
मभन्दा एक दसकअघि मात्र जन्मिएको मेरो नयाँपुल । तिम्रो नाम नयाँपुल रहनुभन्दा पहिला तिमी त हामी झोबाङेबासीको ‘बौर’ भनेर चिनिन्थ्यौं । बौर नाम सुन्दा मलाई पनि अचम्म लाग्थ्यो । के होला त्यो बौरको अर्थ भनेर ? मैले आमाबुवा मार्फत जान्ने मौका पाएँ । बौर भनेको त खेत नै खेत अनि पाखा बारिले भरिएको ठाउँ पो रहेछ । तिमी नयाँपुल हुनुभन्दा पहिला तिम्रो काखमा बौरको घरमात्र थियो । बौर अर्थात आदरणीय गुरु नारायणप्रसाद पौडेलको पिताजीको घर ।
हो, सुन नयाँपुल उहाँहरूनै तिम्रो पहिलो बासिन्दा हुनुहुन्थ्यो । धोती खोलादेखि मुलपानीसम्म तिमीलाई चारैतिरबाट खेतबारी अनि पाखाहरुले धेरिएको थियो । २०३८ साल माघमा तिम्रो किनारमा रहेको मोदी खोलामाथि तिम्रो शिरमा रहेका गाउँहरु झोवाङ, देउपुर र मोहोरिया आवातजावत गर्न सहज होस् भनेर एउटा झोलुङ्गे पुल निर्माण गरियो । झोलुङ्गे पुल बने लगत्तै बौरबाट तिमीले नयाँ नाम पायौं–मेरो नयाँपुल ।
नयाँँपुल तिम्रो नाम नै काफी थियो हामीलाई । जब तिम्रो उद्घाटन गरियो, त्यसपछि तिम्रा ती फाँटहरुमा बस्ती बस्न सुरु गरियो । सुरुवाती चरणमा नै तिम्रो छेउमा रहेका खेतबारीमा बस्ती बस्यो । त्यति बेलाबाट नै तिमीलाई व्यापारिक केन्द्रका रुपमा हेर्न थालियो । तिम्रो शिरमाथिका गाउँहरुलाई धेरै सहज भइसकेको थियो वारिपारी गर्न । तिमीले धेरै गाउँहरुलाई जोडेको हुनाले पनि तिमी सबैको मुटु बन्याँै–मेरो नयाँँपुल ।
विकासका पूर्वाधारले बिस्तारै बिस्तारै तिमीमा बामे सर्न सुरुवात गरेको थियो । पहिलो पूर्वाधार भने यातायातलाई निम्त्यायौ तिमीले मेरो नयाँँपुल । २०४७–४८ तिर पोखरा–बागलुङ राजमार्ग निर्माणसँगै तिमी केन्द्रको रुपमा विकास हँुदै गर्दा यता मलाई पनि मेरी आमाले तिम्रै वक्षस्थलमा मलाई पाइला टेकाइदिनुभएको थियो । पूर्व वाल्यावस्थामा त मैले तिमीलाइ खासै चिनेकी थिइनँ । सायद म सानै भएर होला । तर मलाई यति याद छ, उत्तरावस्थाको पूर्वाधतिर मैले गुनगुनाउने गीत तिम्रै नामको हुने गथ्र्यो–‘घर त नयाँँपुल, तिमीलाई देखेर परे रनभुल ।’
खै यो गीत तिम्रो भविष्यवाणि गरेर नै मेरा दाजुहरु ले रचना गर्नुभएको रहेछ जस्तो लाग्छ मलाई मेरो नयाँपुल । मेरा बुवाआमाले जसरी मलाई हुर्काउँदै हुनुहुन्थ्यो, त्यसैगरी तिमीलाई पनि मेरा आमाबुवा लगायत उहाँहरुकै उमेरका अन्य आमाबुवाले तिम्रो विकास गर्दै जानुभएको थियो । मेरा आमाबुवाहरुको उमेर समूहका ब्यक्तित्वहरु तिम्रो पहिलो पुस्ताका आमाबुवा हुनुहुन्छ भने मेरो उमेर समूहका ब्यक्तिहरु तिम्रो सिंगो काखलाई हाम्रो खेल्ने आँगन बनाउने हामी पहिलो बच्चाहरु थियौं । तिमीलाई आँगन यस अर्थमा भनेकी हुँ कि हामी धोती खोला हुँदै तबेलातिर निस्किएर तिम्रो नजिकै रहेको क्याम्पेन पुगेर मोदी खोलाको तिरैतिर मुलपानी निस्किन्थ्यौं । तिम्रो काखमा हुर्किदै गरेका हामी बालापनका साथीहरू कुनै निश्चित ठाउँका थिएनौं । हामी त तिम्रै वरिपरि चारैतिरका थियौं । किनकि त्यतिबेला तिम्रो काखमा जम्मा ३०–३५ वटा मात्र घरहरू थिए । ममा पनि विकासात्मक परिवर्तन देखिँदै गएसँगै तिमीमा पनि विकासका परिवर्तनले छुन थालिसकेका थिए, मेरो नयाँपुल ।
मलाई यति याद छ, उत्तरावस्थाको पूर्वाधतिर मैले गुनगुनाउने गीत तिम्रै नामको हुने गथ्र्यो–‘घर त नयाँँपुल, तिमीलाई देखेर परे रनभुल ।’
म उत्तरावस्थाको मध्यतिर आइपुग्दा तिमीलाई आफ्ना साना साना टोलहरुमा विभाजन गरिएको थियो । तिम्रो नजिक रहेको बस्तीलाई तल्लो नयाँपुल, तिमीदेखि सिँधैमाथि हिलसाइड रहेको बस्तीलाई लाल्टिन बजार, अहिलेको तेस्रो बजारलाई दुर्गेबजार, माथिको रोडमा रहेका होटलको बस्तीलाई काइलाको डाँडो, यता गेडेमुलहुँदै पाखृस्वाँरा रहेको थियो ।
यातायात सुविधापछि तिमीले निम्त्याएको विकास भनेको शिक्षा हो । २०४८–४९ तिर तिम्रो काखमा रहेको लाल्टिन बजारमा बोर्डिङ स्थापना भएसँगै वीरेठाँटी र झोवाङ गएर पढ्ने मेरा अग्रज दाजुदिदीहरु आफ्नै ठाउँमा पढ्न पाउनु भयो । तिम्रो काखमा बोर्डिङ खुल्नासाथ तिम्रो सम्बन्ध अझै थुप्रै गाउँहरुसँग बिस्तार हुँदै गयो । झोवाङ, देउपुर, मोहोरिया, वीरेठाँटी, घान्द्रुक, छोम्रोङ, धोडेपानी, लान्द्रुक हुँदै थुप्रै गाउँबाट विद्यार्थीको आगमनँसगै सुमधुर सम्बन्ध पनि अझै प्रगाढ हुँदै गयो, मेरो नयाँपुल । सुरुवातकै दिनदेखि ब्यापारिक केन्द्रका रुपमा रहेको तिमी म उत्तरावस्थाको अन्त्यतिर आइपुग्दा तिमी त ब्यापारिक साथसाथै पर्यटकीय गन्तव्यका रूपमा आफूलाई चिनाउँदै थियौं, मेरो नयाँपुल ।
यातायात र शिक्षामा फड्को मारेसँगै खानेपानीको पनि सुविधा पाउन थाल्यौं हामी नयाँपुलवासीले । ओहो ! हाम्रो बाल्यकाल क्या गजबको थियो । बिहान उठेर मुलपानीमा पानी लिन गइन्थ्यो, पानी ल्याएर खाना खाएपछि स्कुल जाने बेला हुन्थ्यो, स्कुल जाँदा पनि गेडेमुलमा धेरै विदेशी पर्यटक आउने चोक भएकाले त्यही बसेर गोरालाई हेरिन्थ्यो, स्कुलको घण्टी बजेपछि मात्र पाइलाहरु स्कुलतिर लम्किन्थे । स्कुलमा पनि पढाइमा कमजोर भएर होला अघिकै बेन्चमा बसेर पनि खुबै घरायसी कुरा गरिन्थ्यो हामी दुईजनाले । कक्षाका सबै साथीहरू खुबै मिल्थ्यौ हामी, पृथ्वीनारायण शाहले भने जस्तै हामी पनि चार जात छत्तीस वर्णका साझा फूलबारीका फूलहरु थियौं । प्रत्येक शनिबार पालैपालो एउटा–एउटा साथीको घरमा खेल्न जान्थ्यांै । प्राय मेरा साथीहरुका अभिभावक व्यवसायमा आबद्ध हुनुहुन्थ्यो भने हामी २–४ जनाका अभिभावक कृषिमा । कहिले कुन साथीको फेन्सीमा राखिएका फर्ममा उफ्रिन्थ्यौं त कहिले फर्निचरवाला साथीकोमा गएर साना साना काठका टुक्रालाई गाडी बनाएर गुडाइन्थ्यो । कहिले गुरुङ साथीकोमा गएर रक्सी बनाउन राखिएको कोदोको जाड ड्रमबाट झिकेर खाइन्थ्यो त कहिले काँक्रा बारीमा गएर काँक्रा चोरेर खाइन्थ्यो त कहिले मोदी खोलामा पौडी खेल्न गइन्थ्यो । जति सम्झियो त्यति प्यारो लाग्छ, तिम्रै काखमा बिताएको त्यो बाल्यकाल–मेरो नयाँपुल ।

म यौवनावस्थामा भर्खरै लाग्दै गर्दा यता तिमी भने झिलिमिली बल्न थाल्यौं अर्थात विकासका पूर्वाधारअन्तर्गत विद्युत आएपछि मेरो टाउकाको अगाडिको कपालले भने धेरै सुख पाएको थियो । विद्युतसँगसँगै २०५८–५९ तिर सन्चारले पनि तिमीलाई छोइसकेको थियो । रेडियो त प्रायः सबैको घरघरमा गुन्जिन्थ्यो तर जुन दिन टेलिभिजन आएको थियो त्यो पनि ब्ल्याक यान्ड ह्वाइट । हामी त ६ बजेको कृषि समाचार हेर्न जान्थ्यौं बलभद्र ठूलोबुवाको घरमा । समाचार त फ्रिमै हेर्न पाइन्थ्यो तर चलचित्र हेर्न २५ रुपैयाँ तिर्नु पथ्र्यो । त्यो पनि समयमै गएर बुकिङ गर्नुपथ्र्यो । धेरैपछि मात्र सबैको घरघरमा टेलिभिजन राख्न थालियो । टेलिफोन आउनुभन्दा पहिला सूचना आदानप्रदान गर्ने माध्यम भनेको वीरेठाँटीमा हुलाक थियो । बुवालाई चिट्ठी त्यही हुलाक मार्फत जान्थ्यो खै कति महिनामा पो पुग्थ्यो इन्डिया ? तर बुवाको चिट्ठी भने १ महिना ४५ दिनमा प्राप्त गथ्यौं । टेलिफोनमा बोल्न मन लाग्दा चाहिँ हरेक आइतबार साँझ ५ बजे पातिचौर प्रसाईं मामाकोमा गएर बुवाको फोनको प्रतीक्षा गथ्र्यौ । तिम्रो काखमा भने पहिलोपटक अर्जुन अंकलको पसलमा ल्याउनुभएको थियो मेरो नयाँपुल । फोनमा कुरा गर्न आउने ब्यक्ति हेर्दा यस्तो लाग्थ्यो कि कुनै ठूलो चाड आए जस्तो । चाडजस्तै हुनु पनि स्वभाविक थियो, वर्षौदेखि परदेशमा रहेका आफन्तसँग प्रत्यक्ष कुरा गर्दै मुस्कुराउँदै गर्नुहुन्थ्यो । सबै जना धैर्य गरेर कुरेरै बस्नुहुन्थ्यो । बिस्तारै सिडिएमए सेट प्रायः ले राख्न थाल्नुभयो । २०६५ तिर आइपुग्दा भने नेपाल टेलिकमकै प्रिपेड, पोस्टपेड अनि एनसेल सबैको हातहातमा आयो, मेरो नयाँपुल ।
यसरी विकासका पूर्वाधारमध्य स्वास्थ्य सेवाले भने अन्तिममा प्रवेश पायो तिम्रो काखमा । राम्जी मामा स्याङ्जाबाट आउनुभन्दा पहिले एक रातको कुरा हो, मलाई सहनै नसक्ने गरी कान र दाँत दुखेर मुर्छा परेको बेला मेरी आमाले मलाई छिमेकी काकीलाई लिएर रातको करिब १ बजेतिर हाइजुङमा रहेको गुरुङ मेडिकलमा लिएर जानुभयो । वनको बाघले खानुभन्दा पहिला मनको बाघले खाइसकेको थियो । किनकि अहिले जस्तो घना बस्ती थिएन त्यतिबेला । मनको बाघले यस अर्थमा खाँदै थियो कि पूर्वजहरुले यो ठाउँमा यसरी तर्साउने गर्छ यस्तो निस्किन्छ राति सकभर नहिड्नु भन्नुहुन्थ्यो । त्यो रात फेरि हामी ३ जनामात्रै थियौं । हातमा लाइट थिएन । राँको बालेर जसोतसो घरमा आइपुग्यौं । ओहो अहिले सम्झिँदा पनि झसंग कहालीलाग्छ मलाई मेरो नयाँपुल ।
देशमा भएको राजनीतिक परिवर्तनसँगै २०६१–६२ को जनआन्दोलनले देशमा धेरै क्षति पुरायो । कतिको सिउदो पुछियो, कतिले आफ्ना सन्तान गुमाउनुप¥यो । कति सानैमा आमाबाबुविहीन बन्न पुगे । त्यस्तै उथलपुथल पारिदियो तिमीलाई पनि, मेरो नयाँपुल ।
भगवान्को कृपाले तिमीले मानवीय क्षति त धन्न सहनुपरेन तर भौतिक क्षति भने धेरै भोग्नु परेको थियो । सबैभन्दा ठूलो क्षति त हामीले पढ्दै गरेको स्कुललाई धोस्त पारिदिए माओवादीले । त्यतिबेला त्यो शब्द सुन्दा नै डर लाग्थ्यो झन् उनीहरुलाई देख्दा त सातो नै जान्थ्यो । स्कुल उडेपछि नयाँपुलमा पुरै सन्नाटा छाएको थियो । साथीहरू सबैलाई तितरवितर पारिदियो त्यो आन्दोलनले । चारैतिरका साथीसँगबाट छुट्टयाइदिसकेको थियो । सबैभन्दा दुख त आफ्नो प्रिय साथीसँग छुट्दा लागेको थियो । साथीहरू त धेरै दियौं तिमीले तर प्रिय साथी भने एउटै दिएका थियौं मलाई, मेरो नयाँपुल । सबै साथीहरू आ–आफ्नो आर्थिक क्षमता अनुसारका विद्यालय गइसकेका थिए । मेरी साथी पनि हेमजाको धौलागिरी बोर्डिङमा पुगिसकेकी थिइन् । म भने यता जाऔं कि उता दोधारमा थिए । सानोमा सबै चिज मिलेको थियो हामी दुईको । पढाइमा कमजोर, अगाडिको बेञ्चमा बसेर हल्ला गर्ने, हल्लाभन्दा पनि बढी घरको कुरा गर्ने । हरेक शनिबार कहिले कसकोमा कहिले कसकोमा खेल्ने, सबै चिज मिल्दोजुल्दो हुँदा पनि त्यही एउटा चिज मिलेन । म किसान परिवारबाट मेरि साथी व्यापार व्यवसायबाट । साथीसँगै धौलागिरीमा जान मन थियो तर के गर्नु मन मात्रै भएर धौलागिरीले सित्तैमा कहाँ पो पढाइदिन्थ्यो । त्यसपछि केही पाउन केही गुमाउनु पर्छ भने जस्तै आफ्नो गाउँको सरकारी विद्यालयमा मलाई मेरो बुवाले कक्षा ७ मा भर्ना गरि दिनुभयो । ओहो, मेरो नयाँँपुल मैले त सोच्दै नसोचेको मलाई सुहाउँदो वातावरण भेटे । बोर्डिङ पढ्दा खासै १–२ जना शिक्षकले मात्र केयर गर्नुहुन्थ्यो तर शीतलामा त आठै जना शिक्षकको माया र सपोर्ट पाउन थाले । एक दिन दुई दिन गर्दागर्दै पहिलो त्रैमासिक परीक्षा भयो जिन्दगीमा पास पनि नभएको म कक्षा ७ मा प्रथम भए त्यो पनि जहिले यता म्याथमा ५–६ ल्याउने म सरकारी विद्यालयमा ९८–९९ ल्याउन थाले । त्यसपछि भने कहिल्यै प्रथम र द्वितीय बाहेक तृतीय हुनु परेन । मेरी साथीले पनि उता गएर राम्रो गर्न थालिसकेकी रहिछन् । भेट त तिमीले हामीलाई कहिल्यै गराइदिएनौ तर हाम्रो गतिविधि भने थाहा पाउने गथ्यौ हामीले मेरो नयाँपुल ।
तिम्रो परिवर्तन भने दिनको दुईगुणा रातको चौगुणा सरि भइरहेको थियो भने यता म पनि एक जेहेनदार र अनुशासित छात्रा भएर पुरस्कृत हुँदै उच्च माध्यमिक तह सकेर उच्च शिक्षाका लागि मेरी आमा र तिम्रो काख छोडेर काठमाडौंको पशुपति बहुमुखी क्याम्पसमा भर्ना गरिदिनु भयो मेरो बुवाले । एकरात पनि तिम्रो काखमा मेरी आमाको हात सिरानी बनाएर नसुन्ने म एकैपटक काठमाडौ गएर बस्दा धेरै नरमाइलो लाग्थ्यो मलाई, केही पाउनुपर्ने थियो त्यहीँदेखि नै मेरो संघर्षका दिन सुरु भइसकेको थियो । तर पनि तिम्रो न्याँस्रोले मलाई दिन रात सताइराख्थ्यो । त म सुरुसुरुमा त प्रत्येक शनिबार आएर आइतबार बिहानै पहिलो माइक्रोमा फर्किएर साँझको क्लास भेट्टाउन पुग्थे । पछि बिस्तारै घुलमिल हुन थालेपछि भने म लामो कलेज बिदामा मात्र तिम्रो काखमा आउन थाले । घर आउँदा पनि म आफ्नै पढाइमा ब्यस्त हुने भएकाले तिम्रो बारेमा मूल्यांकन गर्ने फुर्सद नै पाउदिनथे । घरबाट बाहिर खासै निस्किदैनथे त्यसैले त कतिपय मेरा छिमेकीले मलाई काठमाडौ फर्किदा मात्र कहिले आएकी थिइस् भनेर सोध्नुहुन्थ्यो ।
तिमी मेरो जन्मथलो भए तापनि मेरो कर्म थलो पछि काठमाडौं हुँदै गयो । मलाई संघर्ष गर्न अनि सही बाटोमा हिडेर मेरा आमाबुवाले देख्नुभएको सपना प्ररा गर्नु थियो । काठमाडौंमा पनि मैले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथी बनाइसकेकी थिएँ । यताका सरकारी विद्यालयका गुरुजस्तै क्याम्पसका गुरु गुरुआमाबीच प्रिय छात्रा भइसकेकी थिएँ । स्नातक तह सकिए लगत्तै कति साथीहरु अस्ट्रेलिया, अमेरिका उडे पुनः स्नातक पढ्न । तर मलाई भने बाध्यताले तिमीलाई छोडेर यहाँसम्म त ल्यायो अब यहाँबाट बाहिर जान पटक्कै मन थिएन । मलाई त्यति बेलादेखि नै तिम्रो काखमा आएर केही गर्ने इच्छा थियो तर मेरो पढाइ सकिएको थिएन, तिम्रो काखमा आउन–मेरो नयाँपुल । त्यति बेला मलाई मेरा धेरै मिल्ने साथीहरुले छोडेर कोही परदेशी भैसकेका थिए त कोही स्नातकोत्तरका लागि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भेटिए । सबै साथीहरु हुँदाहँुदै पनि मेरो मनले भने बालापनमा छुट्टिएकी साथी खोज्दै थियो किनकि त्यतिबेला हामी एउटै शहरमा थियौं । प्रत्यक्ष हाम्रो भेट नभए पनि सामाजिक सञ्जालबाट भने सबै थाहा पाउथ्यौं, एक अर्काबारे । तिमीले मलाई निःस्वार्थ साथ दिने एउटै साथी दिएका थियौं ।
सरकारी जागीर खाने र नेपालमै बस्ने भनेको त हामी जस्तो मध्यम वर्गीय परिवारबाट आएका युवाहरु मात्र हौं जस्तो लाग्थ्यो तर तिम्रो वक्षस्थलमा हुर्केकि भएर होला मेरी साथी पनि अपवादकै रूपमा मैले भेटे मेरो नयाँपुल ।
स्नातकोत्तरको दोस्रो सेमेस्टर पढ्दा एक दिन शनिबार हामी वर्षौपछि भेट्दै थियौं । बानेश्वरको एउटा क्याफेमा भेट्ने निर्णय ग¥यौं । साथी मलाई लिन सेतो स्कुटीमा एनसीसी कलेजको गेटमा आइपुगिन् । मलाई भने आफ्नै मनले खोजिरहने साथीसँग भेट्दा पनि बोल्नै आएन, न त साथीलाई नै आयो । सानोमा हल्ला गर्नेको सूचिमा परेका हामी अहिले भने हेल्लो हाइमात्र गरेर सिधै क्याफेतिर हुइँकियौं । ११ बजे क्याफे पुगेका हामी त्यो जाडो महिनाको न्यानो घाम खोज्दै एक ठाउँमा बस्यौं । वेटरले ल्याएको तातोपानीसँगै हाम्रो गफ सुरु भयो । बाल्यकालमा जस्तो थियौं हामी त्यस्तै गफ सुरु हुन थाल्यो हाम्रो । हामी जति नै ठूलो भए पनि आफ्नो आफ्नो भोगाइ सुनाउँदै थियौं । विगतका कुरा गर्दै पुरै क्याफे थर्किने गरि हास्थ्यौं । दुखका कुरा गर्दा दुबैको आँखाभरि आँसु हुन्थ्यो । साथीको परिवारले त्यति बेला हामी भेट्दा नयाँपुल छोडिसक्नुभएको रहेछ । वेटर अर्डर लिन आउने बहानामा हाम्रो कुरा सुनेर बस्थे । यस्तो साथी बनाइदियौं तिमीले मेरो नयाँपुल हामी दुईलाई कि सानोमा पनि उस्तै र अहिले ठूलो हुँदा पनि एकले अर्कोलाई हेरेर उत्प्रेरित हुने । अब के गर्छौ पढाइ सकेर ? भनेर मैले पहिला सोधे । जस्तो बाहिरी सुन्दरताले भरिपूर्ण छिन् मेरि साथी त्यस्तै मिठो जवाफ दिइन् । मैले सोचेको थिएँ साथी पनि अस्ट्रेलिया, अमेरिका, क्यानाडा जान्छिन् होला भनेर । तर उनी भने मुसुक्क मुस्कुराउँदै लोक सेवा आयोग भनिन् । म भने छक्क परें । सरकारी जागीर खाने र नेपालमै बस्ने भनेको त हामी जस्तो मध्यम वर्गीय परिवारबाट आएका युवाहरु मात्र हौं जस्तो लाग्थ्यो तर तिम्रो वक्षस्थलमा हुर्केकि भएर होला मेरी साथी पनि अपवादकै रूपमा मैले भेटे मेरो नयाँपुल । अनि तिमी नि के गर्छौ भनेर मलाई सोधिन् । मैले हासेरै जवाफ दिन थाले, मलाई काठमाडांै बसेर पुग्यो साथी अब पढाइ सकेर आफूले सिकेको ज्ञान र सीप मेरै नयाँपुलमा गएर बाँड्नु छ । सबै कुरामा विकास भए पनि शिक्षामा आमूल परिवर्तन आउन सकेको छैन अहिले पनि उहिले हाम्रै पालाको जस्तो छ त्यहाँ । तिम्ले र मैले पढ्न नजानेर गफ गरेको कसैले बुझेनन् । तिम्रो र मेरो जस्तो हालत अहिलेका बच्चाहरुले भोग्नु नपरोस् भनेर नै म फर्किन्छु साथी भनेकी थिए, मेरो नयाँपुल । साथी पनि एकदमै सहयोगी छिन् र त आऊ तिमी त्यहाँ गएर तिम्रो सपना पूरा गर । तिमीलाई अप्ठेरो पर्नासाथ मैले साथ दिनेछु भनेकी थिइन् । गरिरहेकी छिन् अझै पनि । हामीले धेरै कुरा गरेका थियौं, कुरा गर्दागर्दै साँझ ६ बज्न लागिसकेको थियो । अब भने हामीलाई छुट्टिनु थियो । फेरि भेट्ने वाचासहित छुट्यौं, मेरो नयाँपुल ।
२०७५ सालतिर मेरो स्नातकोत्तर सकिए लगत्तै झन्डै हामी कीर्तिपुरवासी भइसकेका थियौं । तिमीपछि प्यारो लाग्ने ठाउँ मलाई कीर्तिपुर हो, मेरो नयाँपुल । खै किन हो मलाईभन्दा पनि धेरै त मेरा आमाबुवा र दाइलाई कीर्तिपुरले मोहनी लगाएको ? यसको जवाफ भने मैले साझा कीर्तिपुरमार्फत दिनेछु । पढाइ सकिएपछि म भने एउटा प्रोजेक्टमा काम गर्दै शाखा अधिकृत तयारीमा लागेकी थिएँ । मेरो बुवा र दाइ भने कीर्तिपुरमा घर हेर्दै हुनुहुन्थ्यो कता बस्ने के गर्ने भनेर सल्लाह गर्दैगर्दा यता मेरो फस्ट पेपरमा नाम निस्किसकेको थियो दाइको साउदीको छुट्टी पनि सकिसकेको थियो । मैले शाखा अधिकृत तयारीका लागि त्यो जब छाडेर तिम्रै काखमा बसेर पढ्ने अठोटका साथ म आफ्नै घर फर्की आएँ, मेरो नयाँपुल । दाइ भने पुनः साउदी फर्किसक्नुभएको थियो । मैले यता राम्रै तयारी गरेर परीक्षा पनि दिइसकेको थिएँ, नाम निस्किदासम्म भने म पुरै फुर्सदमा थिएँ । तिम्रै काखमा बस्न लेखेको भएर होला सायद नाम निस्किएर पनि राजनीतिले मेरो अधिकृत खाइदियो । कहिलेकाही आमासँग पसलतिर जाँदा मलाई पनि तिमी बिरानोजस्तो लाग्न थाल्यो अनि तिमीले पनि म यतिका वर्ष हराएर होला मलाई चिन्नै सकेनौं । हामी दुबै जना एक अर्काको लागि लगभग अपरिचित जस्तै भएका थियौं । अपरिचित हुनु पनि स्वभाविक नै थियो किनकि मैले तिमीलाई छोडेको करिब १० वर्ष भइसकेको थियो भने यता तिम्रो काखमा मैले करिब ७० प्रतिशत नयाँ अनुहार देखेको थिएँ । ३० प्रतिशतमात्र मैले चिनेको व्यक्ति हुनुहुन्थ्यो । बाँकी कसरी नयाँ अनुहार भनेर अचम्म नमान तिमीले । किनभने मैले सुरुवातमा नै भनेकी थिए नि तिमीले कृषिभन्दा धेरै ब्यापार ब्यवसाय मार्फत हामीलाई पालेका थियौं । ७० प्रतिशत पुराना अनुहार ब्यापार र ब्यवसायमा सफल भएर पोखरा बसाइँ सरिसक्नुभएछ ।
तिमी र म त एकअर्काको परिपूरक भइसकेका थियांै, मेरो नयाँपुल । तिमीलाई सबै थाहा छदैछ नि होइन र ? मलाई सानैदेखि प्रोत्साहित गर्ने भन्दा हतोत्साहित गर्नेको कुनै कमी थिएन । त्यसैले मेरो बुवा र दाइ तिमीलाई छोडेर अन्यत्र बसाइँ सर्न खोज्नु भएको । मैले उहाँहरुलाइ धेरै सम्झाए र बुझाउन सफल पनि भए कि दोष तिम्रो होइन हामीलाई घोचेर बोल्दा आफूलाई महान ठान्ने भलाद्मीहरुको हो । उहाँहरुलाई हामीले वचनले होइन, व्यवहारले देखाउनुपर्छ । यो ठाउँ नै छाडेर गएपछि त हामी असफल भएसरह हुन्छौं, जति असफल भए पनि कडा मिहिनेत गरेर यहीँ बसेर फस्ट हुनुपर्छ भनेर झन्डै कीर्तिपुरबासी भएका हामी यहीँ तिम्रो काखमा बस्ने बनाउन सफल भए मेरो नयाँपुल । मैले देखेका सपना पूरा गर्नुछ भनेर मैले घरमा सबै सुनाए आफ्ना भावी योजनाहरु । सुरुमा त बुवा मान्नु भएको थिएन, जागिर गर भन्दै हुनुहुन्थ्यो । मैले बुवालाई जागिरभन्दा पनि म आफै केही गर्न चाहन्छु । अहिलेसम्म मैले काठमाडौंमा सिकेको ज्ञान साना बाबुनानीलाई सिकाउन चाहन्छु । सबैका छोरीले जस्तै मनग्गे पैसा त कमाउन नसकुँला तर मेरो नाम दुईचार जना व्यक्तिमाझ राख्न चाहन्छु भनेर सम्झाए उहाँलाई । अब सपना मात्र देखेर त भएन काम पनि गर्नु थियो मलाई तिम्रो काखमा बसेर मेरो नयाँपुल । तिमीले मलाई मैले तिर्न नसक्ने गरी गुण लगाएका छौं । मैले भने तिमीलाई केही दिन सकेको छैन । महलमा बस्ने व्यक्तिहरुले चुहिने झुपडीमा बसेकी मेरी आमालाई म सानो छँदा त्यो मधुर वचन बोलिदिएर नै यता म आफ्नो सपना सजाउँदै त्यही बस्दै गरेको चुहिने झुपडीलाई एउटा सानो घरको आकार दिँदै मन्टेस्वरी बनाउँदै थिए । यता मन्टेस्वरी बन्दै गर्दा म फुर्सदमा थिए । त्यति नै बेला शिक्षक आवश्यकता भनेर देखे जुन विद्यालयमा म २०६६ सालमा कक्षा १२ को परीक्षा दिएर बसेको थिएँ । तिमीलाई अझै पनि याद होला, मेरो नयाँपुल । म घरमा सल्लाह गरेर त्यहाँ भोलेन्टिएर गर्छु भनेर जाँदा मलाई तिमी सक्दिनौं घरमा आराम गरेर बस नत्र झोवाङको स्कुलमा जाउ नभनी दिनुभएको भए पुनः मलाई त्यही अभिमान मेमोरियलमा अंग्रेजी शिक्षिका भएर जाने हौसला आउदैनथ्यो होला । यता मन्टेस्वरीको काम धमाधम भइरहेको थियो । उता, म बिर्सिसकेको मेरो नयाँपुलसँग विद्यार्थीलाई पढाउँदै घुलमिल हँुदै थिएँ । तिम्रो मुटुमा रहेको अभिमान मेमोरियलमा चार पाँच महिना अध्यापन गराउन पाउँदा थोरै भए पनि तिमीलाई केही दिन सके भनेर मनमनै खुसी थिए, मेरो नयाँपुल । शिक्षक सेवा आयोगमा नाम निकालेर तिम्रो सेवा गर्ने सपना बोकेर अभिमानबाट राजीनामा दिएर यता साना बाबुनानीहरुका लागि (learn to play, play to learn) लक्ष्य बोकेर २०७६ बैशाखमा ३ जना बाबुनानीबाट मन्टेस्वरी सञ्चालन गर्न थालें, मेरो नयाँपुल ।
म विगत २ वर्षदेखि निरन्तर तिम्रै काखमा बसिरहँदा भने म थोरै अलमल परेकी थिएँ । तिमीले धेरै संस्थाहरु पाएका रहेछौं । बजार व्यवस्थापन समिति, टोल सुधार समिति, युवा क्लब, खानेपानी समिति, यस्तै अन्य अन्य । टोल भन्ने बितिक्कै म भने फेरि सोच्न थाले । उहीँ हाम्रै पालाको होला कि नयाँ होला मलाई बुझ्न मन लाग्यो र मेरा आमाबुवा मार्फत जान्ने मौका पाएँ । तिमीले ३ वटा टोल बनाइसकेका रहेछौं । करिब ३६५ घरधुरीको तिमी पहिला जस्तो भने पटक्कै थिएनौं । पहिला पहिला जस्तो एकता कता कता हराउन थालेको जस्तो लाग्न थाल्यो । तिमीलाई त ब्यापारिक केन्द्रकै रूपमा मात्र हेर्न थालेको जस्तो लाग्न थाल्यो । गाउँ गाउँबाट आउने व्यापार व्यवसाय गर्ने मनग्ये पैसा कमाएर ठूलाठूला सहरमा बसाइँ सर्ने माध्यमका रूपमा हेर्न थालिएछ तिमीलाई, मेरो नयाँपुल । पहिला पहिला एउटालाई अप्ठेरोे पर्दा सारा नयाँपुलवासीले सहयोग गरेको देखेर हुर्किएकी म अहिले भने पुरै सहरीकरण छोएको जस्तो लाग्न थालेर मैले त्यस्तो ठूलो सेवा त तिमीलाई केही गर्न सकिनँ । तर सानो प्रयास गरेकी थिएँ, मेरो नयाँपुल । चारैतिर तितरवितर भएका मेरा आमा दिदीबहिनीका लागि नयाँपुल आमा समूह गठन गराउन पाउँदा तिमीलाई थोरै सेवा गरेको महसुस भएको छ, मेरो नयाँपुल । तिम्रो काखमा रहेका ३ वटै टोल समेटेर तिम्रै नामको आमा समूह गठन गर्दा पनि मैले धेरै चुनौती सामना गर्नुपरेको थिया, मेरो नयाँपुल । तिमीलाई त सबै छर्लङ्ग थाहा छ नि होइन र ? हुन त मैले कसैको व्यक्तिगत हिस्सा त खोस्न लागेकी थिइनँ तर पनि यस्तो राम्रो सामाजिक कार्य गर्न खोज्दा कतै असफल पो हुन्छु कि भन्दै कंैयौँ रात सोच्दा सोच्दै उज्यालो बनाउँथे। खुट्टा तान्ने व्यक्तिहरु हुँदाहुँदै पनि तिमीले हिम्मत जुटाइदियौं र साथ दिनेहरु प्रशस्तै भेटे । त्यसको नतिजा आज तिम्रै नामको आमा समूह पाएका छौं, तिमीले । मलाई जस्तै अहिलेका नवनियुक्त आमा दिदीबहिनीलाई तिमीले हरक्षण हरपल साथ दिनु है, मेरो नयाँपुल ।
अब ५ वर्षपछि मैले परिकल्पना गरेको मेरो नयाँपुल विकासका परिवर्तनले रिले दौडमा भाग लिएजस्तै गरी पछाइरहने छन् तिमीलाई । एउटा मात्र झोलुङ्गे पुलबाट आफ्नो नाम राखेको तिमी आज आइपुग्दा एक दर्जन भाइबहिनी भित्राइसकेका छौं । पर्यटकीय क्षेत्रमा पनि तिमी अघि बढिसकेका छौं । नजिकै रहेको अन्नपूर्ण माताको मन्दिर र शीतल गुफाको निर्माण कार्यसँगै घान्द्रुकसम्म पक्की बाटो निर्माणले हामी नयाँपुलवासीलाई गौरवको कुरा भएको छ । तिम्रै काखबाट नयाँपुल मुक्तिनाथ केबलकार पनि छिट्टै निर्माण हँुदैछ भने नयाँपुल हेमजा सुरुङमार्गका लागि बजेट विनियोजन भइसकेको छ । अब एउटा कलेज र हस्पिटल भइदिए ५ वर्षपछि फेरि तिम्रै काखमा बसेर बालापनको गीत–‘घर त नयाँपुल, तिमीलाई देखेर परे रनभुल’ सम्झिँदै ठूलो स्वरमा गाउन मन छ, मेरो नयाँपुल ।
(लेखक न्यू ब्रिज इन्क्लुसिभ मन्टेसरी, अन्नपूर्ण–५, नयाँपुलकी प्रिन्सिपल हुनुहुन्छ)








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




