
काठमाडाै, २३ साउन । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब ५ लाख मात्रा खोप शनिबार काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको ५ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।
जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै भोलि थप ३ लाख खोप नेपाल आउनेछ । जापानले दिने भनेको बाँकी खोप १ साताभित्र नेपाल आउने मन्त्रालयले जनाएको छ ।
शुक्रबार भुटानबाट पनि २ लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ । नेपालले खरिद गरेको खोप भारतले उपलब्ध नगराउँदा कोभिशिल्ड खोप लगाएका १४ लाख ५० हजार व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् । जापान र भुटानबाट आएको खोप कोभिशिल्डको दोस्रो मात्रा नपाएका नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ । हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप नेपाल आइपुगेको छ ।
नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन ।
यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरेको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै संक्रमण फैलन सक्ने देखिएपछि सरकारले एक हजार ४३३ खोप केन्द्र थप गरेको हो ।
पहिले दुई हजार ९८९ खोप केन्द्र भएकामा अहिले त्यो संख्या चार हजार ४२२ पु¥याइएको छ । काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पु¥याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।
सरकारले आगामी असोज मसान्तभित्र एक तिहाइ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । यस्तै आगामी चैत मसान्तभित्र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई पूर्ण खोप लगाउने लक्ष्यका साथ सरकार अघि बढेको छ ।
२०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरू गरिएको थियो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ व्यक्तिले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ ले पूर्णमात्रामा खोप लगाइसकेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




