आन्तरिक राजश्व कार्यालयकाे लक्ष्यभन्दा ३ प्रतिशत कम राजश्व संकलन

-



     सफल आवाज    
     श्रावण ५ गते २०७८ मा प्रकाशित



पोखरा, ५ साउन । आन्तरिक राजश्व कार्यालय पाेखराले गत आर्थिक वर्षमा राजश्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेन । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा ३ प्रतिशत कम राजश्व उठाएको हो ।

गत आवमा ४ अर्ब ८२ करोड २७ लाख ८५ हजार राजश्व उठाउने लक्ष्य लिइएकामा ४ अर्ब ६७ करोड ८५ लाख ९५ हजार सङ्कलन भएको कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए । उनका अनुसार ९७ दशमलव एक प्रतिशत राजश्व जम्मा भएको छ ।

उक्त कार्यालय आव २०७६/७७ को तुलनामा भने राजश्व सङ्कलनको लक्ष्य नजीक पुगेको छ । सो आवमा ५ अर्ब ६१ करोड ६७ लाख राजश्व उठाउने लक्ष्य रहेकामा ४ अर्ब ३ करोड ११ लाख मात्र सङ्कलन भएको थियो । जुन लक्ष्यभन्दा २९ प्रतिशत न्यून थियो । लामिछानेले राजश्व सङ्कलन सन्तोषजनक रहेको बताए। उनले भने, “राजश्वको शत्प्रतिशत लक्ष्य पूरा नभए पनि लक्ष्यको नजीक पुग्न सफल भयौँ । भुक्तानी टिडिएसहरु समयमै दाखिला नभएको र कोरोनाका कारण व्यापार–व्यवसायमा समेत असर पुगेकाले राजश्वमा केही कम भएको हो ।”

आव २०७७/७८ मा आयकरतर्फ २ अर्ब ८५ करोड राजश्व सङ्कलन भएको छ । जुन लक्ष्यभन्दा बढी हो । २ अर्ब ७७ करोड ८६ लाख आयकरबाट राजश्व उठाउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । यसैगरी मूल्य अभिवृद्धि करबाट १ अर्ब २९ करोड २० लाख, अन्तःशुल्कबाट १९ करोड ८५ लाख ६३ हजार, करको ब्याजबाट २८ करोड ५ लाख ८६ हजार, घरभाडा करबाट ५ करोड ५४ लाख ९६ हजार, स्वास्थ्य सेवा करबाट रु १२ लाख २२ हजार र शिक्षा करबाट ४ लाख ५३ हजार राजश्व दाखिला भएको सूचना अधिकारी लामिछानेले जानकारी दिए।

उक्त कार्यालयमा गत वर्षमा ३० हजार ८ सय ९२ करदाता थपिएका थिए । आव २०७६/७७ को असार मसान्तसम्म १ लाख ३४ हजार ६ सय ७० करदाता भएकामा गत आवमा ३० हजार ८ सय ९२ करदाता बढेर १ लाख ६५ हजार ५ सय ६२ पुगेका हुन् । गत असार मसान्तसम्म व्यक्तिगत प्यानमा १ लाख ९ हजार ३ सय ५२ र व्यावसायिक प्यानमा ५६ हजार १ सय ५८ करदाता दर्ता भएको राजश्व कार्यालयले जनाएको छ ।