लगातारको गिरावटपछि सुनको भाउ बढ्यो, चाँदीको घट्याे

-



     सफल आवाज    
     भाद्र १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ भदौ । नेपालीका हरेक महिना कुनै न कुनै चाडपर्व परिरहेका हुन्छन् । चाडको बेलामा चाहेको सुकिलो पहिरण तथा गरगहना लगाउने चलन चल्दै आएको छ । अन्य समयको तुलनामा चाडपर्वको सिजन भनेको गरगहना किनमेलको सिजन पनि हो ।

किनमेलको सिजनमा अपेक्षा गरेअनुसार व्यावसायीक सफलता भने कोरोना कालभन्दा अगाडीको जस्तो नभएको व्यवसायी बताउँछन् । नेपाली चेलीहरुको महानपर्व तीजको अवसरमा धेरै गरगहनाको कारोबार गर्ने चलन उहिलेको जस्तो स्वास्थ्य विपदका कारण कमि आएको स्वर्णकार कल्याण समितिका पदाधिकारीले बताएका छन् ।

साताको सुनको कारोबार हुने अन्तिम दिन शुक्रबार छापावाला सुनमा सामान्य बृद्धि भएको छ । चाँदीको घटेको छ । छापावाला सुनमा रुपैयाँ १०० ले बढेको छ भने चाँदीमा १० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बढेर प्रतितोला ९० हजार ९०० रुपैयामा कारोबार भएको छ । यसअघि बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँमा कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले घटेर प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।