निषेधाज्ञाको कारण सामलिङ पावरले सार्यो आइपीओमा आवेदन दिने म्याद

-



     सफल आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० साउन । सामलिङ पावर कम्पनीले साउन २२ गतेबाट सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्रीको तयारी गरेपनि जारि निषेधाज्ञाको कारण मिति पछाडी सारेको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले साउन २२ गतेबाट आइपीओ निष्काशन खुल्ला गर्ने बताएको थियो ।

आयोजना रहेको जिल्ला इलाममा साउन १८ देखि साउनको २५ गतेसम्म निषेधाज्ञा लागू गरिएको कारण कम्पनीले आइपीओमा आवेदन दिने म्याद पछि सारेको जनाएको छ । कम्पनीका अनुसार छिटट्टै अर्को नयाँ सूचना जारि गरेर आवेदन खुल्ला गरिने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट साधारण शेयर आइपीओ निष्काशनको अनुमति प्राप्त गरेपछि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियको लागि आइपीओ निष्काशन तथा बिक्री गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ मूल्य अंकित ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो ।

कुल शेयरबाट ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र इलामका जनताका लागि र बाँकी हुने २ लाख कित्ता शेयर आयोजना क्षेत्र वरपरका अति प्रभावित इलाम नगरपालिकाका वडा नं ८ र १०, माईजोगाई गाउँपालिका वडा नं ४ र ५ का बासिन्दाहरुका लागि रहेको छ ।

शेयरमा आवेदन दिने म्याद भदौ ४ गतेसम्म रहेको छ । तोकिएको म्यादभित्र आवेदन नपरेको खण्डमा ढिलोमा भदौ २० गतेसम्म आवेदन दिन पाईने भएको छ ।

लगानी गर्न चाहने लगानीकर्ताले नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक तथा लक्ष्मी बैंकका इलाममा शाखा कार्यालयबाट आवेदन पेश गर्न सक्नेछन् । यसका साथै सिआस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाईने भएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।