यी हुन् साधारण सभा आव्हान गरेका बैंकहरु, कस्को कहिले ?

-


     सफल आवाज    
     असाेज २६ गते २०७८ मा प्रकाशित


काठमाडौं, २६ असोज । बैंकहरुले धमाधम साधारण सभा आव्हान गर्न लागेका छन् । यहि क्रममा कुमारी बैंकले कार्तिक १६ गते नक्सालस्थित बैंकको कार्यालयमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा पूर्वान्ह ११.३० मा अनलाइनमार्फत बोलाईएको छ ।

बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर तथा करको प्रयोजनार्थ २.६७ प्रतिशत नगद लाभांससहित ८.६७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेकाे छ । साे प्रस्तावमाथि साधारण सभामा छलफलपछि पारित गरिनेछ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेशनलको साधारण सभा कार्तिक १६ गते बोलाईएको छ । बैंकको साधारण सभा अनलाइनमार्फत दरबार मार्गस्थित केन्द्रीय कार्यालयमा अपरान्ह ४ वजे बोलाईएको छ ।

बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ । १२.९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकको साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि असोज २२ गते बुक गरिएको छ । असोजको २० गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् ।

कामना सेवा बैंक

कामना सेवा बैंकले १५ औं साधारण सभा कार्तिक २३ गते बाेलाएकाे छ । असोज २५ गते बसेकाे बैंक संचालक समितिको बैठकले साधारण सभा कार्तिक २३ गते पार्क भिलेज रिसोर्ट, बुढानीलकन्ठ, काठमाडौंमा बिहान १० वजे गर्ने निर्णय गरेको हो ।

संचालक समितिको बैठककाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १९.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरीएको छ । सभामा चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगदसहित १९.४७ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई छलफलपछि पारित गरिने भएको छ ।

सभाबाट संस्थापक र सर्वसाधारण शेयरधनीहरुबाट ३/३ जनासहित ६ जना संचालक चयन गरिने भएको छ । बैंकले साधारण सभाका लागि कार्तिक १० गते बुक क्लाेज हुने बताएको छ । कार्तिक ९ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र लाभांशका लागि योग्य हुनेछन् ।

सांग्रिला बिकास बैंक

सांग्रिला बैंकले सबैभन्दा पहिला साधारण सभा डाकेको छ । बैंकले कार्तिक १६ गते काठमाडौं लैनचौरस्थिर लैनचौर ब्यांक्वेटमा १७ औं साधारण सभा आव्हान गरेको हो ।

साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि बैंकले कार्तिक ८ गते बुक क्लोज गर्ने भएको छ । कार्तिक ७ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नका लागि योग्य मानिने छन् ।

बैंकले ३ अर्बको अधिकृत पूँजीलाई बृद्धि गरेर ५ अर्ब कायम गर्नेछ । संचालक समितिले १० प्रतिशत बोनस वितरणकाे प्रस्ताव गरेको छ । शेयर बिक्री भएपछि चुक्तापूँजी ३ अर्ब १ करोडभन्दा बढी हुने भएकोले उक्त प्रस्तावमाथि छलफल गरी पारित गरिने भएको छ ।