न्यादी हाइड्रोमा पर्यो मागभन्दा ८.२४ गुणा बढी आवेदन

-



     सफल आवाज    
     असाेज १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ असोज । न्यादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने मिति १ दिन बाँकी छदैं माग गरेभन्दा ८.२४ गुणा बढी आवेदन परेको छ । आज बिहानसम्म करिब १४ लाखको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार हालसम्म १३ लाख ७९ हजार आवेदनकर्ताले १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ताका लागि आवेदन दिएका छन् ।

पेश भएको आवेदनलाई हेर्दा कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको २० लाख ९२ हजार ५०० कित्ता शेयरको ८.२४ गुणा बढी हो ।
कम्पनीले असोज १५ गतेदेखि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको थियो । उक्त शेयरमध्ये ४५ हजार कित्ता कर्मचारीहरुका लागि रहेको छ । १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । त्यसबाट बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणका लागि रहेको छ ।

लगानीकर्ताले मंगलबार असोज १९ गतेसम्म मात्रै आवेदन दिन पाउने भएका छन् । मागभन्दा बढी आवेदन परिसकेकोले उक्त दिन आवेदन दिनका लागि अन्तिम दिने हुनेछ । यसका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा घटीमा १० कित्ता तथा बढीमा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ । स्थानिय वासिन्दाका लागि १५ करोड, संस्थापक शेयरधनीहरुका लागि ३ करोड र सर्वसाधारणका लागि २२ करोड ५० लाखको शेयर निष्काशनपछि चुक्ता पूँजी १ अर्ब ५० करोड पुग्ने भएको छ ।