काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको मृत्युदर शून्य

-



     सफल आवाज    
     असार १८ गते २०७८ मा प्रकाशित



काभ्रेपलाञ्चोक, १८ असार । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब ३ महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १ सय २० संक्रमितको मृत्यु भयो । यही अवधिमा जिल्लामा करिब ८ हजारमा कोरोना सङ्क्रमण देखिएको एक तथ्याङ्कले देखाएको छ ।

चार दिनदेखि जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भएको छैन । असार महिना लागेपछि नगन्य मात्रामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भएका छन् । पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमण घट्दै जानु र संक्रमितलाई स्वास्थ्य संस्थाबाट पर्याप्त स्वास्थ्योपचार पाउनुले मृत्युको सङ्ख्या शून्यतामा झरेको बताइन्छ । दैनिक सङ्क्रमणको सङ्ख्या पनि ४० को हाराहारीमा छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या करिब १ सय हुने गरेको कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) को दैनिक तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष भने कोरोना सङ्क्रमणबाट जिल्लाका ४५ को मृत्यु भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म काभ्रेपलाञ्चोकका १६५ को मृत्यु भएको छ । केन्द्रका अनुसार जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ६५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म जिल्लाका ११ हजार ६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसमध्ये तीन हजार गत वर्षका सङ्क्रमित हुन् भने करिब आठ हजार कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयताका हुन् ।

गत वर्षभन्दा बितेका तीन महिनामा अढाई बढी सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत सङ्क्रमित वृद्धि भएका हुन् । तथ्याङ्कअनुसार हालसम्मका कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् १० हजार ५०६ सङक्रमणमुक्त भइसकेका छन् ।

पहिलोपटक विसं २०७७ जेठ १ गते काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारार्थ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएकी ती महिला नेपालमा पहिलो घटना हो ।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा सङ्क्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा सङ्क्रमण र मृत्यु भएको केन्द्रले जनायो।