ज्ञान, विज्ञान, शिक्षा एवम् दक्ष जनशक्ति विकास

-


     सफल आवाज    
     श्रावण ३० गते २०७८ मा प्रकाशित


पृष्ठभूमि

नेपाल आर्य सनातनी ॐकार परिवारका सदस्यहरुको बाहुल्यताको देश हो । मानवीय उच्चस्तरको चेतना तथा आध्यात्मिक मूल आधार हिमाली राज्यको विशिष्टता हो । अनेकाैं ऋषि, महर्षि तथा सिद्ध महापुरुषहरुको जन्म, कर्म तथा तपोभूमिका रुपमा प्रख्यात नेपालको धार्मिक, सांस्कृतिक विशेषता विश्व जगतमा अनुपम छ । पौराणिक तथा ऐतिहासिक कालखण्ड हुँदै आधुनिक समयसम्म हाम्रा पूर्खाका विशिष्टताका कार्य तथा आस्थागत विश्वासको जगलाई बलियो पार्ने तथा संरणमा सहयोगी हुने बौद्धिक खुराकका सामग्रीहरु पुस्तकमा प्रकाशित तथा पुराना लेखोटहरुमा पाइन्छन् ।

यी अमूल्य पूर्वीय दर्शनशास्त्र सम्बद्ध सामग्रीहरु व्यवस्थित हुन सकेका छन् । अनुसन्धाता–उदाहरणका लागि योगीराज नरहरिनाथ) को मृत्यु वा अवसान पछि–मृगस्थलीमा योगीबाट संकलित ऐतिहासिक दस्तावेजहरुको चिन्ता, आग लागी) अभिभावकत्व विहिन भएर नष्ट हुने वा खोज अनुसन्धानको अभावमा यत्रतत्र छिरलिएर नाश हुने क्रममा रहेका छन्, यस्ता घटना सार्वजनिक नभइकन धेरैतिर भएको हुन सक्छ ।

मुलुकको आन्तरिक द्वन्द्वकालमा पूर्वीय ज्ञान विज्ञानमाथि प्रहार हुने गरी नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा रहेका दुर्लभ पुस्तक जलाएर गरिएको प्राज्ञिक, बौद्धिक तथा ऐतिहासिक क्षतिको मूल्य राज्यले के कति चुकाउनु पर्ने हो ? त्यसको हिसाबकिताब छैन । राजनीति र अग्रगमनका नाममा ऐतिहासिकता, पौराणिकता र आस्थाका धरोहर सिद्ध पुरुषहरुको पौरुषार्थको अवमूल्यन हुने व्यवहार दुखद् तथा निन्दनीय त हुन्छ नै । भावी पुस्ताले हामीबाट के सिक्लान् र संस्कृति तथा ज्ञानविज्ञानको संरक्षण कसरी होला ? भन्ने ठूलो दुख तथा चिन्ताको विषय बनेको छ ।

नेपालको प्राकृतिक वातावरणीय विशेषता अनुरुप हाम्रा पूर्खाले अवलम्बन गरेका हिमाली, पहाडी, तराई तथा मधेशका भाषा, संस्कृति, पेसा व्यवसाय र ऐतिहासिक महत्ताका सबै सिकाइका विषयवस्तुको खोजी खोजी प्रबर्धन तथा जगेर्ना गर्न शिक्षा प्रणाली र सीपको क्षेत्र लाग्नु पर्ने बेला आएको छ । यसर्थ नेपाल भित्रका जनताले विश्वास गर्ने तथा आस्था राख्ने सबै धर्म, संस्कति, रीतिरिवाज र सांस्कृतिक तथा धार्मिक मूल्यमान्यताहरु नै हाम्रा पहिचान तथा विशिष्टता हुन भन्ने गर्व गर्ने जनशक्ति मुलुकलाई चाहिएको छ । तसर्थ स्थानीय तहको पठनपाठनमा मुलुकका स्थानीय विषयवस्तुहरु समावेश गर्दै हिमाली राज्यको पूर्वीय आदर्शता तथा सभ्यताको उच्चता विश्व नागरिक समाजलाई हस्तान्तरण गर्न, गराउन आवश्यक छ ।

प्राचीनकालीन ज्ञान विज्ञानका स्रोत

शिक्षा पद्धतिको प्रारम्भमा दैवी तथा दैत्यशक्तिप्रतिको अटल आस्था र विश्वास प्राचीन ज्ञानविज्ञानका मुख्य स्रोत थिए । मन्त्र, तन्त्र र यन्त्रको वशीभूत मानवहरु मात्र होइन, देवदेवी पनि हुन्थे भन्ने विश्वास गरिन्थ्यो । सत्व, रज तम गुणका प्रतीक सेतो स्वच्छ सादगी वेशभूषाका ब्रह्मा तथा सरस्वती, रज प्रवृत्तिका पिताम्बरधारी आभूणणले सजिएका विष्ण’ तथा महालक्ष्मी, तम प्राध्यान्यता भाङ् धतुरोमा मस्त नागको माला र बाघको छाला, भष्म नै भष्मधारी शिव तथा चण्डमुण्डधारी महाकाली हुन् भन्ने मूल्यमान्यताको राज विश्वमा धेरै समय चलेको पाइन्छ ।

स्रष्टा, रक्षक र संहारकका रुपमा ब्रह्मा, विष्णु र शिवको मूल्यमान्यता ज्ञान विज्ञानको व्यवहारिक पक्षबाट विश्लेषण गर्दा ब्रह्मा तथा सरस्वती अबोध बालकालीन सात्विक तथा सादगीका चिन्ह, विष्णु सुखशयल, राजसी पहिरन तथा ठाँटबाँट र यौवनकालीन धनसम्पतिको पूर्णताको चिन्ह, त्यागी, कुनै वस्तु र धनदौलतप्रति मोह राग नभएका, हामी संकटमा छौँ प्रभू, त्राही त्राही माम्को शरण माग्नेहरुलाई विषपान गरी निलकण्ठ बनी संसारको रक्षा गर्ने आशुतोष शिवशङ्कर र विश्वकल्याणका लागि सबै मद, मोह, अहंकार, दम्भ जस्ता घमण्डलाई चकनाचुर पारेर समाजमा सत्य, निष्ठा र आचरणको व्यवस्था कायम गर्ने महासती, पार्वती र विनाशकालीन अवस्थाकी महाकालीको उग्ररुपको व्यवहारिक शिक्षा हाम्रा सिकाइका स्रोेत हुन् । एउटै जीवनमा ब्रह्मा, विष्णु र शिव स्वरुपमा भोगिने त्रिरुपका यात्रा हामी सबै मानवका भोगाइका यथार्थता हुन्, यही शिक्षा महान ठानिन्थ्यो ।

प्राचीन मूल्यमान्यता तथा आस्थाका प्रश्नहरु

आजको युगमा पनि मन्त्र तथा तन्त्रशक्तिको अदृश्य, अगोचर, अमूर्त तथा भावनामा श्रद्धा राख्नेहरु धेरै पाइन्छन् । सर्वशक्तिमान ईश्वर, परमेश्वर, भगवानको मन्त्र तथा तन्त्रको शक्तिको माध्यमलाई प्रयोग गरेर जिविकोपार्जन गर्नेहरु धेरै छन् । मन्त्र, तन्त्र बलमा लाखौँ लाख श्रद्धालु तथा भक्तजन मानिसहरुलाई वशीभूत बनाएर ईश्वर सत्ताको व्यवसाय चलाउनेहरु पनि धेरै छन् । निरक्षर, अपठित तर वेदान्त दर्शन तथा मन्त्र, तन्त्रका अदुभूत सामथ्र्यका स्वामी कलकत्ता दक्षिणेश्वर कालीदेवीसंग साक्षात कुराकानी गर्दथे रे ?

अमेरिकाको सिकागोमा आयोजित विश्व धर्मसम्मेलनमा भर्खरका योगी, शिक्षा दीक्षामा निपूर्ण नभएका तर उनै गुरु रामकृष्णको संगतमा आएका नरेन्द्र ( पछि विवेकानन्द) ले रामकृष्णको मन्त्र तथा तन्त्रको आशिर्वादको कृपामा अमेरिकामा सम्मेलनमा भाग लिएर अदभूत सम्बोधन गरे ।

विवेकानन्दले सम्बोधनमा पश्चिमा जगतका सामू पूर्वीय दर्शन र धर्म के हो ? अंग्रेजी भाषामा छर्लङ्ग पारिदिए । उनी न त जाति मान्थे , नत कुनै किसिमको विभेद । त्यही परम्पराको निकटमा योगानन्दहरु आए, विश्वविख्यात भए, योगीको आत्मवृतान्तबाट संसारमा पूर्वीय सभ्यता फैलाए । आचार्य रजनिश पछि ओशोको पूर्वीय ज्ञान र दर्शनको अपूर्व विकास र फैलावट फरक महत्वको रह्यो ।

एकातिर कठोर जातपात र धर्मको आडमा कुनै परिश्रम नगरी धार्मिक तथा सांस्कृतिक मान, शानको जीवन बिताउँदै अकुत सम्पत्ति आर्जन गरिरहेका पनि पाइन्छन् । अर्कोतिर सर्वशक्तिमान ईश्वर, परमेश्वर, भगवानको स्तुति गायन मन्त्र तथा तन्त्र तथा यन्त्रको बलमा गर्न सकिन्छ र जातीय पक्षको कुनै महत्व छैन भन्नेहरु हिन्दू अनुयायीहरु धेरै छन् ।

अदृश्य शक्तिको चमत्कारी घटनालाई धर्म तथा आस्थागत रुपमा स्वीकारिए पनि कुनै कानूनी र वैज्ञानिक मान्यता दिन र हुन सक्दैन भन्ने राज्यका मान्यता हुन्छन्, जसलाई धर्म सापेक्ष राज्य र निरपेक्ष राज्यको दृष्टिकोणले विश्लेषण गर्न सकिन्छ । आजको समयमा मन्त्र तथा तन्त्रशक्तिका सिद्ध कथाहरु सबै उडन्ते हुन्, सत्य होइनन् भनी विरोध गर्नेहरु पनि समाजमा प्रशस्त पाइन्छन् । यी उडन्ते शक्तिको पछाडि लाग्ने वा मान्नेहरु चाहिँ मानसिक समस्याग्रस्त हुन् भन्नेहरुको संख्या पनि हाम्रो समाजमा कमी छैनन् र जहाँ गयो त्यही प्रशस्त पाइन्छन् । तर सत्य फरक छ, धर्म कर्मप्रति आस्थाशील जमात ठूलो छ ।

मन्त्र, तन्त्र तथा यन्त्रमा विश्वास, प्राथमिकता परिवर्तनका चरणहरु

हाम्रा सिद्ध माहात्मा, ऋषि, महर्षिहरु चाहिँ मन्त्र, तन्त्र र यन्त्र तीन शक्तिको एक आपसमा समन्वय, सहकार्य तथा सह अस्तित्वको कुरा स्वीकार्दथे । भोजपुरका षडानन्द अधिकारी, योगी नरहरिनाथ, खप्तडका स्वामी, शिवपुरी बाबा जस्ता सिद्ध पुरुषहरु अरुका लागि महिनौँ दिन लाग्ने ठाउँको यात्रा आया गयाको रुपमा सम्पन्न गर्दथे र भनिन्छ महिनौँ अन्न, जल र फलफूल विना ध्यान र तपस्यामा लिप्त हुन्थे । तर पछिल्लो पुस्तामा मन्त्र, तन्त्रको प्रयोग र विश्वासमा मानिसहरुको लगाव घट्दै गयो ।

मन्त्र र तन्त्रका पक्षधर एक थरी, यन्त्रका पक्षधर अर्का थरी जमातको विकास बन्दै जानाले हाम्रो पूर्वीय ज्ञान विज्ञानको क्षेत्रमा धेरै समस्या सिर्जना भएको देखिन्छ । मन्त्र, तन्त्र तथा यन्त्रको शक्तिलाई स्वीकार्न आनाकानी गर्ने विद्यमान नयाँ पुस्ताको व्यवहार कुशलता विश्लेषण गर्दैँ, हेर्दा शिव जस्ता त्यागी प्राकृतिकस्वरुप र साधुसन्त, योगीलाई सुनको जलहरी (पशुपतिनाथ नेपाल) मा चढाउने, भक्तिभावको प्रचारप्रसार गर्ने संंस्कृतिलाई धर्म तथा आध्यात्मिकताको नाम दिन थालिएको छ ।

स्वकीय स्वाभीमानबाट गुण चरित्रका आधारमा विचलित हुनुका चरणहरु

यान्त्रिक दुनियालाई एकछिन मनन गरौँ, हेरौँ । मन्त्र र तन्त्रको दुनियाँबाट विश्व यन्त्रहरुको दास हुँदै गएको छ । यसैले हाम्रो समाज, घर परिवार, आफू स्वयम्लाई समेत आत्मसमीक्षा गरौँ, विकसित देशमा मान्छेका सट्टा (मानव यन्त्र) मसिनको चकचकी सुनिरहेकै, देखिरहेकै छौँ । सामथ्र्य भएसम्म हामीले पनि दैनिक प्रयोगमा ल्याएकै छौँ । फरक यत्ति हो, हाम्रा सिद्ध ज्ञानी विज्ञानीहरु मन्त्र, तन्त्र र यन्त्र सबै शक्तिको प्रयोगमा दक्षता राख्थे, हामी चाहिँ ज्ञान विज्ञान मन्त्र, तन्त्र विनाको यन्त्रको प्रयोगकर्ता दासझैँ वशीभूत भएका छौँ । प्राचीन ज्ञान विज्ञान र हाम्रा पूर्खाहरुको सिद्धताप्रति यथोचित प्राज्ञिकताको अभावमा अविश्वासका पोकाहरु नयाँ पुस्तामा सारेर आफ्नै सत्यानाश गरिरहेका छौँ ।

सत्व, रज, तम, ब्रह्मा, विष्णु तथा महेश्वरझैँ मन्त्र, तन्त्र र यन्त्रको क्रमबद्धता रह्यो । तन्त्र, यन्त्र र मन्त्र वा यन्त्र, मन्त्र र तन्त्रको श्रृङ्खला रचिएन, क्रमबद्धतामा भनिएन । मन्त्र कालीन जीवन सात्विक, सबैप्रति सद्भाव, सहकार्य र परोपकारी हुन्थ्यो । तन्त्रकालीन जीवन तन्त्र शक्तिमा विश्वास गर्दथ्यो र सत्ता, शक्ति र राजसी ठाँटबाँटको प्राप्तिका लागि देव र दैत्य सबै शक्तिलाई खुुशी पार्न बली प्रथामा रमाउँथ्यो । यन्त्र कालीन समाज मन्त्र, तन्त्रप्रति झुकाव राख्दैन र यन्त्र, भौतिक सेवासुविधाप्रति बढी आकर्षित हुन्छ । उसका लागि सबै भोग विलास, सुखशान्तिको आधार धनसम्पत्ति हुन थाल्यो ।

मन्त्रकालमा यन्त्र पुष्पक विमानहरुको संख्या कम थियो, अहिले यन्त्र कालमा विमान नै विमान छन् तर मन्त्रको गान गर्नेहरुको संख्या न्यून छन् । तर मन्त्र, तन्त्र र यन्त्र चाहिँ शास्वत सत्य हुन् जस्तै सत्व, रज तथा तमोगुणका मानिस भएझैँ । हरेक मानिसमा गुणको मात्रा मात्र फरक फरक हुन्छन् समूल नष्ट चाहिँ हुँदैनन् । सत्व गुणीले अर्काको बेहित गर्दैन तर सत्वगुणीमा पनि रजोेभाव बढ्दा अह्म, दम्भ र मै हुँको घमण्डले स्थान बनाउँछ र सिद्ध भनिएको ऋषि महर्षिसमेत आवेगमा श्राप दिन्थे, उत्तेजनामा वरदान दिन्थे र संकटमा पर्दथे । रजोगुणीको स्वभावमा तमो गुण मात्राको प्राधान्यता हुँदा पागलपन, बहुलठ्ठीपन, सनकी प्रवृत्ति बढ्दै जान्छ र सत्यानाश गर्दछ ।

राजनीति, प्रशासन, प्राज्ञिकता सबै क्षेत्रमा जुन जुन गुणको बढ्ता प्राध्यान्यता हुन्छ त्यही किसिमको फल र नतिजा हासिल हुन्छ । आज पश्चिमाहरु पूर्वीय वैदिक धर्म, संस्कृति र ज्ञान विज्ञानको खोजीमा छन्, वेदका मन्त्र पढिरहेछन् तर पूर्वीय संस्कृति र सभ्यताका सन्तान नेपालीहरु चाहिँ आफ्नो गौरवमय इतिहास र स्वाभीमानीपन बिर्सिएर यान्त्रिकताको पछि दौडिरहेका छन् । यो पूर्वीय ज्ञान विज्ञान र आत्मचेतना तथा पूर्खाप्रतिको अनादर हुन्छ भन्ने व्यवहारिक शिक्षा व्यवस्थापन आजको मुख्य चुनौती बनेको छ ।

लेखकः ईश्वरीप्रसाद पोखरेल, उपसचिव,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडाैं ।