मध्य भोटेकोशीले ९० करोडको आइपीओ निकाष्शन गर्दै

-



     सफल आवाज    
     असाेज १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीले असोज २० गतेबाट सर्वसाधारण जनताका लागि ९० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीका अनुसार प्रतिकित्ता १०० दररमा ९० लाख कित्ता शेयर निष्काशन गर्न लागिएको हो । कुल शेयरबाट ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीका लागि रहेको छ । ४ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा लगानी गर्न चाहने लगानीकर्ताहरुले असोजको २५ गतेसम्म आवेदन दिन पाउने भएका छन् । सो मितिसम्म माग बमोजिमको आवेदन नपरेको खण्डमा कार्तिक ३ गतेसम्म आवेदन दिन पाईने भएको छ ।

शेयरमा लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । उनीहरुले सेबोनबाट अनुमति पाएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । सहनिष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।

यसअघि कम्पनीले वैशाख २१ गतेदेखि स्थानियका लागि ६० लाख कित्ता शेयर आइपीओ जारी गरेको थियो । आयोजना प्रभावित स्थानिय जनताको लागि पहिलो चरणमा कम्पनीले १०० मूल्य अंकित ६० लाख कित्ता साधारण शेयरमध्ये ३० प्रतिशतले हुने १८ लाख कित्ता भोटेकाशी गाउँपालिकाका वडा नं १ र ५, बाह्रबिसेका वडा नं ५, ६, ७ र ८ का जनताको लागि थियो । बाँकी रहेको ७० प्रतिशतले हुने ४२ लाख कित्ता शेयर सिन्धुपाल्चोकका आयोजना क्षेत्रबाहिरका जनताको लागि रहेको थियो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ५ मा १ करोड ५० लाख कित्ता शेयर निष्काशनको लागि स्वीकृति दिएको थियो ।