युनियन लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     असार २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ असार । शुक्रबारसम्म ११ लाख ७० हजार ९१२ जनाको आवेदन परेको युनियन लाइफ इन्स्योरेन्सकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन हाे । कम्पनीले असार २४ गतेदेखि आइपीओ बिक्री खुल्ला गरेको थियाे ।

कम्पनीले सर्वसाधारणका लागि ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुको लागि छुट्याएको छ । ३ लाख २२ हजार ५०० कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ भने बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो ।

प्रतिशेयर १०० रुपैयाँको दरले घटिमा १० तथा बढीमा ३२ हजार २५० कित्तासम्म आवेदन गर्न सकिने भएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर एपबाट पनि आवेदन दिन सक्नेछन् ।

युनियन लाइफको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । क्यापिटलका अनुसार शुक्रबारसम्म ११ लाख ७० हजार ९१२ जनाको आवेदन परेको छ । यो रकम १ करोड ९६ लाख १ हजार ९३० कित्ता बराबर हो ।

चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रहेको कम्पनीको आइपीओ बिक्रीपछि चुक्ता पूँजी अर्ब १५ करोड पुग्ने भएको छ ।