४०.२६ अंकले घट्यो नेप्से, ब्याज बढ्ने हल्लाले शेयर बजार प्रभावित

-



     आरजू विष्ट सल्यानी    
     भाद्र ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० भदौ । शेयर बजार लगातार ओरालो लागेको छ । साताको कारोबार हुने चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । कारोबार रकम १६ कराेडले बढोत्तरी भएपनि ५ अर्बमाथि पुग्न सकेन । यसदिनको बजार बन्द हुँदाको नेप्से परिदृश्यले लगानीकर्ताहरुको मन बिथोलिएको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको १२ करोडको शेयर कर्जा सीमापछि सन्तुलन गुमाएको शेयर बजारले अझैं लय लिन सकेको छैन भने बजार खस्किएको छ । अर्काेतिर बैंक बित्तीय संस्थामा ब्याज बढ्ने बजारमा हल्ला चलाईएकोले पनि शेयर बजार प्रभावित भएको हुन सक्ने बताउन थालिएको छ ।

नेप्से परिसूचक ४०.२६ अंकले घटेको छ । यसरी घटेको नेप्से २८८९.०३ विन्दुमा झरेको छ । नेप्सेमा १.३७ प्रतिशतले गिरावट आउँदा सेन्सेटिभ इण्डेक्स ७.१६ अंकले घटेर ५३८.५० विन्दुमा रहेको छ ।

कुल २२२ कम्पनीकाे शेयर कारोबार भएको छ । १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँ बराबरको कारोबार भएको छ । काराेबार रकम अघिल्लो दिनको तुलनामा १६ कराेड बढी भएपनि उमंग जगाउने खालको भने होईन ।

१३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहर सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आज पनि अरुण भ्याली हाइड्रोपावर कम्पनीको २२ करोड १४ लाख ७० हजार ७५६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।