
गण्डकी प्रदेशमा मन्त्रीको शपथ खान शुक्रबार गृहजिल्ला तनहुँबाट हतारिदै पोखरा गएका सांसद डोवाटे विकको नाम अन्तिममा काटियो । मन्त्रीको सपथ लिन गएका डोवाटे बिच बाटोमै छोडिए । डोवाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका बुवा गोवर्धन पोखरेलले राजनीतिमा ल्याएका थिए । २०३६ साल यता सक्रिय राजनीतिमा लागेका डोवाटे विभिन्न राजनीतिक घटनाक्रमका साँक्षी बसे । राजनीतिक वृत्तमा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा डोवाटेलाई मन्त्री नबनाईएको चर्चा छ । उनै डोवाटेसंग पत्रकार अशोक विश्वकर्माले पछिल्लो घटनाक्रमबारे कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।
गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको शुक्रबारको क्षणलाई कसरी सम्झिनु भएको छ, तपाईले ?
यो क्षण मेरो लागी निकै दुखद रह्यो । शुक्रबार जे भयो मेरो लागि मात्र भन्दा पनि यो सिंगो दलित समुदायमाथि गरिएको उपेक्षामा रुपमा लिनुपर्दछ । एउटा न्यून वर्ग र समुदायबाट निरन्तर रुपमा पार्टीमा त्याग सर्मपण गरिदाँ अवसर पाउने बेलामा विमुख बनाउनुलाई अझै पनि मेरो समुदाय र यो समुदायबाट प्रतिनिधित्व गर्नेहरुलाई कसरी हेरिदो रहेछ भन्ने राम्रोसँग अनुभूत गरेको छु । झण्डै ४२ बर्षसम्म राजनीतिक रुपमा सक्रिय भईरहदाँ यो पल निकै पिडादायी र अन्यायपूर्ण रहेको ठान्दछु ।
पूर्वनिश्चित मन्त्रीहरुकै लिस्टबाट आफ्नो नाम अन्तिम समयमा किन काटियो ?
यो विषयमा त्यति धेरै बोल्नुपर्छ जस्तो मलाई लाग्दैन । सबैलाई थाहा भैसक्यो । यस बीचमा जति पनि जानकार र मिडियाले सबै कुरा बाहिर ल्याईसकेका छन् । प्रमुख विषय ममाथि पुर्वाग्रह राख्ने साथीहरु र पार्टी भित्र मौलाएको गुट उपगुटको असर हुन सक्छ ।
यस घटनालाई पार्टीभित्र पौडेल पक्षलाई कमजोर देखाउन खेलिएको खेल हो भन्नेहरु पनि छन् नि?
पार्टीमा राचन्द्र पौडेलको जुन किसिमको छवि छ, त्यसविरुद्ध लाग्नु त पार्टीका लागि निकै घातक हुन्छ भन्ने मैले बुझेको छु । किन त्यस्तो अस्वस्थ खेल खेल्नुपर्याे यो जरुरी पनि छैन । म त पार्टीमा आफ्नो योगदान सम्मान गरिएको भन्नेमा ढुक्क थिएँ । यसरी खेल खेल्नु नै थियो भने त मलाई कुनै जानकारी नै नदिएको भए हुने थियो । मेरो स्वभावले पनि यो सब हुन दिदैन्थ्यो । म जहिले पनि शान्तिको पक्षमा रहेँ, रिजर्भ नै बसे । त्यस्तो छक्कापञ्जा गर्न पनि कहिल्यै जानिएन।
निष्ठाको राजनीति गर्नेहरुलाई समुदाय र आर्थिक पक्षले पनि असर पर्दाे रहेछ ?
त्यस्तो हुनु हुँदैन तर यस्तो भएको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । निष्ठाको राजनीति गरेँ । पार्टीले योगदानको सम्मान गरेन तर एक दिन यो विषयले पार्टी पंक्तिमा स्थान पाउँछ । बलजफ्ती गर्ने र अर्थले सम्पन्न हुनेहरु पार्टीमा हावि हुने भने हाम्रो पार्टी नेपाली काँग्रेसमात्र होइन कुनै पनि पार्टीमा लगनशील भएर लाग्ने नेता कार्यकर्ताको अभाव हुनेछ । अन्तत पार्टीको भविष्य रहँदैन । अब मेरै कुरा गर्ने हो भने पनि न्यून वर्गीय समुदायबाट राजनीतिमा लागेको, त्यस्तो सम्पन्न परिवारबाट पनि हैन फेरि चरित्र पनि बलमिच्याई गर्ने स्वभाव ममा छैन ।
राजनीतिमा बेलाबखत् हुने यस्ता घटनाले भविष्यमा कस्तो प्रभाव पार्छ ?
पार्टीमा सच्चा कार्यकर्ताको अभाव हुने अवस्था यस्ता घटनाले निम्त्याउने हो । पार्टी सञ्चालनका लागि सबैखाले स्वभाव चरित्र भएका नेता कार्यकर्ता हुनुपर्दछ । तर नेतृत्वमा पार्टीको साख जोगाउन उचित निर्णय गर्न सक्ने क्षमता हुनुपर्दछ । यसरी एउटा पक्षले पार्टी र राजनीतिक प्रभाव देखाउने वा पार्ने विषयले हामी जस्ता कार्यकर्ता तहमा नैरास्यता बाहेक के हुन सक्छ ।
अबको दिनमा सरकार र पार्टीमा तपाईको भूमिका कस्तो रहन्छ ?
पार्टीभित्र देखिएको यस किसिमको क्रियाकलाको अन्तरविरोध गर्नुपर्ने आवश्यकता छ । त्यस्तो सार्वजनिक रुपमा विरोधका भाषा र कार्यक्रमहरु गर्नु एक कार्यकर्ताका लागि उचित होइन । पार्टीले जुन तरिकाले बोलेको छ सोही कुरालाई ब्यवहारमा देखाउनु जरुरी छ । दलितको पक्षमा, महिलाको पक्षमा र यो विषम परिस्थितिलाई टार्न प्रदेश सरकार जे बोलेको छ त्यो हुनुपर्दछ । यो विषयमा म एक पार्टीका सदस्य तथा प्रदेश सभा सदस्य भएको नाताले बोलिएका कुरा र पार्टीको सिद्धान्त विपरीत भएका कार्यकाे सदनबाटै पनि विरोध हुन्छ ।
तपाईप्रति शुभेच्छा राख्ने शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ ?
खास त्यस्तो भन्नुपर्ने केही छैन । शुक्रबारको घटनापछि मप्रति देखाउनुभएको चासो, चिन्ता र शुभेच्छाले मलाई ऊर्जा मिलेको छ । यति लामो राजनीतिक यात्रामा मैले त्यस्तो खास प्रभाव नपारेको हुँला, अहिले मेरो पक्षमा जनभावना सकरात्मक रहेको पाएँ । मप्रति देखाउनुभएको चासोको लागि तपाईहरु सहित विशेषगरी मिडियालाई धन्यवाद ब्यक्त गर्न चाहन्छु । आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा तपाईलाई पनि धन्यवाद छ ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




