पोखरा बचत सहकारीको साधारणसभा र अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः गोदार

-



     सफल आवाज    
     असाेज ३ गते २०७८ मा प्रकाशित



पोखरा, ३ असाेज । पोखरा–९,  नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न  भएको छ । संस्थाका अध्यक्ष ईन्जिनियर सुरेन्द्रबहादुर गोदारको सभापतित्वमा शनिबार सम्पन्न उक्त साधारणसभाले संस्थाका अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिद्वारा प्रस्तुत विभिन्न वार्षिक प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

सभाले सञ्चालक समितिबाट निणयार्थ प्रस्तुत संस्थाको सांगठनिक नीति–२०७८,  आर्थिक नीति–२०७८,  बचत नीति–२०७८,  ऋण नीति–२०७८ र मानव संसाधन नियमावली–२०७८ पनि अनुमोदन गरेको संस्थाका सचिव एवम् कार्यक्रम सञ्चालक ईन्द्रप्रसाद द्वाले जानकारी दिएका छन् ।

संस्थाको नवौं अधिवेशनबाट अगामी चार वर्षे कार्यकालका लागि ईन्जिनियर सुरेन्द्रबहादुर गोदारको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ । गोदार  यसअघि पनि संस्थाको अध्यक्ष रहेका थिए । नवगठित सञ्चालक समितिको सदस्यहरुमा शम्भुराज बास्तोला,  हिरामणि दाहाल, दिलबहादुर के.सी. (गोपाल),  प्रेमलाल श्रेष्ठ,  जगन्नाथ आचार्य,  दिपक गुरुङ्ग,  दोर्जे तामाङ्ग र बीरबहादुर थापा क्षेत्री निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता रघुनाथ अधिकारीले जनाएका छन् ।

यसै गरी सोही अधिवेशनबाट राजेन्द्रप्रसाद पौडेलको संयोजकत्वमा प्रदिपकुमार श्रेष्ठ र लक्ष्मी गुरुङ्ग लेखा सुपरवेक्षण समितिको सदस्यमा र्निविरोध निर्वाचित भएका छन् ।

मिति २०७८ भाद्र ५ गते बसेको संस्थाको सञ्चालक समितिको २९९औं वैठकले संस्थाको नवौं अधिवेशनबाट नयाँ सञ्चालक समिति र लेखा सुपरवेक्षण समितिको निर्वाचन प्रयोजनार्थ संस्थाका सल्लाहकार अधिवक्ता रघुनाथ अधिकारीको संयोजकत्वमा सल्लाहकारहरु आशबहादुर गुरुङ्ग र फणिन्द्रराज शर्मा सम्मिलित ३ सदस्यीय निर्वाचन कमिटि गठन गरेको थियो ।

कार्यक्रममा अघिल्लो कार्यकालमा संस्थाको सञ्चालक समिति,  लेखा समिति र विभिन्न उपसमितिको विभिन्न पदमा रही योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

बि.सं. २०५९ साल बैसाख १२ गते स्थापित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल चार हजार ७२ शेयरसदस्य रहेका छन् । कुल नौ करोड ४२ लाख ६२ हजार शेयरपूँजि रहेको उक्त सहकारीले आ.व. २०७७/०७८ मा दुई करोड २९ लाख ६३ हजार खूद मुनाफा आर्जन गर्न सफल भएको संस्थाका कोषाध्यक्ष हिरामणि दाहालले जनाएका छन् ।

पोखरा–९, नयाँबजार स्थित आफ्नै भवनमा प्रधान कार्यालय रहेको पोखरा बचत सहकारीले पोखरा–८, सिर्जनाचोकमा रहेको सेवाकेन्द्रबाट आफ्ना शेयरसदस्यहरुलाई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेकोमा निकट भविष्यमै पोखरा–१०, अमरसिंहचोकमा पनि अर्को सदस्य सेवाकेन्द्र विस्तार गर्न गइरहेको संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर गोदारले बताएका छन् । कास्की जिल्ला भरि कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थामा हाल १६ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।