उही जोश र जाँगरका साथ नि:स्वार्थ समाजसेवामा सक्रिय महेन्द्र सर

-


     दिनेश अधिकारी    
     भाद्र २६ गते २०७८ मा प्रकाशित


एल्बमबाट/ तस्वीर-छत्तीस : हरिवन नगरपालिका वडा नम्बर १० सुखेपोखरी, सर्लाही स्थित चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालय अहिले आफ्नो स्थापनाको स्वर्ण-बर्ष मनाइरहेको छ। सर्लाही जिल्लाको उत्तरी भेगकै पहिलो माध्यमिक विद्यालय हुनुको गौरव त योसंग छँदैछ। यसबाहेक यो यस जिल्लाको आठौं नम्बरको पुरानो माध्यमिक विद्यालय पनि हो। मैले यही माध्यमिक विद्यलयबाट २०३२ सालमा प्रवेशिका परीक्षा( एस.एल.सी.) उतृर्ण गरेको हुँ। पूर्व- पश्चिम महेन्द्र राजमार्गको छेउमा रहेको यो स्कुलमा हामी पढ्दै गर्दा, यातायात सहजताको कारण, पश्चिमीमा चन्द्रनिगाहपुर (रौतहट जिल्लामा पर्ने यो नगरलाई अचेल चपुर भनिंदोरहेछ) मात्र होइन बारा जिल्लाको निजगढ र पूर्वमा लालबन्दी , रानीगञ्ज र बाँकेेदेखिका साथीहरु पनि यहाँ पढ्न आउनु हुन्थ्यो।

मलाई जानकारी भएसम्म यो विद्यालय स्थापना र सञ्चालनका लागि स्थानीय बासीहरुको धन र श्रम जती खर्च भएको छ, त्यो भन्दा ठूलो संघर्ष विद्यालय सञ्चालनको स्वीकृति पाउनका लागि त्यसबेलाका हरिवनका अगुवाहरुले गर्नु भएको छ। यो सन्दर्भमा, धेरैजनाको नाम गन्न सकिन्छ तापनि बबरजङ्ग थापा, नैनबहादुर के.सी., बमबहादुर राजभण्डारी, बुध्दिप्रसाद दहाल, मङ्गलकृष्ण अमात्य, पुन्यप्रसाद भट्टराई ,तिलकराम पोख्रेल, छत्रबहादुर कार्की, बैद्यनाथ लाल दास, मोहनबहादुर कार्की, रुद्रबहादुर थपलिया, नन्दीकेशर उप्रेती, रामकृष्ण श्रेष्ठ (डाक्टर साहवको रुपमा पनि परिचित), कुलप्रसाद भट्टराई, भीमप्रसाद भट्टराई, गोवर्धन राजभण्डारी, तत्कालीन प्रधानपञ्चहरु क्रमश: नारायणप्रसाद घिमिरे, पूर्णबहादुर स्यान्ताङ र चुडाबहादुर थापासमेतको नाम र अनुहार अहिले मेरो आँखामा नाचीरहेछ।

अगुवा र स्थानीय बासिन्दाले जस्तै चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालयको स्थापना र सञ्चालनमा शिक्षकहरुको पनि उत्तिकै महत्त्वपूर्ण संघर्ष र त्याग रहेको छ। शिक्षासेवी एवम् पूर्व मन्त्री रामहरि जोशीको सल्लाह र परामर्शमा त्यसबेलाका हरिवनका अगुवाहरुले हाईस्कुल सञ्चालन गर्ने भन्ने अठोट गरेको पृष्ठभूमिमा सून्यबाट ब्यवस्थापनको काम गर्नु पर्ने परिस्थितिका बीच महेन्द्रप्रसाद (बि एस्सी/ बि एड) ले यस विद्यालयको संस्थापक प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भयो। संगसंगै भैरवबिक्रम थापा, वैद्यनाथ पासवान, चक्रबहादुर थापा, मेघराज कोईराला, उमानाथ अधिकारी शास्त्री,सुश्री कृष्णा घिमिरे, नारायण राजभण्डारी, वासुदेव निरौला र यज्ञबहादुर कार्की शिक्षकको पदमा नियुक्त हुनु भयो। यो नै चतुर्भुजेश्वर जनता मा. वि. को “पहिलो शिक्षक परिवार” थियो।

२०२७ साल पौष ९ गते विद्यालयमा माध्यमिक तहको पढाइ प्रारम्भ भयो भने २०२९ सालमा यस विद्यालयबाट पहिलोपटक ५ जना विद्यार्थीहरु एस.एल.सी. को परिक्षामा समेल भए । ५ मध्ये ३ जनाले परीक्षा उतृर्ण गरे।महेन्द्रप्रसादले २०३१ साल पुष ९ गतेसम्म यस विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भयो। नयाँ शिक्षा योजना लागु भएपछि उहाँको सरुवा श्रीमती कृष्णादेवी मा. वि. मलङ्गवामा भयो। प्रथम श्रेणीको (सह सचिव सरहको) शिक्षकबाट २०६३ साल साउन १ गते सेवा निवृत्त हुनुभएका महेन्द्रप्रसाद अहिले ७६ बर्षको उमेरमा पनि उही जोश- जाँगरका साथ नि:स्वार्थ भावले समाजसेवाको काममा सकृय हुनुहुन्छ तापनि शिक्षाको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सबैभन्दा स्तुत्य र उदाहरणीय छ।

माध्यमिक तहको पढाइ सकेर उच्च अध्ययनका लागि काठमाडौं आएपछि पातलिदैं गएको महेन्द्र सरसंगको मेरो भेटघाट जागीर खान थालेपछि झनै पातलो हुुँदै गयो। फेरि पनि सर्लाही पुगेको बेला सकेसम्म मलंगवा पुग्थें र सरलाई उहाँको घरमै भेट्थें। सरलाई भेट्दा हुने सुखद अनुभूतिले आल्हादित हुन्थें।गएको बर्ष चतुर्भुजेश्वर जनता मा. वि. ले आफ्नो स्वर्ण जयन्ती मनाउने प्रसंग चल्दा नै कार्यक्रममा जाने र स्थानीय अग्रज र गुरुवरहरुलाई एकैसाथ भेट्ने सोच मेरो मनमा नआएको होइन। यस अवसरमा महेन्द्र सरको अभिनन्दन गर्ने कार्यक्रम हुनु स्वाभाविकै थियो। भएछ पनि। त्यसै समारोहमा तीनजना पूर्व विद्यार्थीलाई पनि सम्मान गर्ने कार्यक्रम राखिएको रहेछ र ती विद्यार्थीहरु मध्ये म पनि एकजना रहेछु। तर कार्यक्रमको जानकारी नपाएको कारण कार्यक्रममा म सहभागी हुन सकिन।

एकै थलोमा महेन्द्र सरसहितका गुरुहरुलाई भेट्ने त्यो अवसर गुम्यो। फोनमा सरसंग सम्पर्क भइरहन्थ्यो। यस्तैमा महेन्द्र सर काठमाडौं आउनुभएको थाहा पाएपछि फोन-सम्पर्क गरें र भेट्नका लागि समय मागें। उहाँ आफ्ना छोरा- बुहारीका साथ हाँडीगाउँ स्थित गहना खोज्ने पोखरी नजिकैको डेरा-कोठामा बस्नुहुँदोरहेछ। म गएँ । कोरोना संक्रमणका कारण खुला ठाउँमै बस्ने सल्लाह साँधेपछि गहना खोज्ने पोखरीकै पुर्वपट्टी रहेको पिपलको चौतारीमा बसेर १६ साउन, २०७८ का दिन करिव डेढ घण्टा हामीले अनुभवका विविध पाटामा कुराकानी गर्‍यौं । पुराना दिनहरु सम्झियौं।

कुराकानीको क्रममा सरले पहिलोपटक एस.एल सी.को परिक्षामा आफ्ना विद्यार्थीलाई सामेल गराउने क्रममा पाएको हण्डर, स्कुल सञ्चालनका शुरुका दिनहरुमा शिक्षकलाई दिन तलव नहुने र महिनैपिच्छे घरघरमा गै चन्दा उठाउनु पर्ने परिस्थितिका बीच आफुले २०२९ सालको तिहारमा देउसी खेलेर अर्थ संकलन गर्ने सोच बनाएको र देउसी भट्याउने समेत त्यस कार्यक्रमको अगुवाई नेपाली विषयका शिक्षक श्री उमानाथ अधिकारी – शास्त्री ( उहाँलाई हामी २०३५ सालमा साझा प्रकाशनद्वारा प्रकाशित ऐतिहासिक महाकाव्य ” मकवानी-बाला” का सर्जक पं.उमानथ शास्त्री सिन्धुलीयको रुपमा चिन्न सक्छौ। बहुचर्चित कवि प्रोल्लास सिन्धुलीयका पिताको हैसियतमा पनि अहिलेको साहित्यिक पुस्ताले उहाँलाई पहिल्याउन सक्छ।) ले गर्नु भएको र त्यसबर्षको देउसीबाट दश बिघाभन्दा बढी जग्गा र १५ हजारको हाराहारीमा नगद संकलन भएपछि महिनैपिच्छे तलवका लागि चन्दा उठाउन हिंड्नु पर्ने समस्या एक किसिमले समाधान भएको स्मरण गर्दै मुक्त कण्ठले उमानाथ शास्त्रीको प्रशंसा पनि गर्नुभयो।

मेरा अत्यन्तै आदरणीय गुरु महेन्द्रप्रसाद संगको पहिलो र दोस्रो तस्वीर १६ साउन, २०७८ का दिन काठमाडौंमा खिचिएका हुन भने तेस्रो चाँही २०७७ साल चैत ८ गते आफुले अध्ययन गरेको हरिवन, सर्लाही स्थित चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालय पुग्दा भेटिनु भएका शिक्षक-शिक्षिकासंग विद्यालय भवन अगाडि खिचिएको तस्वीर हो। दोहोर्‍याउनु परोइन- यस विद्यालयका संस्थापक प्रधान-अध्यापक महेन्द्रप्रसाद सर हुनुहुन्थ्यो ।