खराब कर्जा उठेपछि सूर्योदय लघुवित्तको नाफामा उछाल

-



     सफल आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ साउन । यतिबेलाको समयमा लघुवित्तहरु बढी चलायमान भईरहेका छन् । उनीहरुले चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु सार्वजनिक गरिरहेका छन् भने शेयर बजारमा पनि लघुवित्तप्रतिको आकर्षण बढ्दो क्रममा देखिएको छ ।

लाभको हिसाबले र उनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरुले नाफा कमाएका देखिन्छन् । यस्तैमा सूर्योदय लघुवित्त वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ ।

कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार अघिल्लो वर्षको भन्दा १४८.७४ प्रतिशतले नाफा बढेको छ । यसअघिको नाफा ४ करोड २४ लाख रहेको थियो ।

निष्किृय कर्जा बढेको छ । कम्पनीले संभावित जोखिमलाई उठाउन त्यसका लागि रकमको जोहो गर्नु परेकोले संचालन मुनाफा कम भएपनि खराब कर्जा उठाउन सक्षम भएकै कारणले संस्थाले खुद नाफा बढेको जनाएको छ ।

संस्थाको समिक्षा अवधिमा खुद ब्याज आम्दानी ४५.३१ प्रतिशत बढेको पाईएको छ । यो बढेको २९ करोड १७ लाख रुपैयाँ हो । अघिल्ला पटक यो आम्दानी २० करोड ७ लाख रुपैयाँमा सिमित रहेको थियो । संस्थाको ८ करोड ३७ लाख संचालन घाटा भएको छ । अघिल्लो पटक संचालन मुनाफा ५ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा संस्थाले २ अर्ब ३२ करेड सापटी लिएको छ । ३ अर्ब ६२ करोड रुपैयाँ कर्जाा प्रवाह गरेको छ । अघिल्लो पटक १ अर्ब ६९ लाख रुपैयाँ सापटी लिएर १ अर्ब ६२ करोड कर्जा परिचालन गरिएको थियो ।

संस्थाको जगेडा कोषमा पनि बृद्धि भएको छ । अहिले कोषको रकम १८ करोड ३१ लाख पुगेको छ । अघिल्लो पटक यो ११ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

सूर्योदय लघुवित्तको चुक्ता पूँजी २४ करोड ८० लाख रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी ४२.५८ रुपैयाँ रहेको छ भने नेटवर्थ १७३.८५ रुपैया रहेको छ ।