारले रकम विनियोजन गरेर धमाधम काम शुरु भइरहेको छ । सदरमुकामबाट महावु हुँदै कालिकोट जुम्ला जोड्ने अर्को सडकको काम पनि यस वर्षदेखि शुरु हुने भएको छ । तीनवटै सडक सञ्चालनमा आए दैलेखको आर्थिक अवस्था सुधारसँगै पर्यटन प्रवद्र्धनमा निकै ठूलो टेवा पुग्ने दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले जानकारी दिए ।

जिल्लाका ठूला विकासे योजना तीव्रगतिमा निर्माण सम्पन्न हुनुपर्ने भन्दै सबै जिम्मेवार निकायले कामको प्रभावकारिता, गुणस्तरीयताबारे खबरदारी गर्न सांसद शर्माले आग्रह गरे । जबसम्म ठूला विकासे पूर्वाधार जिल्लामा बन्दैनन् तबसम्म रोजगारी सिर्जना हुँदैन । जिल्लाका नागरिकको आर्थिक अवस्था सुधारका लागि ठूला विकास जरुरी भएकाले जिल्लाको पूर्वपश्चिमका सबै जनताको जीवनस्तर सुधार गर्नैपर्नेमध्ये पहाडी सडक, कर्णालीका जिल्ला छुने दुईवटा महत्वपूर्ण सडक महावु हुँदै कालिकोट, जुम्ला र भैरवी बेहुली हुँदै कालिकोट जुम्ला जाने सडक, पेट्रोल उत्खनन र माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि जनप्रतिनिधि, राजबहादुर बुढा, पार्वती बिसुन्केले प्रभावकारी भूमिका खेलेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल गृहजिल्ला दैलेख आउनेबित्तिकै रोकिएको मध्यपहाडीको कामले तीव्रता पाएको छ । विभिन्न स्थानमा भएका समस्याको बारेमा समाधान गर्न प्रजिअ आफैँले सहजीकरण गरिदिएपछि समस्या समाधानमा सहयोग पुगेको हो । “आफू स्थानीय भएकाले जिल्लामा हुने सबैखाले विकासमा गुणस्तरीयता कायम गर्न निकै कडाइका साथ निर्देशन दिएको छु”, उनले भने । गल्ती भेटिएमा तत्काल कारवाही प्रक्रिया पनि अघि बढाएका छौँ । कुनै पनि विकास गतिविधि कसैका कारण अवरोध हुनुहुँदैन भन्ने मान्यताका साथ जिल्ला प्रशासनले काम गरेको प्रजिअ प्याकुरेलको भनाइ छ ।