प्रतिकूलतामा अनुकूलता खोज्दै गरिएको यात्रा

-


     सफल आवाज    
     श्रावण ५ गते २०७८ मा प्रकाशित


सफल आवाज डटकम सफलतापूर्वक पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । यो खुसी आज हाम्रा समस्त पाठकसामु बाँड्न पाउँदा हामी धन्य भएका छौं ।

धन्यवाद तपाईं आदरणीय पाठक वर्गलाई जसले हामीलाई विश्वास गर्नुभयो । त्यही विश्वासको जगमा हामी उभियौं । पाठक वर्गले दिएको साथ हाम्रा लागि सुखद् अनुभव हो ।

कोभिडको त्राससँगै अनलाइन मिडियाको बाक्लो भिडमा हेलिनु आफैंमा चुनौतीपूर्ण थियो । यस्तो भिडमा उत्तिकै रफ्तारमा सुरुवाती जोस लिएर अघि बढ्न हामीलाई पाठक, विज्ञापनदाता र शुभेच्छुकबाट निकै ठूलो ऊर्जा मिलेको छ । त्यसैले नै हामीले कोभिड १९ को संत्रास र शिथिल अर्थतन्त्रबीच एक वर्षे खुट्किलो पार गर्‍यौं। त्यो चुनौती सामना गर्न सफल भयौं भन्ने हाम्रो विश्वास हो । यो छोटो तर कठिनाइपूर्ण घडी पार गर्दा हामीमा झन् उत्साह थपिएको छ । उत्तिकै आशा छ अनुकूलताको ।

सफलआवाज डटकमको सुरुवात गर्दा हामीमा एक प्रकारको संशय थियो, त्यो हो आमपाठकको नजरमा कहाँनेर हुने हौं । तर हाम्रो सन्देहलाई छोटो अवधिमै हल्का गराइदिएर पाठकवर्गले ठूलो गुन लगाइदिनु भयो । जुन अहिले हाम्रो निरन्तर यात्राको प्रमुख ऊर्जा हो । यस्तै विश्वास र माया आगामी वर्षहरुमा पनि निरन्तर पाउनेमा हामी आशावादी छौं ।

पहिलो वार्षिकोत्सव अवसरमा हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक, लेखक, सहकर्मी साथीहरू तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछौं ।

सफलआवाज डटकमले पाठकको चाहना र आवश्यकतालाई प्रमुख प्राथमिकतामा राखेर राष्ट्रिय राजनीतिदेखि आर्थिक, शैक्षिक, सामाजिक र अन्य समसामयिक विषय तथा अन्तर्राष्ट्रिय चासोका खबर समेट्दै आएको छ । पाठकको रुचिलाई ध्यानमा राख्दै स्तरीय सामग्रीको प्रकाशनमा जोड दिइरहेको छ ।

गत वर्ष झैं यहाँहरुको माया, सद्भाव, सुझाव र सकारात्मक प्रतिक्रिया हामी सम्मानसहित ग्रहण गर्नेछौं । पाठकको सुझाव हाम्रा लागि सदैव मार्गदर्शन हुने छन् । धन्यवाद,

दुर्गाप्रसाद हुमागाईं
प्रकाशक एवं प्रबन्ध सम्पादक