भारतमा थप ३० हजार नयाँ संक्रमित, ४१ करोडलाई खोप

-



     सफल आवाज    
     श्रावण ५ गते २०७८ मा प्रकाशित



काठमाडाै, ५ साउन । भारतमा कोरोनाभाइरसबाट नयाँ ३० हजार ९३ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १ सय २५ दिनमा सबभन्दा कम भएको बताइएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या ३ करोड ११ लाख ७४ हजारभन्दा बढी पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ४ लाख ६ हजार १ सय ३० रहेको अधिकारीले जनाएका छन् ।

पछिल्लो १ दिनमा कोरोनाभाइरसका कारण थप ३ सय ७४ जनाको मृत्यु भएको पनि मन्त्रालयले मंगलबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म ४ लाख १४ हजार ४ सय ८२ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ४५ हजार २ सय ५४ कोरोना मुक्त भएपछि भारतमा ३ करोड ३ लाख ५३ हजार ७ सय १० व्यक्ति कोरोना मुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ७३ लाख ४१ हजार १ सय ३३ जनाको स्वाब परीक्षण गरिएको छ । तीमध्ये १७ लाख ९२ हजार ३ सय ३६ जनाको स्वाब परीक्षण जुलाई १९ का दिन भएको छ ।

त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड १८ लाख ४६ हजार ४ सय १ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।(रासस/एएनआई)