राेकिएन शेयर बजारकाे पहिराे, कहिले थामिएला ?

-



     आरजू विष्ट सल्यानी    
     असाेज १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ असोज । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि शेयर बजार राताम्मै भएको छ । घटेका सूचकांकहरुसंगै खुम्चिएको कारोबार रकमको गाँठो पनि फुक्नसकेको छैन ।

निरन्तर शेयर बजारमा पहिराे जान थालेपछि लगानीकर्ताहरूमा छटपटि र नैरास्यता छाएकाे छ । के शेयर बजार कुनैबेला २१ अर्बकाे काराेबार भएकाे स्थितिमा पुग्दैन त ? पुनः हिरयाली माैसम छाउँदैन त ? यस्ता प्रश्नकाे उत्तर खाेजिरहेकाे अवश्था छ ।

विषेश गरी नेपाल राष्ट्र बैंकले लागू गरेको १२ करोडको शेयर कर्जाको सिमा, असोजदेखि बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजको कारण लगानीकर्ताहरु यसै ढुक्क हुने स्थितिमा रहैका छैनन् । उनीहरु आन्दोलित छन् भने यतिबेला चाडपर्वहरु लगातार आउने क्रममा रहेकोले लगानीकर्ताहरुले रकमको जोहो गर्न शेयर बिक्रीलाई बढाएका छन् । यी सबैको असर शेयर बजारमा परेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ७०.०७ अंकले घटेर २६१५.३४ विन्दुमा झरेको छ । नेप्से २.६१ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ११.४२ अंकले घटेर ४९४.९१ विन्दुमा पुगेको छ ।

कुल २१८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहरु राताम्मै भएका छन् सबैको शेयर घटेको छ । बैंकिङतर्फ १.९ प्रतिशत, व्यापारतर्फ २.६३ प्रतिशत, होटल तथा पर्यटनतर्फ ०.७८ प्रतिशत, विकास बैंकतर्फ ३.१५ प्रतिशतले घटेको छ ।

यस्तै हाइड्रोपावरतर्फ ४.७४ प्रतिशत, फाइनान्सतर्फ ७.३७ प्रतिशतले घटेको छ । यो समूहको सभैभन्दा बढी घटेको देखिन्छ । नीर्जिवन बीमातर्फ २.७८ प्रतिशत, उत्पादनतर्फ १.४ प्रतिशत, अन्यतर्फ १.८४ प्रतिशत, माइक्रोफाइनान्सतर्फ २.२३ प्रतिशत, जीवन बीमातर्फ २.९ प्रतिशत, म्युचुअल फण्डतर्फ १.१६ प्रतिशत र लगानी उपसमूहतर्फ ३.९३ प्रतिशतले गिरावट भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैैंकको १८ करोड ८२ लाख २७ हजार २९६ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ । संयाेग पनि छ बैंककाे कि यहि बेलामा बैंकले ८.६७ प्रतिशत लाभांश घाेषणा गरेकाे छ ।