प्रभू लिटल च्याम्प्स योजना सञ्चालन

-



     सफल आवाज    
     भाद्र २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ भदौ । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले आफ्नो प्रडक्ट तथा सेवाहरुलाई निरन्तर ग्राहकको अपेक्षा अनुरुप विस्तार गर्दै लैजाने क्रममा बाल दिवस अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ ।

प्रभु क्यापिटलले स–साना नानीबाबुलाई लक्षित गरेर उनीहरुको लागि प्रभू लिटल च्याम्पस पिएमएस योजनाको शुरुवात गरेको हो । यो योजना अन्तरगत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोराछोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ ।

यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने जनाइएको छ ।

प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई लक्षित गर्दै यो लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा सहयोगी बन्न सक्नुहुने जनाइएको छ ।

‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित सञ्चालन गरिने यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्नेछ प्रभू क्यापिटलले जनायो ।

यो योजनाका विशेषतामा न्यूनतम लगानी अवधि ५ वर्षसम्म, हर्डल रेट ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) २ प्रतिशत, मुनाफामा लाग्ने शुल्क २० प्रतिशत, लक इन अवधि ५ वर्ष रहेको छ ।

साथै, लक इन अवधि अगावै योजना बन्द शुल्क ३ प्रतिशत, नाफा वितरण न्यूनतम लगानी अवधि पश्चात रहेको छ भने गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गर्नेछ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन सकिने छ । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ ।

कम्पनीका विभिन्न सेवा तथा प्रडक्टमध्ये एक प्रमुख सेवा लगानी व्यवस्थापन सेवा हो । यस अन्तर्गत हाल महिला लगानीकर्तालाई मात्रै लक्षित गरेर यसपालिको तीजको अवसरमा प्रभु ऐश्वर्य पिएमएस योजनाको शुरुवात गरिएको थियो । सबै प्रकारका लगानीकर्ताको लागि प्रभु स्मार्ट पिएमस योजना सञ्चालनमा समेत छ ।