सबैको लघुवित्त वित्तीय संस्थाको स्थापना दिवसमा रक्तदान

-



     सफल आवाज    
     असार २५ गते २०७८ मा प्रकाशित



दमौली, २५ असार । सबैको लघुवित्त वित्तीय संस्थाको पाँचौ स्थापना दिवस अवसरमा शुक्रबार रक्तदान कार्यक्रम भएको छ । संस्थाको बन्दीपुरस्थित केन्द्रीय कार्यालय परिसरमा भएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको स्थापना दिवस मूल समिति संयोजक किरण कुँवरले बताए ।

कार्यक्रममा रक्तदातालाई संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले प्रमाणपत्र वितरण गरेका थिए ।

संस्थाले स्थापना दिवस अवसरमा वेसीसहरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न वितरण गर्ने जनाएको छ । साथै विभिन्न शाखाबाट पनि रचनात्मक क्रियाकलाप भएको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।

२०७४ आषाढ २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको संस्थाले सोही वर्षको असर ३० देखि विधिवत रुपमा संचालनमा आएको हो । यो राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।

हालसम्म ७ प्रदेशका ४२ जिल्लामा ७७ शाखा कार्यालय, ४ अनुगमन मुकाम, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ८३ वटा कार्यालयको सञ्जालबाट ३०५ जना कर्मचारीले ५३ हजार ७ सय ६९ घरधुरीमा सेवा विस्तार गरेका छन् ।

त्यस्तै लगानीमा रहिरहेको कर्जा ३ अर्ब ४५ करोड रहेको र बचत ९१ करोड १३ लाख रहेको जनाइएको छ ।