
तीर्थ श्रेष्ठ ! मेरो मनपर्ने कवि त हुन् नै। त्योभन्दा पर तीसको दशकमा उदाएको हाम्रो कवि पुस्ताको प्रतिनिधि कवि हुन्। सरल र सम्प्रेष्य भाषामा तीव्र अनुभूतिका साथ जीवन र जनजीवनलाई छुँदै लेखिएका उनका कविता नेपाली साहित्यका अमूल्य सम्पत्ति हुन्। साथीको पनि आ-आफ्नै सीमा र स्वभाव हुन्छ । धक नमानीकन मनका कुरा खोल्ने सम्बन्ध छ हामी बीच। तीर्थ श्रेष्ठ मेरो मन मिल्ने पनि साथी हुन् । प्रजातन्त्रप्रति सदैव आस्थावान तीर्थ-कुनै समय राजनीतिमा सक्रिय थिए भने सामाजसेवाप्रतिको उनको शुरुदेखिको लगाव अहिले उनको दैनिकी जस्तै बनेको छ।
२०१६ साल कार्तिक १६ गते पोखरामा जन्मेका तीर्थ अहिले पनि पोखरामै बस्छन् र पोखराकै लागि बढी सोच्छन् , पोखराकै लागि बढी खट्छन्। पोखरा, देशको प्राकृतिक राजधानी हो। तर म पोखरा सम्झँदा फेवाताल र माछापुच्छ्रे हिमाल संगसंगै तीर्थलाई सम्झन्छु। अथवा भनूँ तीर्थ नहाँसेको पोखरा, मलाई पोखरा जस्तै लाग्दैन। एकिनसाथ भन्न नसके पनि तीर्थसंग मेरो पहिलो भेट २०३७ साल भदौमा पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको “टिकटमा मुक्तक कार्यक्रम” मा भाग लिन जाँदा पोखरामा भएको हो जस्तो लाग्छ। किनभने म पहिलोपटक पोखरा गएको भनेकै त्यही बेला हो। भेटिएका सबैजनासँग नछुट्टिने सम्बन्ध बन्दैन। तीर्थसँग बन्यो।
थाहै नपाई सम्बन्धमा प्रगाढता आयो । म सम्झन्छु – त्यो समय चिट्ठीपत्रको समय थियो। भेटेरै कुरा गर्ने अवसर कमै जुर्थ्यो । हामी लेखेर मन भर्थ्यौं। कहिले `गौरीशंकर किल्ला उद्योग´ त कहिले `रत्न बस्त्र भण्डार´ त कहिले `मोहन ब्रदर्श´को लेटरप्याडमा तीर्थले लेखेका एक दर्जनभन्दा बढी चिट्ठीहरु मसँग अहिले पनि सुरक्षित छन्। तीर्थका ती चिट्ठीहरु अहिले पनि भनिरहेछन्-एउटा खुट्टा जेलभित्र र अर्को खुट्टा जेलबाहिर राखेर बाँचिरहेछु । नेबिसंघको भूपू अध्यक्ष हुनुको परिणति!..( २०३८/१/१) बिहेको निम्तो पाएकै हुनपर्छ अथवा त्यस बिषयमा सुनेकै हुनुपर्छ। बिहे गरें। जिन्दगीमा गर्नै पर्ने एउटा कामबाट मुक्त भएँ। लेख्नै पर्ने कुराहरु त केही छैनन्, यद्यपि एउटा मन छ जो लेख्न बाध्य गराइरहेछ। दिनेश, साँचोमा हामी भेटिनै हुँदैनथ्यो अथवा भेटिए पनि मनदेखि मनसम्म पुल बनाउन हुँदैनथ्यो ।
थाहै नपाई सम्बन्धमा प्रगाढता आयो । म सम्झन्छु – त्यो समय चिट्ठीपत्रको समय थियो। भेटेरै कुरा गर्ने अवसर कमै जुर्थ्यो । हामी लेखेर मन भर्थ्यौं। कहिले `गौरीशंकर किल्ला उद्योग´ त कहिले `रत्न बस्त्र भण्डार´ त कहिले `मोहन ब्रदर्श´को लेटरप्याडमा तीर्थले लेखेका एक दर्जनभन्दा बढी चिट्ठीहरु मसँग अहिले पनि सुरक्षित छन्।
( २०३८/ ०२/२३) म जे लेख्छु, त्यसैलाई (आफूले भोगेको आकाशलाई- दिनेश) साक्षी राखेर लेख्छु।(२०३८/०७/१९) मेरो निम्ति मात्र भए पनि दिनेश अधिकारीलाई फ्रस्टेड हुने अधिकार छैन। कसम खाउ ! जिन्दगीमा कहिल्यै लेख्न छोड्ने छैनौ। ( २०३९/०२/२३) लेखनका कुरामा आफूले केही प्रगति गर्न सकिएन र पनि दु:ख छैन। अझै पनि लेख्नमा भन्दा पोखरामा साहित्यिक कार्यक्रमहरुको आयोजनामा संलग्न भइरहुँ झै लाग्छ। एक प्रकारले लागिरहेको पनि छु। ( २०४०/०४/ २६)…तिमीले कविता लेख्न छोड्यौ भने मैले मित्रता राखिरहनुको कुनै अर्थ रहँदैन।
(२०४१/०१/०६)• साहित्य कुनै पनि `वाद´ को बैशाखी टेकेर बाँच्दैन र कुनै पनि व्यक्ति (रचनाधर्मी) को मूल्याङ्कन कुनै पनि `वाद´कोआधारमा हुन सक्तैन । हामीले हाम्रो लेखनबाट कुनै मार्ग देखाउन सक्यौं भने त्यो नै भोलिको पुस्ताले हामीलाई सम्झने आधार बन्छ। (२०४२/०६/०९) र, यस्तै अरु पनि! जीवन, संघर्ष, साहित्य, मित्रता र पोखरा माथि तीर्थको सोच, समझदारी र दृष्टिकोणका बारेमा बुझ्न, मलाई लाग्छ, चिट्ठीका यिनै केही हरफहरु नै पर्याप्त छन्।
तीर्थ र म दुवैजना कविता र गीत लेख्छौं। तर तीर्थको काव्यकारिता मेरोभन्दा धेरै फराकिलो छ।कविता र गीतका अतिरिक्त तीर्थको लेखन उस्तै प्रभावकारी रुपमा मुक्तक र गजलसम्म फैलिएको छ। २०२९ सालदेखि तीर्थका रचनाहरु पत्रपत्रिकामा छापिन थाले पनि २०५५ सालमा आएर बल्ल पुस्तकाकारमा उनको पहिलो कवितासङ्ग्रह निस्कियो । यसका लागि उनलाई साथीभाइले निक्कै घचघच्याउनु परेको थियो। तीर्थ श्रेष्ठका कविताहरु (२०५५), जिन्दगीको कुरुक्षेत्रबाट (२०५८), र धर्सैधर्साको चक्रव्यूह (२०७६) हालसम्म प्रकाशित उनका कवितासङग्रह हुन् “पाइलाका निबहरुले” (२०५८) शीर्षकको संयुक्त कवितासङ्ग्रह पनि (मञ्जुल र कुमार आलेको साथमा) प्रकाशनमा आएको छ।
जिन्दगीको गोधूलीमा (२०६०) र महाभारतका गीतहरु (२०६२) उनको नाममा रहेका मुक्तकसङ्ग्रह हुन् भने ” मेरै हिमाल जस्तो” (२०६८) उनको गीतसङ्ग्रह हो। तीर्थका केही गीतहरु रेकर्ड भै प्रचारप्रसारमा आएका मात्र होइन उत्तिकै रुचाइएका पनि छन्। नेपाल पुकार, प्राङ्गण ( त्रैमासिक) का अतिरिक्त संयुक्तरूपमा भूपी स्मृति-ग्रन्थ समेत सम्पादन गरेका तीर्थ श्रेष्ठ राष्ट्रिय प्रतिभा पुरस्कार, मोती पुरस्कार लगायतका विभिन्न पुरस्कार/सम्मान र विभूषणद्वारा सम्मानित छन्।
खासगरी साहित्यिक/साङ्गीतिक सन्दर्भमा “पोखरेली युवा सांस्कृतिक परिवार” पोखराको साझा गौरवको रुपमा रहेको संस्था हो। २०३४ सालमा स्थापित यो संस्थाको नेतृत्व वा जिम्मेवारी एकपछि अर्को युवा वा युवा-उमेर समूहले सम्हाल्दै आएको यथार्थ म आफैंले पनि २०३७/३८ सालदेखि देख्दै आएकोछु। टिकटमा “मुक्तक कार्यक्रम” पो.यु.सा.प. ले आयोजना गरे मध्येको एउटा ऐतिहासिक कार्यक्रम हो। यसले यस्ता धेरै नवीन ढङ्गका महत्त्वपूर्ण कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ। २०४० को दशकमा तीर्थ यसका अध्यक्ष थिए। मुक्तक कार्यक्रमहरुमा भाग लिए बाहेक प्रखर कवि तथा उपन्यासकार सरस्वती प्रतीक्षाले नेतृत्व सम्हालिरहनु भएको बेला २०७० साल माघ ४ गते पो. यु.सा.प. को ब्यानरमुनि सौभाग्यवस् मैले पनि एकल कवितावाचन गर्ने अवसर पाएको थिएँ। भन्नु परोइन यसको तारतम्य मिलाउने काम भने तीर्थले नै गरेका थिए र मञ्चमा मलाई चिनाउने जिम्मा पनि उनैले लिएका थिए।
उत्कृष्ट सिर्जना गर्नु र राम्ररी संस्था /संगठन चलाउनु फरक कुरा हुन्। तीर्थ दुबै कुरामा निपूर्ण छन्। संभवत: राजनीतिप्रतिको उनको शुरुदेखिको रुचिले पनि उनमा यो क्षमता विकसित भएको हुनुपर्छ। पञ्चायती शासन व्यवस्थालाई नै उपयोग गरेर त्यसको बिरुध्द जनमत तयार गर्दै प्रजातन्त्रको जगेर्ना गर्ने नेपाली काँग्रेसको तत्कालीन नीति अनुरुप २०४३ सालमा भएको स्थानीय तहको निर्वाचनमा भाग लिई तीर्थले पोखरा नगरपञ्चायतको उप-प्रधानपञ्चको जिम्मेवारी पनि सम्हालेका थिए। २०४६ सालमा पञ्चायती व्यवस्था कायम नरहेपछि वैकल्पिक उपाय खोज्नु पर्ने बाध्यता पनि सकियो। तीर्थहरुले प्रतिस्पर्धा गरेको स्थानीय तहको त्यो निर्वाचन नै पञ्चायती व्यवस्थाको अन्तिम निर्वाचन हुन पुग्यो। तीर्थ अहिले सक्रिय राजनीतिमा छैनन् । तर सामाजिक जिम्मेवारी वहन गर्ने उनको अभिरुचिमा भने पटक्कै कमी आएको छैन।
फेवाताल संरक्षणदेखि लिएर पोखरामा एउटा राम्रो “सिर्जना ग्राम” बनाउने धुनमा लागिरहेका तीर्थ लामो समयदेखि विन्ध्यवासिनि धार्मिक क्षेत्र विकास समितिमा सदस्य-सचिवको जिम्मेवारी बहन गरिरहेका छन्। त्यसैले उनी घरि गुरुकुलको व्यवस्थापन त घरि जेष्ठ नागरिकहरुका दिवा-गृह सञ्चालनको धुनमा चक्कर काटिरहेका भेटिन्छन् । पहिलोपटक गठित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको सदस्य-सचिवको जिम्मेवारीबाट अलग भएपछि तीर्थ अहिले नजानिदो ढङ्गबाट, खासगरी पोखराको सेरोफेरोमा, साहित्यिक अभिभावकको भूमिका निर्वाह गरिरहेका छन् भन्ने मेरो ठम्याइ छ।
लेख्दै गए तीर्थका बारेमा लेख्ने धेरै कुराहरु छन्। केही त उनका र मेरा एकल कार्यक्रममा परस्पर सहभागीताका रमाइला प्रसंगहरु पनि छन्। केही “मन बिसाउने चौतारी” जस्ता सन्दर्भहरु पनि छन्। अहिले त्यतातिर नलागूँ र यत्ति मात्रै भनूँ-मानवीयता र त्यसको सेरोफेरोमा तीर्थको हार्दिकता उनीसँग सङ्गत गरेका शायदै कसैले बिर्सन सक्छन्।

तीर्थसँगका तस्वीरहरु धेरै छन्। नेपालयद्वारा प्रकाशित तीर्थको कवितासङ्ग्रह” धर्सैधर्साको चक्रव्यूह” को विमोचन १० असोज, २०७६ का दिन नेपालयको प्रेक्षालयमा सम्पन्न भएको थियो । पहिलो तस्वीर त्यही कार्यक्रमको उपज हो। दोस्रो तस्वीर २०५७ साल भदौमा काठमाडौं स्थित मेरो घर- कोठामा भाइ कुमार आलेले खिचिदिनु भएको तीर्थ र मेरो तस्वीर हो भने तेस्रो चाँही २०५४ सालमा पोखरा स्थित तीर्थको घर-पसलमा खिचिएको हामी दुइको तस्वीर हो ।
अन्तिम चाँही २० जेठ २०४१ सालमा पाल्पामा सम्पन्न “राष्ट्रिय कविता गोष्ठी” मा भाग लिन जाँदा श्रीनगर डाँडामा खिचिएको तस्वीर हो। तस्वीरको बीचमा तीर्थ छन् र छेउछेउमा चाँही विष्णुविभु घिमिरे र म बसेका छौं। तस्वीरहरु सम्झनाका पाइला पनि त हुन् नि!








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




