‘विद्युतीय सवारी साधनको महत्व बढिरहेको छ’

-



     सफल आवाज    
     भाद्र २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ भदौ । सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, वातावरणका क्षेत्रमा कार्यरतलगायतले नेपालमा विद्युतीय सवारी साधनको महत्व बढ्दै गएको बताएका छन् ।

नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा उनीहरुले नेपालमा विद्युत् उत्पादन बढिरहेकाले र वायु प्रदूषण बढेर त्यो कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन । वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले कोरोनाका कारणले भन्दा पनि वायु प्रदूषणका कारणले लाग्ने रोगले मृत्यु बढिरहेको बताए । उनले भने, “वातावरण प्रदूषण कम गर्दै जान विद्युतीय सवारी साधनको प्रयोग बढाउँदै जानुपर्छ ।”

साझा यातायात प्रालिका सञ्चालक समिति सदस्य भूषण तुलाधरले साझाको र सुन्दर यातायातबीच प्रतिस्पर्धा नहुने बताए । उनका अनुसार यी दुवै संस्थाले निजी सवारी साधनसँग प्रतिस्पर्धा छ । उनले भने, “निजी सवारी साधनको प्रयोग कम गराएर सार्वजनिकको बढाउनु हाम्रो लक्ष्य हो ।” सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले कम्पनीले छिट्टै नै थप २० बस भित्र्याउने जानकारी दिए ।

आफूले धेरै सङ्घर्ष गरेर मात्रै बस सञ्चालनका लागि स्वीकृति पाएको उनले बताए । बस सञ्चालन भएको दुई वर्षमा नाफा हुन नसके पनि आफूहरु आशावादी रहेको उनले सुनाए । उनले भने, “दुई वर्षमा झण्डै डेढ वर्ष कोभिडकै कारण बस चलाउन सकिएन ।” सो कार्यक्रममा कम्पनीले यातायात क्षेत्रमा लेख्ने पाँच पत्रकारलाई सम्मान गरेको छ ।