युनियन लाइफको आइपीओमा पहिलो दिनमै ९१ लाख ६०० आवेदन

- कम्पनीले माग गरेभन्दा १.४१ गुणा बढी आवेदन

-



     आरजू विष्ट सल्यानी    
     असार २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ असार । युनियन लाइफ इन्स्योरेन्सको आजदेखि निष्काशन तथा बिक्रीमा ल्याईएको आइपीओमा पहिलो दिनमै उल्लेखनिय आवेदन परेकाे छ । सर्वसाधारणका लागि जारी गरिएको आइपीओमा पहिलो दिनमै १.४१ गुणा बढी आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे प्रभु क्यापिटलले जनाएको छ ।

बिहिबार बेलुकी ५ बजेको समयसम्म ५ लाख १० हजार ९ सय ४५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ९१ करोड ६० हजार रकम बराबरको ९१ लाख ६०० कित्ता शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले माग गरेभन्दा १.४१ गुणा बढी हो ।

कम्पनीले हाल कायम जारी पूँजी रु.२ अर्ब १५ करोड को ३० प्रतिशत अर्थात रु. ६४ करोड ५० लाख रकम बराबर प्रति शेयर रु. १०० अंकित दरका ६४ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत शेयर बराबर ३ लाख २२ हजार ५०० कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । थप ५ प्रतिशत शेयर बराबर ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि छुट्याएको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीको प्राथमिक निष्काशन (आइपिओ)मा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताले असार २८ गते बेलुकी ५ बजेभित्र आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै शेयरका लागि आवेदन नपरेको खण्डमा ढिलोमा श्रावण ७ गतेसम्म शेयर बिक्री खुला रहने भएको छ ।

आइपिओ निष्काशनका लागि इक्रा रेटिङ्गबाट रेटिङ्ग गराएको कम्पनीले ट्रिपल बि (बिबिबि) रेटिङ्ग पाएको छ । जसको अर्थ वित्तिय दायित्व वहन गर्ने कम्पनीको क्षमतामा औषत जोखिम रहेको भन्ने हुन्छ ।

२०७४ असोज ३१ मा कारोबार स्वीकृति प्राप्त गरी बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्ने बिमकको इजाजत मिति २०७४ असार २० मा प्राप्त गरेको कम्पनीले २०७४ असोज ४ गतेबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।