सवारी कारवाहीबाट ६७ लाख राजश्व

-



     सफल आवाज    
     श्रावण ३ गते २०७८ मा प्रकाशित



गलकोट, ३ साउन । गत आर्थिक वर्षमा बागलुङमा १२ हजार एक सय सवारीसाधान कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कारवाहीमा परेका सवारी चालकबाट ६७ लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधानबाट राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख तथा प्रहरी सहायक निरीक्षक बद्रीनाथ शर्माले जानकारी दिए। “गाउँदेखि शहरसम्म व्यापक मात्रामा ट्राफिक नियमको उल्लङ्न भइरहेको छ”, उनले भने, “यसलाई थप व्यवस्थित बनाउन लागिपरेको छु ।”

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी कार, जीपका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा परेका ५ हजार १ सय ४१ कार जीपबाट २७ लाख ६३ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ । यसैगरी सो अवधिमा कारवाहीमा परेका ३ हजार ८ सय ६८ मोटरसाइकलबाट २३ लाख ९ हजार ५ सय राजश्व सङ्कलन भएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा कारवाहीमा परेका १ हजार ३ सय ६९ ट्याक्टरबाट ७ लाख ३६ हजार ५ सय, १ हजार २ सय ६० ट्रकबाट ७ लाख १३ हजार ५ सय, ४ सय ५३ बसबाट २ लाख ४४ हजार गरी ६७ लाख ७३ हजार ५ सय र अन्य ९ वटा साधानबाट ६ हजार ५ सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख शर्माले बताए।

जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी कारवाहीबाट गत आर्थिक वर्षको साउनमा २ लाख ८३ हजार, भदौमा ३ लाख २२ हजार ५ सय, असोजमा ६ लाख ३ हजार ५ सय, कात्तिकमा ६ लाख १ हजार ५ सय, मङ्सिरमा ६ लाख ६७ हजार ५ सय, पुसमा ७ लाख २ हजार ५ सय, माघमा ७ लाख २३ हजार ५ सय, फागुनमा ७ लाख ४८ हजार ५ सय, चैतमा ७ लाख ५१ हजार, वैशाखमा ५ लाख ५४ हजार, जेठमा ३ लाख १० हजार ५ सय र असारमा ५ लाख ५ हजार ५ सय राजश्व सङ्कलन भएका छन् । ट्राफिक प्रहरीले सबैभन्दा बढी राजश्व चैत महिनामा सङ्कलन गरेको छ ।

चैत महिनामा ७ लाख ५१ हजार सङ्कलन गरेको छ भने सबैभन्दा कम साउन महिनामा गरेको छ । साउन महिनामा २ लाख ८३ हजार मात्रै राजश्व सङ्कलन भएको छ।