बुद्धभूमिकाे आइपीओ शुक्रबारबाट बाँडफाँड गरिदैं, २० लाख बढी आवेदकले नपाउने

-



     सफल आवाज    
     असाेज २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर शुक्रबार बाँडफाँड गरिने भएको छ ।

कम्पनीका अनुसार सर्वसाधारणका लागि खुल्ला गरिएको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरको ८ लाख कित्ता शेयर निष्काशन गरिएको थियो ।

जम्मा शेयरबाट कर्मचारीका लागि १६ हजार कित्ता र सामूहिक लगानी कोषका लागि ४० हजार कित्ता छुट्याईएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

शेयर लगानीतर्काहरुले असोज १४ गतेसम्म आवेदन दिएका थिए । कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना लगानीकर्ताले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयरको लागि आवेदन दिएका छन् । जो सर्वसाधारणका लागि जारि गरिएको ७ लाख ४४ हजार कित्ता शेयरको ३५.६६ गुणा बढी हो ।

आइपीओमा मागभन्दा बढी आवेदन पेश भएकोले नियमानुसार कम्तिमा १० कित्ताको दरले शेयर बाँडफाँड हुने भएको छ । यसअनुसार योग्य मानिएका आवेदकबाट ७४ हजार ४०० जनाले १० कित्ता शेयर पाउने छन् । यसो भयो भने २० लाख ३७ हजार भन्दा बढी आवेदकले शेयर पाउने छैनन् । जो कुल आवेदकको ९६ प्रतिशत बढी हो । लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्ता शेयरका लागि आवेदन दिने सिमा तोकिएको थियो ।

शेयर नष्किाशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।